शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

भेनेजुएलापछि अब ट्रम्पको निशानामा कुन देश ?

मङ्गलबार, २२ पुस २०८२, १२ : ००
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको विदेश नीतिको महत्वाकांक्षा देखाउँदै ग्रीनल्याण्ड, कोलम्बिया, इरान, मेक्सिको र क्युबाप्रति चासो देखाएका छन्।
  • ट्रम्पले ग्रीनल्याण्डमा सैन्य आधार शिविर र दुर्लभ खनिजको कारण चासो देखाएका छन् भने कोलम्बियालाई लागुऔषध नियन्त्रण गर्न चेतावनी दिएका छन्।
  • इरानलाई प्रदर्शनकारीमाथि कारबाही गरे कडा प्रहार गर्ने चेतावनी दिएका छन्, भने मेक्सिको र क्युबालाई लिएर पनि उनले टिप्पणी गरेका छन्।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल उनको विदेश नीतिसम्बन्धी महत्वाकांक्षाले आकार लिइरहेको छ। उनले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई काराकासस्थित कडा सुरक्षा घेराभित्रको आवासबाट रातारात नाटकीय ढंगले नियन्त्रणमा लिएर आफ्ना धम्कीहरू पूरा गरेका छन्।

यो अपरेसनको व्याख्या गर्दै ट्रम्पले पश्चिमी गोलार्धमा अमेरिकी सर्वोच्चताको प्रतिज्ञा गर्ने १८२३ को ‘मुनरो डक्ट्रिन’ लाई ब्युँताउँदै यसलाई ‘डोनरो डक्ट्रिन’ को नाम दिएका छन्। वासिङ्टनको प्रभाव क्षेत्रभित्र पर्ने अन्य राष्ट्रहरूबारे उनले हालै दिएका केही चेतावनीहरू यस प्रकार छन्:

  • ग्रीनल्याण्ड 

अमेरिकाको ग्रीनल्याण्डमा ‘पिटुफिक स्पेस बेस’ नामक सैन्य आधार शिविर पहिले नै छ, तर ट्रम्प पूरै टापु चाहन्छन्। उनले पत्रकारहरूसँग भने, ‘राष्ट्रिय सुरक्षाको दृष्टिकोणले हामीलाई ग्रीनल्याण्ड चाहिन्छ ।’ साथै त्यो क्षेत्र रुसी र चिनियाँ जहाजहरूले भरिएको दाबी गरे।

डेनमार्क अधिराज्यको हिस्सा रहेको यो विशाल आर्कटिक टापु अमेरिकाको उत्तर–पूर्वमा करिब ३,२०० किलोमिटर टाढा छ। यो स्मार्ट फोन, विद्युतीय सवारी साधन र सैन्य उपकरण उत्पादनका लागि अत्यावश्यक ‘रेयर अर्थ मिनरल्स’ मा धनी छ। हाल चीनको यस्तो खनिज उत्पादन अमेरिकाको भन्दा निकै धेरै छ।

afp_20251008_783h8xl_v1_highres_franceeugreenlandparliament

ग्रीनल्याण्ड उत्तरी एटलान्टिकको रणनीतिक स्थानमा छ, जसले आर्कटिक सर्कलमा पहुँच दिन्छ। आगामी वर्षहरूमा ध्रुवीय हिउँ पग्लिँदै जाँदा नयाँ जलमार्गहरू खुल्ने अपेक्षा गरिएको छ।

ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले ट्रम्पको भनाइलाई ‘काल्पनिक’ भन्दै अस्वीकार गरे। उनले भने, ‘अब कुनै दबाब, कुनै आक्षेप र गाभ्ने कुनै कल्पनाहरू स्वीकार्य छैन। हामी संवाद र छलफलका लागि तयार छौं, तर यो उचित माध्यमबाट र अन्तर्राष्ट्रिय कानुनको सम्मानसहित हुनुपर्छ।’

  • कोलम्बिया

भेनेजुएलाको अपरेसनको केही घण्टापछि नै ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई ‘होसियार रहन’ चेतावनी दिए। भेनेजुएलाको पश्चिमी छिमेकी कोलम्बियामा तेलको ठूलो भण्डार छ र यो सुन, चाँदी, पन्ना, प्लेटिनम र कोइलाको मुख्य उत्पादक हो। यो लागुऔषध व्यापार, विशेष गरी कोकिनको मुख्य केन्द्र पनि हो।

Colombia-president-says-US-strike-in-Venezuela-struck-cocaine-plant

अमेरिकाले सेप्टेम्बरदेखि क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा रहेका लागुऔषध बोकेको आरोप लगाउँदै डुङ्गाहरूमा आक्रमण सुरु गरेदेखि ट्रम्प र कोलम्बियाका वामपन्थी राष्ट्रपतिबीच विवाद चर्किएको छ। अमेरिकाले पेट्रोमाथि प्रतिबन्ध लगाउँदै उनले कार्टेलहरूलाई ‘फस्टाउन’ दिएको आरोप लगाएको छ।

आइतबार ‘एयर फोर्स वान’ मा बोल्दै ट्रम्पले कोलम्बिया ‘कोकिन बनाएर अमेरिकालाई बेच्न मन पराउने बिरामी मान्छे’ द्वारा चलाइएको आरोप लगाए। उनले भने, ‘उनी अब धेरै समय यो काम गर्न पाउने छैनन्।’ 

कोलम्बियामा पनि कारबाही हुन्छ कि भनी सोधिएको प्रश्नमा ट्रम्पले जवाफ दिए, ‘मलाई यो विचार राम्रो लाग्यो।’ ऐतिहासिक रूपमा कोलम्बिया लागुऔषध विरुद्धको युद्धमा अमेरिकाको नजिकको सहयोगी रहँदै आएको छ र कार्टेलहरू विरुद्ध लड्न वार्षिक करोडौँ डलर सैन्य सहायता प्राप्त गर्दछ।

  • इरान

इरान अहिले सरकार विरोधी व्यापक प्रदर्शनको सामना गरिरहेको छ। ट्रम्पले यदि थप प्रदर्शनकारीहरूको मृत्यु भएमा इरानी अधिकारीहरूलाई ‘कडा प्रहार’ गरिने चेतावनी दिएका छन्।

Khamenei_IB_0

एयर फोर्स वानमा पत्रकारहरूसँग उनले भने, ‘हामी यसलाई नजिकबाट नियालिरहेका छौं। यदि उनीहरूले विगतमा जस्तै मानिसहरूलाई मार्न थाले भने, मलाई लाग्छ अमेरिकाले उनीहरूमाथि कडा प्रहार गर्नेछ।’

इरान सैद्धान्तिक रूपमा ‘डोनरो डक्ट्रिन’ को दायरा बाहिर पर्छ, तर ट्रम्पले गत वर्ष यसका आणविक भट्टीहरूमा आक्रमण गरेपछि इरानी शासनलाई थप कारबाहीको धम्की दिँदै आएका छन्। ती आक्रमणहरू इजरायलले इरानको आणविक हतियार विकास गर्ने क्षमता नष्ट गर्न चलाएको ठूलो अपरेसनपछि भएका थिए, जुन १२ दिने इजरायल–इरान द्वन्द्वमा परिणत भएको थियो।

गत हप्ता मार–ए–लागोमा ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिचको भेटमा इरानको विषय प्राथमिकतामा रहेको बताइन्छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार नेतान्याहुले २०२६ मा इरानविरुद्ध नयाँ आक्रमणको सम्भावनाबारे पनि कुरा उठाएका थिए।

  • मेक्सिको

सन् २०१६ मा ट्रम्पको उदय मेक्सिको सीमामा ‘पर्खाल लगाउने’ नाराबाट भएको थियो। सन् २०२५ मा सत्तामा फर्किएको पहिलो दिन नै उनले मेक्सिकोको खाडीको नाम परिवर्तन गरी ‘अमेरिकाको खाडी’ राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे।

gettyimages-2182550723

उनले बारम्बार मेक्सिकन अधिकारीहरूले लागुऔषध वा अवैध आप्रवासीहरूलाई रोक्न पर्याप्त काम नगरेको दाबी गर्दै आएका छन्। आइतबार बोल्दै उनले मेक्सिकोबाट लागुऔषध ‘ओइरिरहेको’ र ‘हामीले केही गर्नुपर्ने’ बताए। उनले त्यहाँका कार्टेलहरू ‘धेरै बलियो’ रहेको टिप्पणी गरे। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबमले मेक्सिकोको भूमिमा कुनै पनि अमेरिकी सैन्य कारबाहीलाई सार्वजनिक रूपमा अस्वीकार गरेकी छन्।

  • क्युबा

फ्लोरिडाबाट ९० माइल (१४५ कि.मि.) दक्षिणमा रहेको यो टापु राष्ट्र सन् १९६० को दशकदेखि नै अमेरिकी प्रतिबन्धमा छ। यसको मादुरोको भेनेजुएलासँग घनिष्ठ सम्बन्ध थियो।

ट्रम्पले आइतबार त्यहाँ अमेरिकी सैन्य हस्तक्षेप आवश्यक नभएको संकेत गरे, किनभने क्युबा ‘पतनको संघारमा’ छ। उनले भने, ‘मलाई लाग्छ हामीले कुनै कारबाही गर्नुपर्दैन। यो आफैँ सकिँदैछ।’

thumbs_b_c_f88b96cb983a9a2430745a24b5aa985c

उनले थपे, ‘उनीहरू टिक्न सक्छन् कि सक्दैनन् मलाई थाहा छैन, तर क्युबासँग अब आम्दानी छैन। उनीहरूको सम्पूर्ण आम्दानी भेनेजुएला र त्यहाँको तेलबाट आउँथ्यो।’

भेनेजुएलाले क्युबाको करिब ३० प्रतिशत तेल आपूर्ति गर्ने गरेको बताइन्छ, जसले गर्दा मादुरो हटेपछि हवाना संकटमा परेको छ। क्युबाली आप्रवासीका छोरा अमेरिकी विदेशमन्त्री मार्को रुबियो लामो समयदेखि क्युबामा सत्ता परिवर्तनको पक्षमा छन्। उनले शनिबार पत्रकारहरूलाई भने, ‘यदि म हवानामा बस्थेँ र सरकारमा हुन्थेँ भने, म चिन्तित हुने थिएँ, कम्तीमा अलिअलि भए पनि। जब राष्ट्रपति बोल्छन्, तपाईंले उनलाई गम्भीरतापूर्वक लिनुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप