आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पठाओका सञ्चालक बस्नेत काठमाडौँ-१ बाट चुनाव लड्ने

आइतबार, २७ पुस २०८२, १४ : ४१
आइतबार, २७ पुस २०८२

सारांश

  • पठाओका सञ्चालक असिममान सिंह बस्नेतले आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरे।
  • उनले उद्यमशीलता र स्टार्टअपलाई समर्थन, सुशासन कायम, र युवा पुस्ताबीच सहकार्य गर्ने एजेन्डा अघि सारेका छन्।
  • बस्नेतले परिवर्तनको लागि सबैको साथ र सुझावको अपेक्षा राख्दै देश बदल्ने यात्रामा सहभागी हुन आग्रह गरे।

काठमाडौँ । राइड सेयरिङ एप पठाओका सञ्चालक असिममान सिंह बस्नेतले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने निर्णय सार्वजनिक गरेका हुन्।

बस्नेतले यो निर्णय लिनु आफ्नो लागि सहज नभएको बताएका छन्। एक उद्यमीका रूपमा नेपालमै बसेर संघर्ष गरेको र रोजगारी सिर्जना गरेको अनुभव सुनाउँदै उनले असफलता, दबाब र जिम्मेवारीलाई नजिकबाट देखेको उल्लेख गरे। त्यही अनुभवले व्यवस्था सहज नभए क्षमता भएर पनि भविष्य अनिश्चित हुने कुरा प्रस्ट पारेको उनको भनाइ छ। आफू राजनीति गर्न नभई जिम्मेवारी लिन आएको उनले दाबी गरे।

आफ्नो उम्मेदवारीसँगै उनले मुख्य तीनवटा एजेन्डा अघि सारेका छन्। जसमा उद्यमशीलता र स्टार्टअपलाई समर्थन गर्ने व्यवस्था मिलाउनु उनको पहिलो प्राथमिकता छ। युवा पुस्ताले नेपालमै सपना देखेर त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण बनाउने चाहना उनले व्यक्त गरे। 

यस्तै, काम गर्नेले जवाफ दिनुपर्ने र निर्णय गर्नेले जिम्मेवारी लिनुपर्ने परिपाटी बसाल्दै सुशासन कायम गर्ने उनको दोस्रो एजेन्डा छ। अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्य गराएर समाजलाई एकजुट बनाउने विषयलाई उनले तेस्रो एजेन्डाका रूपमा अघि सारेका छन्।

यो यात्रा एक्लै लड्न नसकिने भन्दै उनले सबैको साथ मागेका छन्। परिवर्तनको लडाइँमा सुझाव, आलोचना र सहभागिता आवश्यक रहेको उनले बताए। नेपालमै सम्भावना छ भन्ने विश्वासलाई व्यवहारमा उतार्न र काठमाडौँ-१ सँगै देश बदल्न यो यात्राको हिस्सा बन्न उनले सबैलाई आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप