बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पले गरे एक लाखभन्दा बढी भिसा खारेज

मङ्गलबार, २९ पुस २०८२, १४ : ४०
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १ लाखभन्दा बढी भिसा रद्द भएका छन्।
  • भिसा रद्द हुनुको मुख्य कारणमा समय सकिएपछि पनि बस्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, कुटपिट र चोरीमा संलग्नता रहेको छ।
  • ट्रम्प प्रशासनले गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूमाथि कडाइ गर्दै आएको छ।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरु गरेयता १ लाख भन्दा बढी भिसा खारेज भएको छ । 

ट्रम्प प्रशासनले अध्यागमनमा कडाइ गरिरहँदा धमाधम भिसा खारेज भइरहेको अमेरिकी विदेश मन्त्रालयले बताएको हो । मन्त्रालयले सोमबार सामाजिक सञ्जालमा गरेको पोस्टका अनुसार यसरी खारेज भएका भिसामा ८ हजार विद्यार्थी र २ हजार ५०० विशेष कामदारहरू छन् ।

आपराधिक गतिविधिका कारण अमेरिकी कानुनको घेरामा आउँदा अधिकांश भिसा रद्द भएको बताइएको छ । यिनीहरूमाथि कुनै अभियोग वा मुद्दा लगाइएको छ कि छैन भनेर पोस्टमा खुलाइएको छैन । भिसा रद्द हुनुको मुख्य चार कारण समय सकिएपछि पनि बस्ने प्रवृत्ति, मादक पदार्थ खाएर गाडी चलाउनु, कुटपिट र चोरीमा संलग्न रहनु भएको मन्त्रालयका उपप्रवक्ता टमी पिगोटले बताएका छन् । २०२४ को तुलनामा रद्द भिसाको सङ्ख्या १५० प्रतिशतले बढेको पनि उनले बताए ।

गएको वर्षको सुरुमा दोहोर्‍याएर ह्वाइट हाउसमा छिरेपछि ट्रम्पले गैरकानूनी रूपमा अमेरिकामा बसिरहेकाहरूमाथि कडाइ गरिरहेका छन् । स्वैच्छिक रूपमा अमेरिका छाडेर जाने वा जबरजस्ती पठाइएकाहरूको सङ्ख्या २५ लाख भन्दा धेरै भएको प्रशासनको दाबी छ । यो अहिलेसम्मकै धेरै भएको गएको महिना विदेश मन्त्रालयले बताएको थियो ।

यो सङ्ख्यामा वैध भिसा भएकाहरूको समेत डिपोर्टेशन समेत समावेश छ । यसले प्रशासनको प्रक्रिया र मानव अधिकारमाथि प्रश्न उठाएको छ । यति मात्रै होइन ट्रम्प प्रशासनले भिसा दिन पनि कडिकडाउ गरिरहेको छ । सामाजिक सञ्जालमा निगरानी र जाँचबुझमा समेत विस्तार गरिएको छ । ‘अमेरिकालाई सुरक्षित राख्न हामी यी ठगहरूलाई  डिपोर्ट गर्ने काम जारी राख्नेछौँ,’ विदेश मन्त्रालयले सोमबार एक्समा एउटा पोस्टमा भनेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप