कांग्रेसमा टिकट वितरण : देउवा पक्षलाई पनि समेट्ने प्रयासमा गगन
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने मिति नजिकिँदै गर्दा गगन थापा नेतृत्वको नेपाली कांग्रेस घनिभूत छलफलमा जुटेको छ । विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई नै निर्वाचन आयोगले वैधानिकता दिएपछि यसविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको बेला थापा भने टिकट वितरणको अन्तिम तयारीमा जुटेका हुन् ।
जिल्लाबाट आएका सिफारिसका आधारमा उम्मेदवारको टुङ्गो लगाउन गोप्य स्थलमा घनिभूत छलफल चलिरहेको एक नेताले बताए । थापा निकट स्रोतका अनुसार टिकट वितरणको विषय टुङ्ग्याउन नेताहरू हात्तिसारस्थित एक होटेलमा छलफलमा जुटेका छन्। स्रोतले भन्यो, ‘टिकट वितरणको एक लेभल (चरण) टुङ्गिसकेको छ, अब विवादित ठाउँहरूको बारेमा मात्र निर्णय हुन बाँकी छ।’
जिल्लाबाट सिफारिस भएर आएका नामहरूलाई नै मुख्य आधार बनाएर निर्णय गर्ने थापाको तयारी छ। स्रोतका अनुसार देउवा पक्षका नेताहरू पनि सम्पर्कमा आइरहेको र उनीहरूलाई पनि न्यायोचित ढङ्गले टिकट दिइने तयारी छ।
- देउवा पक्षलाई समेट्ने महामन्त्री पौडेलको दाबी
महामन्त्री प्रदीप पौडेलले उम्मेदवार चयनमा कुनै पूर्वाग्रह नराखिने स्पष्ट पारे। रातोपाटीसँग पौडेलले भने, ‘हामी सबै पक्षसँग कुरा गरेर, सबैलाई समेटेर टुङ्ग्याउने गरी छलफल गरिरहेका छौँ। यसमा कुनै ढिपी हुँदैन। जसले जित्छ र जसको सिफारिस स्वाभाविक छ, उसैले टिकट पाउँछ।’
पौडेलले देउवा पक्षका नेताहरूलाई ‘वान टू वान’ सम्पर्क गरेर प्रक्रियामा सहभागी हुन आग्रह गरिएको बताए। ‘उहाँहरूलाई हामीले सम्पर्क गरेका छौँ, उहाँहरू टिकट लिन आउने/नआउने दोस्रो कुरा हो, तर हाम्रो तर्फबाट समेट्ने हरसम्भव प्रयास जारी छ,’ पौडेलले भने।
- सर्वोच्चको रिटमा शेखरको हस्ताक्षर
यता, डा. शेखर कोइराला गगन थापा समूहसँग मिलेको भन्ने हल्ला चलिरहँदा कोइरालाको सचिवालयले भने त्यसको खण्डन गरेको छ। डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइरालाले सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरिसकेको पुष्टि गरे।
रातोपाटीसँग थपलियाले भने, ‘डाक्टर साबले हस्ताक्षर नै गरिसक्नुभएपछि उहाँको सहभागिता छैन भन्ने हुँदैन। उहाँले रिटमा हस्ताक्षर गर्नुभएको छ, गगनजीहरूसँग मिल्यो भन्ने हल्ला सत्य होइन।’
यद्यपि, गगन थापानिकट स्रोतले भने शेखर कोइरालाको भूमिका अब कमजोर भएको दाबी गरेको छ। स्रोतले भन्यो, ‘उहाँ (शेखर) पहिले आफै सभापति हुनुहुन्थ्यो, अहिले पछाडि पुच्छरमा बस्ने हुनुभयो। लुरुक्क परेर बोलाइदिए बोल्ने, जे भन्यो त्यही स्विकार्नु पर्ने स्थिति छ।’
- ‘छलफल गर्दैछौँ’
देउवा समूहका प्रवक्ता डा. प्रकाशशरण महतले आधिकारिकताको विषयमा छलफल गरेर मात्र अघि बढ्ने बताएका छन्। उनले भने, ‘अहिले केही कुरो भएको छैन, हामी बस्छौँ र सल्लाह गरेर टुङ्ग्याउँछौँ।’ अदालतको आदेशका आधारमा आफूहरू अघि बढ्ने उनको सङ्केत थियो ।
आजै देउवा पक्षले गगनको आधिकारिकताविरुद्ध दायर गरेको रिट सर्वोच्चमा दायर भएको छ भने त्यसको पेसी माघ ६ गतेका लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण