मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

विद्युत् महसुलमा ५० प्रतिशत अनुदान

मङ्गलबार, ०९ असार २०८३, ०१ : १२
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • सिदिङ्वा गाउँपालिकाले ५० युनिटसम्म विद्युत् खपतमा ५०% अनुदान दिनेछ।
  • कृषि र पशुपालनमा आत्मनिर्भरता बढाउने कार्यक्रम पनि ल्याइनेछ।
  • गाउँपालिकाले रु. ५३ करोडको बजेट पनि सार्वजनिक गरेको छ।

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा अध्यक्ष मानबहादुर राईले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । विद्युत् महसुलमा राहत दिने कार्यक्रमले न्यून तथा मध्यम आय भएका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने गाउँपालिकाको अपेक्षा छ ।

गाउँपालिकाका सूचना अधिकारी रुद्र बेघाका अनुसार पालिकाभित्र रहेका दुई हजार ५०० भन्दा बढी घरधुरीमध्ये मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने परिवार उक्त कार्यक्रमबाट लाभान्वित हुनेछन् । पचास युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताको हकमा भने यो सुविधा लागू नहुने उनले जानकारी दिए ।

अध्यक्ष राईले ‘एक घर एक करेसाबारी, प्राङ्गारिक तरकारी’ नारासहित कृषिमा आत्मनिर्भरता बढाउने, किसानलाई प्रोत्साहन गर्ने तथा स्थानीय उत्पादन वृद्धि गर्ने विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरे । ‘स्वस्थ माटो, स्वस्थ उत्पादन’ स्वस्थ भान्सा, स्वस्थ जीवन कार्यक्रमलाई प्रभावकारी बनाउन ल्याब सेवालाई निरन्तरता, प्राङ्गारिक मल उत्पादन र प्रयोग गर्नेलाई प्रोत्साहन गर्नुका साथै पशुपालनमा अनुदानको व्यवस्था गर्ने पनि उनको भनाइ छ ।

यसैबिच, गाउँपालिकाले आगामी आवका लागि रु ५३ करोड आठ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्णकुमारी कँडरियाले बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा बजेटमा विद्युत् महसुलमा अनुदान, कृषि उत्पादन वृद्धि, प्राङ्गारिक खेती प्रवर्द्धन तथा स्थानीय नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप