सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला

सोमबार, ०८ असार २०८३, १३ : ३५
सोमबार, ०८ असार २०८३

सारांश

  • बर्दियाका महिलाहरू घरधन्दामा मात्र सीमित नभई कृषि, पशुपालन र साना उद्यममार्फत आयआर्जनमा सक्रिय भएका छन् ।
  • महिलाहरूले बाख्रापालन, बङ्गुर पालन र कुखुरा पालन जस्ता व्यवसायबाट आत्मनिर्भर बन्दै परिवारको आर्थिक अवस्था सुधार गरिरहेका छन् ।
  • बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालले महिलाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गरी आर्थिक रूपमा सक्षम बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

बर्दिया । बर्दियाको ग्रामीण क्षेत्रमा पछिल्ला वर्ष महिलाहरूको जीवनशैली र सोचमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ । घरधन्दामा सीमित मानिने महिलाहरू अहिले आयआर्जनका गतिविधिमा सक्रिय बन्दै आफ्नै व्यवसाय सञ्चालन गर्ने दिशामा अघि बढिरहेका छन् ।

कृषि, पशुपालन र साना उद्यममार्फत आत्मनिर्भर बन्ने प्रयासले स्थानीयस्तरमै रोजगारी र आर्थिक सशक्तीकरणको नयाँ सम्भावना सिर्जना गरिरहेको छ ।

एक समय घरायसी प्रयोजनका लागिमात्रै बाख्रा पाल्ने मधुवन नगरपालिका–१ की माला सुनार अहिले त्यसलाई आयआर्जनको माध्यम बनाइसकेकी छन् । उनले भनिन्, ‘पहिले बाख्रापालन घरको आवश्यकतामा मात्रै सीमित थियो । व्यावसायिक रूपमा अघि बढाएपछि परिवारको आर्थिक अवस्थामा सकारात्मक सुधार आएको छ ।’

बर्दियाको अर्थतन्त्र अझै कृषि र ज्याला–मजदुरीमा आधारित छ । सीमित रोजगारीका अवसरका कारण धेरै युवायुवती वैदेशिक रोजगारतर्फ आकर्षित भइरहेका बेला केही महिलाहरू भने आफ्नै गाउँमा बसेर व्यवसायमार्फत भविष्य निर्माण गर्ने प्रयासमा छन् ।

ठाकुरबाबा नगरपालिका–३ की सिर्जना थारु बङ्गुर पालन व्यवसायमा सक्रिय छिन् । ‘मैले चैत महिनादेखि बङ्गुर पालन सुरु गरेकी हुँ । अब यसलाई व्यवस्थित र व्यवसायिक रूपमा विस्तार गर्ने योजना बनाएकी छु,’ उनले भनिन् ।

सीमित स्रोत–साधनका बिच सुरु भएको उनको प्रयासले भविष्यप्रति नयाँ आशा जगाएको छ । उनको संघर्ष केवल व्यवसायसँग जोडिएको छैन, जीवनसँग जोडिएको छ ।

केही वर्षअघि उनका श्रीमान प्यारालाइसिसका कारण थलिन पुगे । एक समय परिवारको मुख्य आम्दानीको स्रोत रहेका श्रीमान ओछ्यानमा सीमित भएपछि घरको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । सानो छोरीको पालनपोषण, श्रीमानको उपचार, घरखर्च र दैनिक जीविकोपार्जन– सबै जिम्मेवारी उनले एक्लै सम्हाल्दै आएकी छन् ।

कुखुरा पालनलाई व्यवस्थित बनाउँदै आफ्नो परिवारलाई आत्मनिर्भर बनाउने अठोट बोकेकी उनले श्रीमानको नियमित उपचार, छोरीको पढाइ र परिवारको भविष्य सुरक्षित गर्ने सपना जीवित राखेकी छन् ।

ठाकुरबाबा नगरपालिका–४ की मिरा थारुले कुखुरा पालन गर्दै आएकी छन् । व्यवसाय गरिरहे पनि आवश्यक प्राविधिक जानकारीको अभाव महसुस गरिरहेकी उनले अहिले व्यवसायलाई फरक दृष्टिकोणबाट हेर्न थालेकी छन् ।

ठाकुरबाबा नगरपालिका–५ की कल्पना थारु पनि बङ्गुर पालनलाई व्यावसायिक रूपमा विस्तार गर्ने तयारीमा छिन् ।

अनु थारुले पनि आफ्नै व्यवसाय सुरु गर्ने लक्ष्य राखेकी छन् । ‘आफ्नै गाउँमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास बढेको छ,’ उनले भनिन् ।

उद्यमी बन्ने सपना बोकेकी मिलरानी थारुको कथा झन् प्रेरणादायी छ । सुरुमा सार्वजनिक रूपमा आफ्ना विचार व्यक्त गर्न हिच्किचाउने उनी अहिले आत्मविश्वासका साथ बोल्न सक्ने भएकी छन् । नयाँ सिप र जानकारीले अगाडि बढ्ने साहस दिएको छ ।

यता ठाकुरबाबा नगरपालिका–५ की ममता चौधरी बङ्गुर पालनसँगै तरकारी खेतीबाट आम्दानी गरिरहेकी छन् । कृषिसँग जोडिएका कामलाई व्यवस्थित बनाएर अझ राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास बढेको उनले बताइन् ।

यी प्रतिनिधि उदाहरणमात्र हुन् । बर्दियाका धेरै महिला अहिले कृषि, पशुपालन, साना व्यवसाय र उद्यममार्फत आर्थिक रूपमा सक्षम बन्ने प्रयासमा छन् ।

पुँजीको अभाव, बजार पहुँचको कठिनाइ र प्राविधिक ज्ञानको कमीका बाबजुद अवसर र उचित मार्गदर्शन प्राप्त भएमा गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश उनीहरूले दिएका छन् । विशेषज्ञहरूका अनुसार उद्यमशीलता केवल आम्दानीको माध्यममात्र होइन, सामाजिक रूपान्तरणको आधार पनि हो ।

बर्दियामा महिलाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्दै आत्मनिर्भर, नवप्रवर्तनशील र आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यका साथ बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । महिलाको आर्थिक सशक्तीकरणले केवल एक व्यक्तिको जीवनमात्र होइन, परिवार र समुदायको समग्र विकासमा समेत योगदान पुर्‍याउँछ भन्ने मान्यताका साथ यी संस्था क्रियाशील छन् ।

बाँके युनेस्को क्लबका टेक्निकल एडभाइजर तथा सामाजिक तथा व्यवहार परिवर्तन विज्ञ विनय दिल लामाका अनुसार उद्यमशीलता व्यवसाय सञ्चालन गर्ने सिपमा मात्र सीमित विषय होइन । ‘महिलाहरूमा आत्मविश्वास विकास गर्नु, निर्णय क्षमता बढाउनु र अवसर पहिचान गर्न सक्ने क्षमता निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण पक्ष हो,’ उनले भने ।

ग्रामीण क्षेत्रमा रहेका महिलाहरूमा ठुलो सम्भावना भए पनि जानकारी, सिप र अवसरको अभावले उनीहरू पछाडि परिरहेको प्रस्ट पार्दै लामाले यस्ता कार्यक्रममार्फत त्यो खाडल कम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

परियोजनाका संयोजक राजेश कुमार खड्काले महिलाको आर्थिक सशक्तीकरणलाई दिगो विकाससँग जोडेर हेर्नुपर्ने बताए । महिलाहरूलाई केवल तालिम दिएर छोड्ने होइन, उनीहरूलाई आत्मनिर्भर उद्यमीका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको जानकारी दिए ।

ठाकुरद्वारा र मधुवनका एक सय जना महिलालाई उद्यमी बनाउने लक्ष्यका साथ काम गरिरहेको खड्काले उल्लेख गरे । उनका अनुसार स्थानीय स्रोत, सिप र सम्भावनालाई उपयोग गर्दै महिलाहरूलाई उद्यमशीलतामा जोड्न सके ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप