सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
रास्वपा राष्ट्रिय महाधिवेशन

रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे

सोमबार, ०८ असार २०८३, १४ : ५६
सोमबार, ०८ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य तथा पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरु हुनुअघि अनौपचारिक रूपमा मत माग्न व्यस्त देखिएका छन् ।
  • सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन्द्र (बालेन) शाह निर्विरोध हुने भए पनि अन्य पदहरूमा निर्वाचन हुने सम्भावना छ ।
  • पार्टीभित्र दुई महामन्त्री पदका लागि झन्डै एक दर्जन नेता आकांक्षी रहेकाले सहमतिमा नेतृत्व चयन गर्न सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई सकस परेको छ ।

चितवन । भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उद्घाटन सत्र सकिएसँगै महाधिवेशन प्रतिनिधिहरूमा नयाँ नेतृत्वबारे चर्चा हुन थालेको छ । महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा विभिन्न राजनीतिक, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव पारित गरेर निर्वाचन प्रक्रिया सुरु गर्ने भनिए पनि बन्द सत्र सुरु हुन ढिलाइ हुँदा विभिन्न प्रतिवेदन र प्रस्तावहरू हलमा पेस हुन सकेका छैनन् ।

महाधिवेशन प्रतिनिधि कार्डमा रहेको त्रुटि सच्याउन समय लागेका कारण तथा मधेस प्रदेशको प्रतिनिधि विवादका कारण निर्धारित समयमा बन्दसत्र सुरु हुन नसकेको नेताहरूले बताउने गरेका छन् । बन्दसत्र सुरु हुन ढिलाइ भएपछि महाधिवेशन स्थलमा केही प्रतिनिधि तथा नेताहरू अनौपचारिक ढंगले केन्द्रीय सदस्य तथा पदाधिकारीका लागि मत माग्न व्यस्त देखिएका छन् । १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयनका लागि हुने निर्वाचनमा ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । 

त्यसमध्ये सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन्द्र (बालेन) शाह निर्विरोध हुने भए पनि अन्य पदहरुमा निर्वाचन हुने देखिएको छ । पदाधिकारी र केन्द्रीय सदस्यको सिमित पदमा आकांक्षी धेरै भएकाले कुन कुन पदमा निर्वाचन हुन्छ भन्ने अझै एकिन भएको छैन । यद्यपि शीर्ष नेताहरूले सहमतिमै केन्द्रीय समिति चयन गर्ने प्रयास गरिरहेको बताइएको छ । तर, उनीहरूको प्रयासबारे केही जानकारी दिएको छैन । रास्वपा नेतृत्वले पार्टी एकतालाई मध्यनजर गर्दै सहमतिबाट नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकता दिएकाले सहमतिको प्रयास भइरहेको बताइएको छ । 

विवेकशील साझा, बालेन्द्र समूह, थारुवान/थरुहट समूह, जेनजी समूह लगायत समूह मिसिएपछि विशाल पार्टी बनेको रास्वपाले एकता प्रक्रियामा जोडिएका समूहलाई व्यवस्थापन गर्नुपर्ने भएकाले सकभर सहमतिबाटै नेतृत्व छनोट गर्नुपर्नेमा सभापति लामिछाने र अर्का नेता शाह रहेका छन् । 

महाधिवेशन अघि बिहीबार बसेको सचिवालय बैठकमा पनि सभापति रवि लामिछानेले धेरै काम गर्न बाँकी नै रहेकाले सहमतिमै नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिएका थिए । सबै पक्षलाई मिलाएर सकभर सहमतिमै नेतृत्व छनोट गर्ने जिम्मेवारी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई दिइएको सचिवालय सदस्य गणेश पराजुलीले बैठकपछि बताएका थिए । सोही अनुसार महाधिवेशन उद्घाटन सत्रपछि आइतबार सभापति लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहबिच सहमतिका लागि छलफल भएको बुझिएको छ । 

रास्वपाले १९ सदस्यीय पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष र सहकोषाध्यक्ष एक/एक रहने व्यवस्था छ । सचिवालय ३३ सदस्यीय हुनेछ ।

सभापतिले ५१ जना मनोनीत गर्ने व्यवस्था विधानमा छ । केन्द्रीय समितिका लागि १०० जना निर्वाचनका माध्यमबाट आउने व्यवस्था छ ।  १०० जनामा ६४ जनाको निर्वाचन हुनेछ भने तीमध्ये ३५ जना प्रदेशबाट आउँछ्न् ।

रास्वपा श्रोतका अनुसार सहमति नभए दुई महामन्त्रीका लागि झन्डै एक दर्जन नेताहरूले महामन्त्री पदमा आकाङ्क्षा राखेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । त्यसमध्ये हाल महामन्त्री रहेका कवीन्द्र बुर्लाकोटी र भुपदेव शाहसहित मनिष झा, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली, यज्ञमणि न्यौपाने र लिमा अधिकारी लगायतले महामन्त्रीमा आकाङ्क्षा देखाएका छन् ।

लिमा अधिकारी उपसभापति नभए महामन्त्री नछोड्ने मनस्थितिमा रहेको बताइएको छ । जसले गर्दा सहमतिबाटै अघि बढ्दा पनि नेताहरूको व्यवस्थापन गर्न रवि बालेनलाई सकस परेको बुझिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप