१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
आज २०८३ असार ८ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, औपचारिक कार्यक्रमविना नै बित्यो रास्वपा महाधिवेशनको दोस्रो दिन, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी, राहदानी खरिद प्रक्रियामा अनियमितताबारे मुद्दा दर्ता, को बन्ला ३०औँ मुख्यसचिव ?, क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज, इन्धन बोकेको ट्याङ्कर नै चोरी लगायत छन् ।
१. एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
पूर्वमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।
२. औपचारिक कार्यक्रमविना नै बित्यो रास्वपा महाधिवेशनको दोस्रो दिन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनको दोस्रो दिन सोमबार कुनै औपचारिक कार्यक्रम हुन सकेन । बन्दसत्र सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिको नाममा देखिएको विवादका कारण सोमबार कुनै औपचारिक कार्यक्रम अघि नबढेको हो ।
३. गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी परेको छ । हिरासतभित्रै मानसिक दबाब, ज्यानमार्ने धम्की तथा गम्भीर मानव अधिकार उल्लङ्घन गरिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।
४. राहदानी खरिद प्रक्रियामा अनियमितताबारे मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना र दुई विदेशी कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
५. को बन्ला ३०औँ मुख्यसचिव ?
नेपाल सरकारका २९औँ मुख्यसचिव सुमनराज अर्याल उमेरहदका कारण यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । त्यसैले ३०औँ मुख्यसचिव बन्नका लागि १० सचिव दाबेदारका रूपमा देखिएका छन् ।
६. क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने काम करिब–करिब टुङ्गिएको छ । अद्यावधिक विवरण अनुसार कांग्रेसको क्रियाशील सदस्यता सङ्ख्या उल्लेख्य घटेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
७. इन्धन बोकेको ट्याङ्कर नै चोरी
विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै इन्धन बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । यद्यपि केही घण्टापछि उक्त ट्याङ्कर सुनसरीको बर्जुस्थित हुलाकी सडकखण्डमा फेला परेको छ ।
८. कक्षा १२ को नतिजामाथि उठ्यो प्रश्न
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ४० दिनमै प्रकाशन गरे पनि विश्वसनीयतामा प्रश्न उठेको छ । बोर्डले प्रकाशन गरेको नतिजा त्रुटिपूर्ण रहेको दाबीसहित परीक्षार्थी आन्दोलित भएका छन् ।
९. त्रिवेणीवासीले किन गरे गण्डकीबाट छुट्टिने निर्णय ?
गण्डकी प्रदेश अन्तर्गतको विनयी त्रिवेणी गाउँपालिकाका वडा नम्बर ६ र ७ का बासिन्दाले गण्डकी प्रदेशबाट छुट्टिएर लुम्बिनी प्रदेशमा गाभिने निर्णय गरेका छन् । पालिका तथा जिल्ला सदरमुकाम जान वर्षौंदेखि समस्या भोग्दै आउनुपरेको भन्दै उनीहरूले लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकामा समायोजनका लागि भेलामार्फत निर्णय गरेका छन् ।
१०. सिजन अनुसार विद्युत् महसुल लागु गर्ने तयारी
सरकारले हाल प्रचलनमा रहेको विद्युत महसुस संरचनालाई परिमार्जन गर्ने तयारी गरेको छ । जसअनुसार मौसमी महसुल प्रणाली लागु गर्ने तयारी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण