सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
कालिकोटमा चुनावी भिडन्त

कालिकोटमा प्रतिष्ठाको लडाइँ : ठुला दलका बागीले नगीन्द्र र प्रकाण्डलाई फाइदा !

प्रतिस्पर्धा पाँच पक्षीय हुँदा ‘हेभीवेट’ नेता महेन्द्रबहादुर शाहीलाई हुन सक्छ चुनौती
बुधबार, ०७ माघ २०८२, १६ : ०९
बुधबार, ०७ माघ २०८२

सारांश

  • आगामी निर्वाचनमा कालिकोटमा नेकपा र कांग्रेसका नेताहरूले बागी उम्मेदवारी दिएका छन्।
  • माओवादी नेता जीवनबहादुर बुढा र कांग्रेसका भूपेन्द्रजंग शाहीले पार्टीको निर्णय विरुद्ध उम्मेदवारी दिएका हुन्।
  • बागी उम्मेदवारीका कारण एमाले र माओवादीका उम्मेदवारलाई फाइदा पुग्न सक्ने विश्लेषण गरिएको छ।

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत कालिकोटमा चुनावी भिडन्त रोचक बन्ने भएको छ । 

यहाँ दुई ठुला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसमा बागी उम्मेदवारी परेसँगै चुनावी प्रतिस्पर्धा दलगत भन्दा पनि व्यक्तिगततर्फ सोझिएको छ । यहाँ नेकपाबाट प्रभावशाली नेता महेन्द्रबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् भने उनकै पार्टीका नेता जीवनबहादुर बुढाले बागी उम्मेदवारी दिएका छन् । उसो त शाहीविरुद्ध २०७९ मा पनि माओवादीकै काशीचन्द्र बरालले उम्मेदवारी दर्ता गराएका थिए । यद्यपि शाहीले सहज जित निकालेका थिए । 

यो पटक उम्मेदवारी दिएका बुढा यसअघि राष्ट्रिय सभा सदस्य भइसकेका नेता हुन् भने युद्धकालमा महेन्द्रबहादुर शाहीसँगै जनमुक्ति सेनाका लडाकु कमान्डर पनि हुन् । कालिकोटमा महेन्द्रबहादुर शाहीपछि माओवादीमा कोही प्रभावशाली नेता छन् भने ती बुढा नै हुन् । यद्यपि उनले सोमबार शाहीविरुद्ध उम्मेदवारी दर्ता गरे । 

यता नेपाली कांग्रेसमा युवा नेता भूपेन्द्रजंग शाहीले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसबाट हर्षबहादुर बमले आधिकारिक उम्मेदवारी दर्ता गराएका छन् । शाही कालिकोटमा कांग्रेसभित्र सबैभन्दा बढी जनमत र चिनिएका नेता हुन् । अर्कातर्फ पुराना माओवादी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, एमालेबाट पुनः नगीन्द्र शाही ‘नेसनल’ र रास्वपाबाट सामाजिक सञ्जालमा चिनिएका प्रकाश न्यौपाने ‘कालिकोटे’ उम्मेदवार छन् ।

किन दिए बुढा र शाहीले बागी उम्मेदवारी ?

कालिकोट माओवादीको बलियो आधारभूमि हो । ०६४ पछिका सबै चुनाव माओवादीले जितेको छ । त्यसमा पनि महेन्द्रबहादुर शाही तीन पटक उम्मेदवार बनिसकेका छन् । कर्णाली सरकारको नेतृत्व गरिसकेका नेकपा नेता शाहीले यसअघि ०७० र ०७९ मा प्रतिनिधि सभा तथा ०७४ प्रदेश सभा चुनाव जितेका छन् । 

पुनः उनले उम्मेदवार बन्ने चाहना देखाएपछि कालिकोटमा सुरुमै विवाद सुरु भएको थियो । विवाद बढ्ने र आकाङ्क्षीहरूबिच कुरा नमिल्ने भएपछि शाहीको पहलमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकल सिफारिस गरियो, यद्यपि प्रचण्ड भने रुकुमपूर्व लागे । त्यसपछि ११ जना नेताहरूले उम्मेदवार बन्न आकांक्षा देखाए । बागी उम्मेदवारी दिएका बुढा, लक्ष्मी चौलागाइँलगायत नेताहरूले आकांक्षा देखाए । उनीहरूको भनाइ थियो, ‘तपाईं तीन पटक चुनाव लडिसक्नुभयो, अब पार्टीकै जिम्मेवारी लिएर काम गर्नुहोस् । चुनावी मैदान हाम्रा लागि खाली गरिदिनुहोस् ।’ 

तर महेन्द्रबहादुर शाहीले भने आफ्नो कार्यकाल पनि नसकिएको भन्दै पुनः उम्मेदवार बन्ने चाहना देखाए । लामो छलफल नै भयो । उम्मेदवारबिच सोमबार मान्ममै बृहत् छलफल चल्यो । पार्टी केन्द्रले शाहीलाई नै पुनः टिकट दियो ।

आफूनिकट कार्यकर्ताहरूकै सल्लाहमा उम्मेदवारी दिएको बागी उम्मेदवार बुढाले रातोपाटीसँग बताए । ‘मैले आफ्नो विस्तृप्त कार्ययोजना बनाउँदै छु, त्यसमा सबै खुलाउने छु,’ उनले भने, ‘उम्मेदवारी फिर्ता गर्नलाई दर्ता गरेको होइन, चुनाव लड्नकै लागि गरेको हो ।’

उनले संगठनमा भोट नभएको पनि बताए । ‘भोट संगठनमा छैन, गाउँमा छन्, संगठनमा भोट र जनता भएको भए भदौ २३ र २४ गतेको अवस्था आउने थिएन नि,’ उनले थपे, ‘नेता भाग्नु पर्थेन ।’ साथै उनले जनताको आवश्यकता महसुस गरेर उम्मेदवारी दिएको पनि तर्क गरे । 

यता कांग्रेसका युपा नेता भूपेन्द्रजंग शाहीले पनि आफूलाई जनताले यो पटक चाहेको तर पार्टी केन्द्रमा गुटका आधारमा आफूमाथि प्रतिशोध साँधिएको बताएका छन् । शाही सरकारले चुनाव घोषणा गरेसँगै गाउँ अभियानमा लागेका थिए । कालिकोटका गाउँ–गाउँ पुगेर एक पटक भेटघाट गरिसका थिए । उनलाई नै उम्मेदवार बनाउन कांग्रेस कालिकोटले सिफारिससमेत गर्‍यो, तर बिचमा पार्टीको विशेष महाधिवेशनले उनको उम्मेदवार बन्ने सपना चकनाचुर पारिदियो । 

शेखर कोइराला टिमका नेता शाही विशेष महाधिवेशनमा खुलेनन्, तर अन्तिममा सभापति गगन थापाबाट धमाधम अन्य नेताहरूले टिकट पाइँरहँदा शाही भने वञ्चित भए । उनको भनाइ छ, ‘दुई पटक पराजित भएको र सधैँ जनतामै रहेका कारण यो पटक मलाई सहानुभूतिको समेत मत आउँथ्यो, चुनाव जित्ने आधार बनाएको थिएँ, तर गुटको सिकार बनाइयो ।

थापाले हर्षबहादुर बमलाई टिकट दिए, बमको जनमत खासै राम्रो नभएको त्यहाँका स्थानीय नेताहरू बताउने गर्छन् । शाही यसअघि ०७० र ०७४ को प्रतिनिधि सभा चुनाव लडेका थिए । ०७० मा पार्टीभित्रकै समस्याका कारण जित्न नसकिएको उनको बुझाइ छ । 

त्यसबेला उनी कांग्रेसका सबैभन्दा कान्छा उम्मेदवार थिए । उक्त चुनावमा माओवादीबाट शाहीले १० हजार ८४ मतसहित चुनाव जित्दा शाहीले ७ हजार ७५९ मत पाएका थिए । २०७४ मा भने यहाँ माओवादीबाट दुर्ग बहादुर रावत उम्मेदवार बने । उनले त्यो बेला २१ हजार ११२  मत ल्याउँदा कांग्रेसका शाहीले १६ हजार ४०७ मत ल्याएका थिए; जबकि त्यसबेला माओवादी—एमाले संयुक्त गठबन्धन थियो । 

२०७९ मा कांग्रेस—माओवादी गठबन्धन हुँदा फेरि शाहीले टिकट पाए । पराजित भए पनि शाही विभिन्न अभियान लिएर जिल्ला मात्र होइन, समग्र देशभर पुगेका थिए । उनी सबैतिर चिनिएकै नेता हुन् । नेविसंघको राजनीतिदेखि नै सम्बन्ध समधुर नभएका कारण कांग्रेस सभापति थापाले आफूलाई टिकट नदिएको उनलाई लागेको छ । पार्टीको केन्द्रीय सभापति बन्दासम्म पनि विद्यार्थीकालको असहमतिलाई सम्झेर थापाले आफूलाई निषेध गरेका उनी बताउँछन् । 

बागी उम्मेदवार मैदानमा : कसलाई घाटा, कसलाई घाटा ?

नेकपा र कांग्रेस दुवैतर्फका बागीले उम्मेदवारी फिर्ता नलिए त्यसको फाइदा एमाले र नेकपा (माओवादी)का खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई हुने विश्लेषण नेता, कार्यकर्ताहरूले गरेका छन् । ८४ हजार ६०० मतदाता रहेको कालिकोटमा ०७९ को स्थानीय चुनावमा दलहरूले प्राप्त गरेको मत हेर्दा नेकपा बलियो शक्ति हो । 

वडामा एमालेले १२ हजार ६१३ मत पाएको थियो भने सबैभन्दा बढी माओवादी (हाल नेकपा)को १८ हजार ३४७, कांग्रेसले १२ हजार ८२०, नेकपा एकीकृत समाजवादी (हाल नेकपा) ले ३ हजार ५०३ मत ल्याएको थियो ।

अहिले समाजवादीसहित नेकपा बनेको छ, तर अहिलेको चुनावमा विगतमा दलले पाएको मतलाई आधार मान्न नसकिने उम्मेदवार बताउँछन् । 

रास्वपाबाट उम्मेदवार बनेका प्रकाश न्यौपाने युवामाझ लोकिप्रय छन्, जसका कारण उनलाई पनि कम आँक्न सकिँदैन । अर्कातिर प्रभावशाली नेता ‘प्रकाण्ड’ १८ वर्षपछि चुनावी मैदानमा छन् । कालिकोटका नेकपाका एक नेताका अनुसार बागीवालाहरूले उम्मेदवारी फिर्ता नलिए यहाँ व्यक्तिगत, जातीय र भेगीय चुनावी लडाइँ हुन्छ । 

कालिकोटमा अरूभन्दा धेरै दलित समुदायको भोट छ । ‘यो अवस्थामा प्रकाण्डले चुनाव नजित्लान् भन्न सकिन्न,’ उनी भन्छन् । प्रकाण्ड ०६४ मा चुनाव लड्दा अहिलेसम्मकै सबैभन्दा धेरै मत २७ हजार बढी ल्याएका थिए, त्यसपछि माओवादीबाट लडेका कुनै पनि नेताले त्यति भोट ल्याएका छैनन् । 

तर ०७९ मा हारेका एमालेका शाहीलाई पनि सहानुभूतिको भोट आउन सक्ने उनको आकलन छ । यद्यपि नेकपाका नेता शाहीले रुष्ट भएकाहरूलाई मिलाउन सके उनको पनि जित्ने सम्भावना छँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप