आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

धनुषामा उम्मेदवारीविरुद्ध उजुरी शून्य, चारै क्षेत्रमा प्रतिस्पर्धा तीव्र

बुधबार, ०७ माघ २०८२, २१ : १४
बुधबार, ०७ माघ २०८२

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा जिल्लामा उम्मेदवारी दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन ।

मुख्य निर्वाचन अधिकृत सुवासबाबु पुरीका अनुसार चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूमाथि कुनै उजुरी दर्ता भएन । बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उजुरी दर्ताको समय तोकिएको थियो । जिल्ला निर्वाचन कार्यालय धनुषाका अनुसार क्षेत्र नम्बर १ मा ४२ जना, क्षेत्र नम्बर २ मा ३४ जना, क्षेत्र नम्बर ३ मा ४५ जना र क्षेत्र नम्बर ४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दीपक कार्की उम्मेदवार छन् । उनी २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मातृकाप्रसाद यादव उम्मेदवार बनेका छन्, जो अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा थिए । 

क्षेत्र नम्बर २ मा नेकपाबाट रामचन्द्र झा, नेपाली कांग्रेसबाट दिनेश प्रसाद यादव (प्रसैला) र नेकपा एमालेबाट उमाशंकर अगरियालगायत उम्मेदवारबिच प्रतिस्पर्धा हुँदै छ । क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट जुलीकुमारी महतो, नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनिषा झा र जसपा नेपालबाट परमेश्वर साहलगायत उम्मेदवार मैदानमा छन् । 

त्यस्तै क्षेत्र नम्बर ४ मा एमालेका रघुवीर महासेठ र कांग्रेसका महेन्द्र यादव मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । २०७९ को निर्वाचनमा महासेठ निर्वाचित भएका थिए भने यादव दोस्रो स्थानमा सीमित भएका थिए ।

धनुषा जिल्लामा कुनै पनि उजुरी नपर्नुले उम्मेदवारी प्रक्रिया शान्तिपूर्ण र नियमसम्मत रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप