‘बल्छी धुर्बे’ : हलको कुनामा बसेर सपना देख्ने बालक, आज पर्दामा छाउने कलाकार
सारांश
- मरिचमान श्रेष्ठ 'बल्छी धुर्बे' ले 'गोबर गणेश' फिल्मबाट ठूलो पर्दामा डेब्यु गरेका छन्।
- उनले १५ वर्षको सानो पर्दाको यात्रापछि फिल्ममा अभिनय, लेखन र निर्देशन गरेका छन्।
- फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ र उनको अर्को सपना अन्तर्राष्ट्रिय मञ्चमा देशको लागि अवार्ड जित्नु हो।
काठमाडौँ । ‘ओहो ! यत्रो ठुलो स्क्रिनमा आफूले आफैँलाई हेर्न पाए कस्तो हुन्थ्यो होला ?’
सानोमा फिल्म हल पुग्दा सधैँ यस्तै लाग्थ्यो उनलाई । अँध्यारो हलभित्र सेतो पर्दामा दौडिरहेका पात्रहरू देख्दा उनलाई लाग्थ्यो, ‘एक दिन म पनि त्यसै गरी यो पर्दामा छाउनेछु । झन्डै दुई दशकअघि उनले देखेको सपना आज आएर बिपनामा परिणत भयो । हिजो हलको कुनामा बसेर पर्दातिर आँखा तान्ने ती ठिटो आज आफैँ पर्दामा दौडिरहेका छन् । उनलाई पर्दामा देखाउने काम फिल्म ‘गोबर गणेश’ले गरेको छ । उनी अर्थात् मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ।
गाउँको सामान्य परिवेशबाट सहर छिरेका उनी विगत १५ वर्षदेखि सानोपर्दामा छाउँदै आएका छन् । पछिल्लो समय ‘हल्का रमाइलो’ र ‘जुठे’ मार्फत सबैको घरघर पुगेर हँसाउन सफल उनी हिरोको रूपमा देखिएको पहिलो फिल्म ‘गोबर गणेश’ अहिले प्रदर्शनरत छ । फिल्ममा उनी शीर्ष भूमिका ‘गोबर गणेश’ बनेर छाइरहेका छन् ।
फिल्मको हिरोसम्मको यात्रा दशकौँदेखिको मिहिनेतको प्रतिफल भएको श्रेष्ठ बताउँछन् । ‘म सानैदेखि नेपाली फिल्मको ठुलो फ्यान थिएँ । नयाँ फिल्म चल्ने बित्तिकै हल पुगिहाल्थेँ । तर हरेक पटक फिल्म हेर्दा मेरो मनमा एउटै कुरा खेल्थ्यो । म आफैँलाई यो ठुलो स्क्रिनमा हेर्ने दिन कहिले आउला ?’, उनी आँखाभरि आँसु पर्दै भन्छन्, ‘यो रहर एक–दुई वर्षको मात्र थिएन, झन्डै २०–२२ वर्षदेखिको निरन्तरको तृष्णा थियो । टिभीमा हेरेको भन्दा हलमा धेरै जनासँग बसेर आफूलाई हेर्दाको अनुभूति छुट्टै उत्सव जस्तो हुने रहेछ ।’
ठुलो पर्दामा डेब्यु गर्दा उनलाई डर नलागेको होइन । ‘अहिले तपाईँसँग बोलिरहँदा पनि मेरो मुटु ढुकढुक भइरहेको छ । म एउटा सामान्य कलाकार, मान्छेले मलाई कसरी स्विकार्लान् भन्ने डर त सधैँ हुँदो रहेछ’, उनी भन्छन् ।
कतिपयले उनलाई ‘फिल्ममा हिरो नपाएर आफैँ बनेको हो कि ?’ भन्ने प्रश्न पनि गरेका छन् । ‘मेरो फिल्मको कथा कुनै ठुलो स्टार चाहिने होइन, कथा आफैँ हिरो हो,’ उनी भन्छन्, ‘त्यही भएकाले आफैँले हिरोको भूमिका निर्वाह गरेको हो ।’ फिल्मका सबै पात्र नै आफ्ना लागि हिरो भएको उनी बताउँछन् ।
_7axklGHYVj.png)
फिल्म उनले आफ्नो सपना पूरा गर्न मात्र बनाएका होइनन् । उनको अर्को उद्देश्य दर्शकलाई राम्रो फिल्म दिनु पनि हो । त्यसमा आफू सफल देखिएको उनको स्वमूल्याङ्कन छ । ‘एकदमै गज्जब प्रतिक्रिया आइरहेको छ । सकारात्मक प्रतिक्रिया छ । जति जनाले पनि हेर्नुभएको छ, कसैले पनि नराम्रो भन्नुभएको छैन,’ उनी भन्छन् । सन्तानका लागि आमाले गरेको त्यागको कथा भएको कारण नै दर्शकको रुचिमा परेको उनको बुझाइ छ ।
‘फिल्म हलबाट बाहिरिने दर्शकका आँखा रसाएका देखिन्छन् । पहिलो हाफमा दर्शक खुब हाँस्नुहुन्छ । तर दोस्रो हाफमा पुग्दा हलमा रुवाबासी चल्छ,’ उनी भन्छन्, ‘धेरै आमाहरूले मलाई अँगालो हालेर रुँदै भन्नुभयो- बाबु, तिमीले त हाम्रै कथा देखायौ ।’ आफ्नो फिल्मले मनोरञ्जन मात्र नभएर आमाबाबुप्रतिको दायित्व र सम्मानका लागि सन्देश दिएको उनी बताउँछन् ।
फिल्ममा उनी अभिनेता मात्र छैनन्, लेखक र निर्देशकको भूमिकामा पनि छन् । १५ वर्षदेखि सानो पर्दामा दर्शकलाई हँसाउँदै आएका मरिचमानले फिल्म निर्देशनमा होमिएका हुन् । ‘जसले कथा लेख्छ, उसैले निर्देशन गर्दा कथाको मर्म शतप्रतिशत आउँछ जस्तो लाग्छ । त्यसैले यो कथालाई न्याय गर्न म आफैँ निर्देशकको कुर्सीमा बसेको हुँ,’ निर्देशक बन्नुको कारण उनी खोल्छन् ।
‘म सामान्य कलाकार हुँ । सानो पर्दाको स्पट ब्वायदेखि कलाकारसम्म १५ वर्षदेखि मलाई दर्शकहरूले माया गरिरहनुभएको छ । ठुलो पर्दामा पनि एकपल्ट किन नगर्ने ?’ उनी भन्छन् ।
सपना अन्तर्राष्ट्रिय मञ्चमा अवार्ड
कलाकार बन्ने सानैदेखिको सपना हो मरिचमानको । धादिङको सिर्जना थुती माध्यमिक विद्यालयमा अध्ययन गर्दा उनी त्यहाँ हुने कार्यक्रमहरुमा सहभागी हुन्थे । नेवार बस्तीमा हुर्किएका उनले गाईजात्रा र स्थानीय क्लबका कार्यक्रमहरूमा अभिनय गर्दागर्दै कलाकार बन्ने सपना बुने । नौ कक्षामा पढ्दा स्कुलमा अभिनयबाट पहिलो स्थान हासिल गरेपछि गुरु र परिवारले उनलाई काठमाडौँमा ललितकला पढ्ने सल्लाह दिए ।
काठमाडौँ आएपछि उनले सुरुमा स्पट ब्यायको काम गरेर फिल्म क्षेत्रमा छिरे । त्यसपछि संगीत र अभिनय सिके । ‘तितो सत्य’, ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ जस्ता टेलिफिल्मबाट प्रभावित मरिचमान ‘मेरी बास्सै’बाट अभिनयमा प्रवेश गरे । यसमा उनले निर्वाह गरेको पात्र ‘बल्छी धुर्बे’लाई दर्शकहरूले खुबै मन पराए ।
_4yoNFkrEqM.png)
त्यसबाट कलाकारितामा स्थापित भएका मरिचमानलाई आफ्नो वास्तविक नामभन्दा ‘बल्छी धुर्बे’बाटै धेरै चिन्छन् । कलाकार बन्ने सपना पूरा गरेका उनको अबको सपना छ- अन्तर्राष्ट्रिय मञ्चमा उभिएर देशका लागि अवार्ड थाप्ने ।
‘एउटा सपना त पूरा भयो ठुलो पर्दामा छाउने’, उनी सुनाउँछन्, ‘मेरो एउटा ठुलो इच्छा छ । कुनै दिन नेपालको राष्ट्रिय पोसाक दौरा-सुरुवाल र ढाकाटोपी लगाएर अन्तर्राष्ट्रिय मञ्चमा उभिएर देशका लागि अवार्ड थाप्न पाऊँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण