करिब २० करोडको कारोबार गर्दै गैँडाकोट महोत्सव सम्पन्न
नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-२ स्थित नारायणी नदी किनारमा सञ्चालन भएको चौथो गैँडाकोट महोत्सव आज सम्पन्न भएको छ । करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गर्दा रु २० करोड बढीको कारोबार भएको आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटले जनाएको छ ।
जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका महासचिव एवं महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले आर्थिक मन्दिका कारण महोत्सवमा अपेक्षित कारोबार नभए पनि सफलतापूर्व सम्पन्न भएको दाबी गरे । “हामीले रु २५ करोडको कारोबार हुने अनुमान गरेका थियौँ”, उनले भने, “आर्थिक मन्दिका कारण करिब रु २० करोडको कारोबार भएको प्रारम्भिक तथ्याङ्क निकालेका छौँ ।” गैँडाकोटमा आयोजना भएको यस महोत्सवले जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग गरेको पाण्डेले विश्वास व्यक्त गरे ।
गत पुस २५ देखि सुरु भएको महोत्सव आज १६औँ दिनमा समापन गरिएको हो । महोत्सवले जिल्लामा उत्पादन भएका कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सघाएको सङ्घका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल संयोजक छवि कँडेलले जानकारी दिए ।
“नवलपुर गण्डकी प्रदेशको कान्छो जिल्ला भए पनि कृषि तथा उद्योगको क्षेत्रमा अग्रणी रहेको छ”, कँडेलले भने, “यस महोत्सवले यहाँको कृषि उपजलाई प्रवर्द्धन गर्न सघाउँदै किसान र उद्यमीको हौसला वृद्धि गरेको छ । साथै पर्यटन प्रवर्द्धनमा पनिसुहयोग पुगेको विश्वास लिएका छौँ ।”
महोत्सवका क्रममा कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले किसानले उत्पादन गरेका बन्दा, गाँजर, मूला, काउली, ब्रोकाउली, भेँडे खुर्सानीसहितका कृषि उपजको निःशुल्क प्रदर्शन गरिएको सङ्घका अध्यक्ष एवं महोत्सवका संरक्षक दीपक सापकोटाले बताए । महोत्सवमा औद्योगिक उत्पादनसँगै अटो, रेष्टुरेन्ट, घरायसी र उपभोग्य वस्तुगरी २५० स्टल (कक्ष) तथा बाल उद्यान र जलपरी सो राखिएको उनको भनाइ छ ।
महोत्सवमा स्थानीय अदुवाको जामको प्रचारप्रसार र प्रवर्द्धन गर्नेगरी प्रदर्शनीमा राखिएको भन्दै सापकोटाले यसले नवलपुरको उत्पादनलाई पहिचान बनाउन मद्दत पुगेको विश्वास व्यक्त गरे । महोत्सव उद्घाटनका दिन आयोजित शोभायात्रामा सहभागीमध्ये उत्कृष्ट १७ समूहलाई समापनका क्रममा आज पुरस्कृत गरिएको महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।
उनका अनुसार विभिन्न धार्मिक, शैक्षिक, सामाजिक सङ्घ संस्था तथा खेलकुद, सामुदायिक वनलगायत पालिकामा क्रियाशील ३५० भन्दा बढी समूहको सहभागिता रहेको शोभायात्रामा सहभागीमध्ये १४ जनालाई सान्त्वना पुरस्कार तथा तीन समूहलाई पहिलो, दोस्रो र तेस्रो गरी पुरस्कृत गरिएको छ ।
महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय कला र संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय भजन प्रतियोगिता आयोजना गरिएको थियो । महोत्सव समापनका क्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले महोत्सवले गैँडाकोटको मात्रै नभई समग्र जिल्लाको धार्मिक, पर्यटकीय गतिविधि बढाएको बताए ।
स्थानीयस्तरमा हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्दै रोजगारी र उत्पादन वृद्धिमा सघाउ पुर्याउने उनले विश्वास व्यक्त गरे । महोत्सवमा हरेक दिन ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा साङ्गीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण