मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

इन्द्रसरोवरले ल्यायो ४२ करोड भन्दा बढीको बजेट

मङ्गलबार, ०९ असार २०८३, १६ : १२
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड २ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
  • पर्यटन, कृषि, पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा राखी 'सुखी र समृद्ध इन्द्रसरोवर' निर्माणको लक्ष्यसहित बजेट प्रस्तुत गरिएको छ ।
  • बजेटमा होमस्टे प्रवर्द्धन, कृषि उपजको भण्डारण, सडक स्तरोन्नति, डिजिटल सेवा विस्तार, स्वास्थ्य शिविर र क्षमता विकासका कार्यक्रमलाई समेटिएको छ ।

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । मंगलबार इन्द्रसरोवर गाउँपालिकाको १७ औँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि कुल ४२ करोड २ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष उमा लामाले उक्त बजेट प्रस्तुत गरेकी थिइन्। गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

‘सुखी र समृद्ध इन्द्रसरोवर’ निर्माणको लक्ष्यसहित इन्द्रसरोवरले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन, कृषि, पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ । नेपालकै ठुलो मानव निर्मित ताल (कुलेखानी जलाशय) लाई केन्द्रमा राखेर गाउँपालिकाले पर्यटनलाई आर्थिक विकासको मुख्य आधार बनाएको गाउँपालिका अध्यक्ष्य देवकृष्ण पुडासैनीले बताए। बजेटमा होमस्टे प्रवर्द्धन, पर्यटकीय पदमार्ग निर्माण र काठमाडौँ तथा हेटौँडाबाट पर्यटक आकर्षित गर्न विशेष प्याकेजहरू घोषणा गरिएको उनले बताए ।

मार्खु तथा ऐतिहासिक र धार्मिक क्षेत्रको संरक्षणलाई इन्द्रसराेवरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले समेटेको उनले बताए । उनका अनुसार तरकारी खेती र मत्स्यपालनको उच्च सम्भावना रहेकाले बेमौसमी तरकारी र फलफूल खेतीलाई प्रोत्साहन गर्न ‘पकेट क्षेत्र’ निर्धारण गर्ने योजना अघि सारिएको छ ।

उत्पादित कृषि उपजको उचित भण्डारण र मूल्य सुनिश्चित गर्न प्रदेश सरकारसँगको साझेदारीमा शीतभण्डार र सङ्कलन केन्द्र स्थापना गर्ने रहेको उनको भनाइ छ । 

काठमाडौँ जोड्ने छोटो दुरीका सडकहरूको स्तरोन्नतिलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि सारेको छ । कुलेखानी–फाखेल–फर्पिङ र सिस्नेरी–छैमले सडक खण्डलाई बाह्रै महिना सुचारु राख्न पहिरो नियन्त्रण र सडक मर्मतमा प्रदेश र सङ्घ सरकारसँग समन्वय गर्ने, प्रत्येक वडा र बस्तीलाई मुख्य सडकसँग जोड्ने कृषि सडकहरूको पनि स्तरोन्नति गर्ने लक्ष्य रहेको उनले बताए ।

सूचना, सञ्चार र प्रविधिलाई आत्मसात् गर्दै गाउँपालिकाले प्रशासनिक सेवालाई चुस्त बनाउने घोषणा गरेको छ । सबै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने र अनलाइनमार्फत कर तिर्न सकिने प्रणाली लागू गर्ने योजना गाउँपालिकाको रहेको छ। सुरक्षाका लागि पर्यटकीय र प्रशासनिक क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्ने, सामुदायिक विद्यालयमा डिजिटल सिकाइ र प्राविधिक शिक्षामा लगानी वृद्धि गर्ने नीति गाउँपालिकाले लिइएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रयोगशाला सेवा विस्तार र विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, दलित, जनजाति र महिलाको क्षमता विकासका लागि सीपमूलक तालिम, जलाशय क्षेत्रमा गेग्रान जम्मा हुनबाट रोक्न वृक्षारोपण र बायो–इन्जिनियरिङ जस्ता कार्यक्रम गाउँपालिकाले प्राथमिकतामा राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप