सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

‘विद्यार्थी हुँ’ भन्दाभन्दै जेनजी प्रदर्शनमा गोली खाएकी एकताको कथा (तस्बिरहरू)

मङ्गलबार, १३ माघ २०८२, १० : २१
मङ्गलबार, १३ माघ २०८२

काठमाडौँ । देशभर अहिले चुनावी माहोल छ। दल र उम्मेदवारहरू आआफ्नो रणनीति बनाउन व्यस्त छन्। आजकै दिन १८ वर्ष पुगेकी भक्तपुरकी एकता साहलाई भने यस्ता कुराले छोएको छैन। भलै उनी जस्तै युवाले गर्दा आज देशमा चुनावी तयारी चलिरहेको छ । 

चिकित्सक बन्ने सपनामा अघि बढेकी एकताको भाद्र २३ गते बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा खुट्टामा गोली लागेको थियो। अहिले उनी अलिअलि हिँड्न सक्छिन् तर उनको खुट्टा पूर्ण रूपमा ठिक हुने या नहुने यकिन छैन। अझै खुट्टाको अपरेसन बाँकी नै छ। 

Ektaa Shah  (2)

गोली लागेर घाइते भएकी एकतालाई भेट्न न त कुनै जेनजी अगुवा पुगेका छन् न त प्रधानमन्त्री, सांसद बन्ने होडमा रहेका नेताको त उनले नाक मुख नै देखेकी छैनन् । 

सबैको एजेन्डा देश बनाउने छ। तर जसले देश साँच्चिकै बन्नुपर्छ भन्दा गोली खाइन् उनलाई कसैले सोध्न आएको छैन – तिम्रो स्वास्थ्य कस्तो छ ?

Ektaa Shah  (4)

‘अब त टुपी कसेर पढ्ने हो – आइ लभ स्टडी –आइ क्यान डु डिस,’  एकता साहको कोठाभरी यस्तै सन्देश टाँसिएका छन्। पढ्न निकै रुचाउने उनले हातैले विभिन्न चित्रसहित शब्द कोरेर कोठा सजाएकी हुन्। तर, यही स्टडी रुममा एकता नपुगेको करिब ५ महिना हुन लाग्यो।

Ektaa Shah  (10)

कोठामा एकताका किताबहरू छरप्ष्ट छन्। भित्तामा गणितका फर्मुला र विज्ञानका महत्त्वपूर्ण कुरा स्टडीकी नोटमा लेखेर टाँसिएको छ। विद्यार्थी हुँदा उनी जहिलै अब्बल। किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उनको मन लाग्ने। त्यसैले कोठाभरी उनले पाएका पुरस्कार सजिएको छ। कोठामै झुण्डिएको छ उनी पढेको सैनिक आवासीय महाविद्यालयको क्यालेन्डर पनि। कक्षा १२ मा उनले ए प्लस ल्याएकी थिइन्। सोही क्यालेन्डरमा उनले त्यही पल सम्झिएर लेखेकी थिइन् – थ्यांक यु युनिभर्स !   

Ektaa Shah  (11)

अस्पतालको लामो बसाइँपछि खुट्टामा चोट लिएर घर पुगेकी उनमा छुट्टै आत्मविश्वास देखिन्छ । त्यसैले त हिँड्न नसक्ने अवस्थामा पनि उनले मनोबल बढाइन्, चिकित्सक बन्न पार गर्नुपर्ने सीईई परीक्षामा सहभागी भइन् र नामसमेत निकालिन्। 

Ektaa Shah  (6)

आमा बुनु शाहीले विज्ञान विषयका पुस्तक र नोट छोरीको खाटसँगै राखिदिएकी छन्। तर, एकतालाई अब पहिला झैं  ति किताबमा मन छैन।

एकतालाई लाग्दो हो, ‘खै यो खुट्टा ठिक हुने हो कि होइन।’ यस्तै प्रश्नले होला सायद एकताले तय गरेको शैक्षिक शिखर हासिल गर्न उनलाई अप्ठेरो लागिरहेको छ। तर, आमा बुनु भने छोरीको हिम्मत बनेर बसिरहेकी छन्। 

Ektaa Shah  (7)

तत्कालीन सरकारले केही सामाजिक संजालमाथि प्रतिबन्ध लगाएसँगै सूचनाको सहारा बनेको थियो टिकटक। त्यही टिकटकमा भाद्र २३ गते बानेश्वरमा भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने सूचना फैलियो। 

टिकटकभर नेपोबेबी ट्रेन्ड थियो। तिनै भिडियोले एकतालाई पनि बानेश्वरमा हुने प्रदर्शनमा जाउँ जाउँ बनायो। 

भाद्र २३ गते बिहानै एकता कलेज ड्रेस लगाएर तयार भइन्। घरमै भएको हेलमेट लगाइन् र पानीको बोतल बोकिन्। छोरीलाई रोक्न अभिभावकले प्रयास गरे तर एकता ‘हजुरहरूको पुस्ताले सहनु भयो हाम्रो पुस्ताले सहँदैन। म जान्छु’ भन्दै सरकारविरुद्ध हुने प्रदर्शनमा सहभागी हुनेमा दृढ थिइन्। बुबाले स्कुटरमा राखेर एकतालाई तीनकुनेसम्म छाडे। त्यसपछि एकता सरासर बानेश्वरतिर लम्किइन्। कलेज ड्रेस लगाएकी उनी चिच्याउन थालिन् – सरकारसँग जवाफ माग्न थालिन्। यसैबिच बानेश्वर तनावग्रस्त बन्यो। प्रहरीले अश्रुग्याँस र लाठीचार्ज गर्न थाल्यो। 

Ektaa Shah  (8)

एकताकै अगाडी एकजना विद्यार्थीलाई प्रहरीले लाठी हान्यो। एकतामाथि पनि बज्रियो लाठी। तर उनी डराइनन्। टाई देखाउँदै प्रहरीलाई उनले  भनिन् – म स्टुडेन्ट हुँ।

‘मलाई देखेर पछाडि सरेका मानिसहरू पनि अगाडी आए। सायद पुलिसलाई मैले नै त्यो भिडको नेतृत्व गरेको लाग्यो होला, अनि मलाई कहाँ छाड्थे र१’ उनले त्यो क्षण सम्झँदै भनिन्। 

होहल्लाबिच एक्कासि बानेश्वरमा गोली चल्यो। एकताको खुट्टामा दुईवटा गोली लाग्यो। उनलाई आसपासका मानिसले एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याए।

एकताले बोकेको ‘डम्ब फोन’मा बुबाको मिसकल आइरह्यो।

Ektaa Shah  (9)अस्पतालमा पुगेको केही घण्टापछि एकताले आफ्ना बुबाआमालाई फोन गर्न भनिन्। सँगै रहेका दाइहरूले खबर उनका अभिभावककोमा पुर्‍याए। 

एकताकी आमा बुनु भन्छिन् , ‘छोरीलाई गोली नै हान्नु पर्ने अवस्था थिएन।’

अहिले एकता भक्तपुरस्थित आफ्नै घरमा छिन्। तर उनको दैनिकी अहिले धेरै जसो एउटा कोठामै बित्छ। कहिलेकाहीँ कौसीमा निस्किन्छिन उनी। 

‘अस्पतालमा हुँदा त गाह्रै थियो। घर आएपछि यता हरियाली छ। यहाँ साथीहरू आउँछन्। उनीहरू हुँदा हौसला आउँछ। एक्लै बस्दा याद आउँछ( मलाई किन हान्यो भन्ने लग्छ। यो समय जान्छ भनेर भन्नु हुन्छ। त्यसले हौसला बढाउँछ।’

अहिले अलिअलि हिँड्न सक्ने भएकी छन् उनी। तर, खुट्टामा गोलीको चोट अझै छ। नशामै गोली लागेकोले अझै केही शल्यक्रिया बाँकी छ।

सुशीला कार्कीको सरकार बनेको थाहा पाएसँगै एकतालाई अब केही परिवर्तन होलाकी भन्ने आशा थियो। त्यसैले खुट्टामा गोली लागे पनि उनी जेनजी र सरकारबीच हुने सम्झौताका लागि सिंहदरबार पुगिन्। तर, उनलाई बाहिरै रोकियो। भित्र जान त्यहाँ रहेका अधिकारीहरुले समन्वय नै गरेनन्। मन्त्री र पहुँचवालाका गाडीहरु भने उनकै अघि सिंहदरबार छिरिरहेको थियो। त्यो बेला एकतालाई महसुस भयो – अहो१ पावर भनेको यस्तो हुने रहेछ। 

बल्लतल्ल प्रधानमन्त्री कार्यालय पुगिन् उनी। तर, त्यहाँ उल्टै जेनजीका विभिन्न समूहबिच वादविवाद भयो। एकता त्यहाँको अवस्था देखेर छक्क परिन्। 

Ektaa Shah  (12)

आमा बुनु भन्छिन्, ‘गोली मेरो छोरीले खाएको छ। हामी जस्तै धेरै जना घाइते छन्। कति जना मरेका छन्। तर जेनजी भनेर उनीहरू त्यहाँ झगडा गरिरहे। त्यहाँ जानुको अर्थ नै रहने नि। नानु दिक्का मान्छिन् जे गरे नि यस्तै हो भनेर अहिले।’

तर पनि एमबीबीएस सीइइमा नाम निकालेकी छोरीको हिम्मत कम हुन दिएकी छैनन् आमा बुनुले। एकतालाई अब चिकित्सक बन्ने बाटोमा अघि हिँड भनिरहेकी छन् उनी।

सरकारसँग भने उनको माग छ : छोरीले जे पढ्न चाहेकी हुन्। त्यो पढ्ने वातावरण सरकारले बनाओस्। छोरीको उपचारमा कमी नहोस् सरकार ले गरेको वाचा पुरा होस ।

Ektaa Shah  (13)एकता पनि भन्छिन्, ‘शिक्षा स्वास्थ्य र  रोजगार क्षेत्र राम्रो होस्। हामी फेरि त्यही अवस्थामा पुग्न नपरोस्। आफ्नो ज्यान फाल्न नपरोस। हाम्रो लागि यहीँ स्वर्ग बनोस्।‘

गएको वर्ष आजकै दिन एकताले ‘स्वीट सिक्टिन’लाई बिदाइ गरेकी थिइन्। घरमा साथीहरूसँग मिलेर जन्मदिन मनाएकी थिइन्। त्यसबेला १६ लेखेको बलुन अझै भुइँतल्लाको एकताको कोठामा छ।

प्रवीण रानाभाट र नेपाल फोटो लाइब्रेरी  

Ektaa Shah  (14)Ektaa Shah  (15)Ektaa Shah  (16)Ektaa Shah  (17)Ektaa Shah  (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप