शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सरकारको संरक्षणमा तिब्बती गतिविधि हुनु एक चीन नीतिमाथि ठाडो प्रहार हो : झलनाथ खनाल

बुधबार, २१ माघ २०८२, १० : २९
बुधबार, २१ माघ २०८२

सारांश

  • पूर्व प्रधानमन्त्री झलनाथ खनालले तिब्बती धर्मगुरुको नेपाल आगमनलाई कूटनीतिक रूपमा संवेदनशील भनेका छन्।
  • खनालले सरकारको संरक्षणमा भएको गतिविधिले चीन नीतिमाथि प्रहार भएको र नेपाल-चीन सम्बन्ध कमजोर भएको आरोप लगाए।
  • उनले यस्ता गतिविधिले राजनीतिक संकट निम्त्याउन सक्ने र चीनसँगको सम्बन्धमा असर पार्ने चेतावनी दिए।

काठमाडौँ । तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछेको नेपाल आगमन र काठमाडौँको बौद्धमा भइरहेको प्रवचनप्रति पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । 

मंगलबार नेपाली कम्युनिस्ट पार्टी, काठमाडौँ क्षेत्र नम्बर ८ अन्तर्गत वडा नम्बर –१५ को निर्वाचन परिचालन समिति सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै खनालले रिम्पोछेको नेपाल आगमन सामान्य धार्मिक गतिविधि मात्र नभई कूटनीतिक रूपमा संवेदनशील विषय भएको बताए । 

उनले सरकारकै संरक्षणमा यस्तो गतिविधि हुनुले नेपालको स्थापित एक चीन नीतिमाथि ठाडो प्रहार भएको टिप्पणी गर्दै यसले नेपाल–चीन सम्बन्धलाई इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुर्‍याएको आरोप लगाए ।

तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछे हाल काठमाडौँमा १० दिने बौद्ध धर्मसम्बन्धी प्रवचनमा सहभागी भइरहेका छन् । यही विषयलाई लिएर छिमेकी मित्रराष्ट्र चीनले कूटनीतिक असन्तुष्टि जनाएको चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री झलनाथ खनालको कडा प्रतिक्रिया आएको हो ।

‘यस्तो गैरजिम्मेवार रवैयाले नेपाल–चीन सम्बन्धलाई इतिहासकै तल्लो स्तरमा पुर्‍याएको छ’ खनालले भने, ‘यसको असर केवल कूटनीतिक सम्बन्धमा मात्र सीमित नरही देशमा थप राजनीतिक संकट निम्त्याउने खतरा छ ।’

खनालले नेपालको भूराजनीतिक संवेदनशीलता र छिमेकी राष्ट्रहरूसँगको सन्तुलित सम्बन्धलाई बेवास्ता गर्दै गरिने कुनै पनि गतिविधि राष्ट्रिय हितविपरीत हुने चेतावनी दिए ।

सरकारलाई उनले एक चीन नीतिप्रति स्पष्ट, दृढ र व्यवहारिक प्रतिबद्धता देखाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप