बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतको अनौठो रेलवे स्टेशन, जहाँ वर्षमा १५ दिनमात्र यात्रीले पाउँछन् सेवा, यस्तो छ कारण

मङ्गलबार, २७ माघ २०८२, १८ : २९
मङ्गलबार, २७ माघ २०८२

काठमाडौँ । भारतीय रेलवे सञ्जाल देशव्यापी रूपमा विस्तार भएको छ, जहाँ दैनिक लाखौँ यात्रीले सेवा लिने गर्दछन् । तर भारतको एउटा रेलवे स्टेशन यस्तो छ, जहाँ वर्षमा १५ दिनमात्र यात्रीले सेवा पाउँछन् ।

बिहार राज्यको औरंगाबाद जिल्लामा रहेको अनुग्रह नारायण रोड घाट स्टेशन वर्षमा करिब ३५० दिन बन्द रहन्छ । यहाँ सोह्र श्राद्ध (पितृ पक्ष) भरमात्र यात्रीले सेवा पाउँछन् । त्यस बाहेकका दिनमा भने यो स्टेशनमा न यात्रीले रेल चढ्न पाउँछन्, न त उत्रिन । अर्थात् सोह्र श्राद्ध बाहेकका दिनमा यहाँ कुनै पनि रेल रोकिँदैन ।

अनुग्रह नारायण रोड घाट स्टेशन वर्षको अधिकांश दिन बन्द रहँदा यस क्षेत्र आसपासका यात्रीले यस स्टेशनबाट करिब डेढ किलोमिटरको दुरीमा उस्तै नाम रहेको अर्को स्टेशन ‘अनुग्रह नारायण रोड स्टेशन’बाट रेल सेवा लिने गर्दछन् ।

अनुग्रह नारायण रोड घाट स्टेशन पुनपुन नदीको घाट नजिकै छ । यो घाट पितृ पक्षका क्रममा हिन्दु धर्मावलम्बीका लागि आफ्ना पितृलाई तर्पण गर्न र पिण्डदान गर्न पवित्र मानिन्छ । यहाँ सोह्र श्राद्धका अवसरमा दैनिक हजारौँ यात्री पुग्ने गर्दछन् ।

भारतको रेलवे विभागले विशेष आदेश जारी गर्दै सोह्र श्राद्धका लागि यो स्टेशनमा रेल रोक्ने व्यवस्था गरेको हुन्छ । सोह्र श्राद्ध समाप्त भएपछि भने यो रेलवे स्टेशन सुनसान हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप