फेरियो नेकपाको चुनावी रणनीति, ५६ क्षेत्र उच्च प्राथमिकता
सारांश
- नेकपाले यसपटक ठूला चुनावी सभाको सट्टा घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएको छ।
- प्रवक्ताका अनुसार, नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएकोमा ५६ क्षेत्रमा जित्ने दाबी गरेको छ।
- पार्टीले बागमती, कर्णाली, लुम्बिनी प्रदेशमा राम्रो स्थिति रहेको र अन्य प्रदेशमा सुधार हुँदै गएको जनाएको छ।
काठमाडौँ । अघिल्लो निर्वाचनमा परम्परागत शैली अपनाउँदै ठुलठुला चुनावी सभा गर्दै आएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यो पटक घरदैलो कार्यक्रमलाई जोड दिएको छ ।
निर्वाचन आयोगले प्रचारप्रसारका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म समय दिएको छ । तर यो पटक नेकपाले ठुलठुला आमसभा गर्नेभन्दा पनि कोणसभा, अन्तर्क्रिया, घरदैलो, विचार गोष्ठीलाई प्राथमिकता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘यो पटक हाम्रो धेरै ठुला आमसभा गर्ने योजना छैन । आवश्यकता अनुसार परम्परागत शैली पनि अपनाउँछौँ तर विशेष जोड घरदैलो कार्यक्रमलाई दिएको छ । यी बाहेक कोष सभा, अन्तर्क्रिया, विचार गोष्ठीलाई बढी जोड दिएका छौँ’, रातोपाटीसँग सापकोटाले भने ।
पूर्वप्रधानमन्त्री तथा पूर्वी रुकुमका उम्मेदवार आठ दिन घरदैलो कार्यक्रम सम्पन्न गरेर बिहीबार काठमाडौँ फर्किएका छन् । प्रचारप्रसारका लागि करिब १० दिन बाँकी रहँदा देशव्यापी चुनावी सभामा जाने कार्यतालिका नबनेको सापकोटाले जानकारी दिए ।
‘संयोजक चुनावी घरदैलो कार्यक्रम सकेर हिजो काठमाडौँ फर्किनुभएको छ । ठुला चुनावी सभा गर्नेबारे पार्टीले अहिलेसम्म कुनै कार्यतालिका बनाएको छैन । स्थानीय आवश्यकता अनुसार कुनै ठाउँमा सभा गर्नुपर्ने हुनसक्छ’, उनले भने ।
यसैगरी सापकोटाले यो पटक नेकपाको स्थिति बलियो बन्दै गएको दाबी गरेका छन् । १२ वर्षपछि एक्लै निर्वाचनमा होमिएको नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ । तीमध्ये ५६ क्षेत्रमा जित्ने उनले दाबी गरे ।
‘हामीले तीनवटा क्याटागोरी बनाएर चुनावी विश्लेषण गरेका छौँ । विभिन्न रिपोर्ट र स्थानीय पार्टी कमिटीले दिएको रिपोर्टिङ अनुसार ५६ सिट जित्ने सुनिश्चित देखिएको छ । ६६ क्षेत्रमा सम्भावना देखिन्छ । अन्य क्षेत्र सामान्य देखिएको छ’, सापकोटाको दाबी छ । उनले पार्टीले जित्ने क्षेत्र भने खुलाउन चाहेनन् ।
जित्ने ५६ स्थानलाई नै बढी जोड दिएर चुनावी गतिविधि बढाइरहेको उनले बताए । सापकोटाको अनुसार बागमती, कर्णाली, लुम्बिनी प्रदेशमा स्थिति राम्रो रहेको छ । सुदूरपश्चिम, मधेसश र कोशी प्रदेशमा पहिलाको तुलनामा सुधार हुँदै गएको र गण्डकीमा स्थिति सामान्य रहेको उनको विश्लेषण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण