सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

तातोपानी–८ का आगलागी पीडित परिवारलाई राहत

शनिबार, ०९ फागुन २०८२, २० : ५५
शनिबार, ०९ फागुन २०८२

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–८, बङ्तडी गाउँका आगलागी पीडितलाई राहत सहयोग प्रदान गरिएको छ । आगलागीबाट सम्पूर्ण क्षति बेहोरेका एक परिवारका सदस्यलाई तत्कालको समस्या समाधान गर्न गाउँपालिकाले राहत उपलब्ध गराएको हो । 

बङ्तडीका आगलागी पीडित सन्देश कुमार शाहीको परिवारलाई राहत सहयोग गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले जानकारी दिए । 

उनका अनुसार, दैनिक छाक टार्ने सम्मका वस्तु नजोगिएका पीडितलाई पहिलो आवश्यकता गाँस, बास र कपासका लागि सामग्री प्रदान गरिएको उनले जानकारी दिए । 

राहतस्वरूप चामल, पीठो, चिउरा, तेल, पाल, मसला, कम्बल, बाल्टिन र पीडित परिवारका सदस्यलाई लगाउने लत्ताकपडा जग लगायतका सामग्री सहयोग गरिएको अध्यक्ष चौलागाईले जानकारी दिए । साथै खाना पकाउने ग्यास समेत सहयोग गरिएको छ । 

बिहीबार राति करिब १० बजेतिर घरमा आगो लागेको थियो । उक्त समयमा घरमा कोही पनि नभएकाले मानवीय क्षति भने हुन नपाएको शाहीको भनाइ छ । आगलागीबाट तीन तले नौ कोठे घर पूर्ण रूपमा ध्वस्त भएको थियो । 

तर घरभित्र रहेका लत्ताकपडा, गरगहना तथा नगद रकमसमेत जलेको परिवारले जनाएको छ । शाहीका बुबा दिलबहादुर शाही जडीबुटी व्यापारी भएकाले घरमा नगद रकम पनि रहेको र सो समेत जलेको हुन सक्ने अनुमान गरिएको छ ।

राति करिब १० बजेबाट सुरु भएको आगो शुक्रबार बिहान करिब ५ः३० बजेतिर नियन्त्रणमा आएको थियो । स्थानीयवासी र प्रहरी चौकी टोप्लाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप