शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बालेन शैली

बालेनको भोट माग्ने तरिकाः ‘ससुराली यहीँ छ नि’

टोल–टोलमा घेरिए सर्वसारणबाट, ‘नबिर्सिनु नि’ भन्दै हिँडे
सोमबार, ११ फागुन २०८२, २० : ३०
सोमबार, ११ फागुन २०८२

सारांश

  • झापा-५ का उम्मेदवार बालेन शाहले मतदातासँग भावनात्मक सम्बन्ध स्थापित गर्दै 'ससुराली यहीँ छ' भन्दै प्रचार गरिरहेका छन्।
  • उनले मतदाताका समस्या सुन्दै, बाटो बनाइदिन र विदेश पलायन रोक्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
  • एमालेको गढ मानिने झापा-५ मा बालेनको उपस्थितिले स्थानीयमा आशा जगाएको छ, उनलाई ठुलो माया र चुनौती दुवै छ।

विराटनगर । झापा–५ का उम्मेदवार बालेन्द्र शाहले अहिले चुनाव प्रचार गर्ने अर्को काइदा भेटेका छन् । मतदातामाझ पुग्दा उनले भन्न थालेका छन्– ‘ससुराली यहीँ छ नि ।’ 

आफ्नो निर्वाचन क्षेत्रका ठाउँ–ठाउँमा घरदैलोमा व्यस्त उनले मतदातासँग भावनात्मक सम्बन्ध जोड्न खोजिरहेका छन् । पत्नी सबिना काफ्लेको माइती अर्थात् बालेनको ससुराली मोरङको उर्लाबारी हो । उनले आफूलाई यस ठाउँको ज्वाइँ भन्दै चिनाउन थालेका छन् । 

सुट–पेन्ट र चस्मामा सजिएर सुरक्षाकर्मी र समर्थकहरूको घेराबिच झापाका साँघुरा गल्ली र बस्तीहरूमा हिँडिरहन्छन् बालेन । उनी आउने खबर पाएपछि टोलका मानिसहरू सडकमा ओर्लिन्छन् । कोही घरको छतबाटै हेछन् भने कोही फूलमाला लिएर उनको सामुन्ने पुग्छन् । 

balen-jhapa4

सोमबार एक वृद्धले बालेनलाई देख्नेबित्तिकै हात जोडेर भने, ‘बालेन बाबु, आराम हुनुहुन्छ ?’ बालेनले पनि अत्यन्तै विनम्रताका साथ टाउको झुकाएर अभिवादन फर्काए । एक स्थानीयले बालेनसँग हात मिलाउँदै भने, ‘हामीलाई चिनिराख्नु है, फेरि बिर्सिने होइन नि ! आज भेट्ने भोलि बिर्सिने नगरिदिनुहोला ।’ बालेनले मुस्कुराउँदै उनलाई आश्वस्त पारे, ‘मेरो ससुराली यहीँ हो नि ।’

त्यहाँको दृश्य हेर्दा लाग्थ्यो, उनी पहिलो पटक भोट माग्न गएका हैनन्, त्यहीँका रैथाने हुन्, तर लामो समयपछि घर फर्किएका हुन् । 

महिलाहरूले बालेनलाई फूलका गुच्छा र मालाले स्वागत गर्दा उनी भावुक देखिन्थे । बालबालिकादेखि वृद्धवृद्धासम्म बालेनसँग सेल्फी खिच्न र उनीसँग हात मिलाउन तछाडमछाड गरिरहेका थिए । 

एक अधबैंसे महिलाले गाडीको झ्यालबाट बालेनको अनुहार छाम्दै र गाला सुम्सुम्याउँदै निकै भावुक भएर कुरा गर्छिन् । उनले रुन्चे स्वरमा भनिन्, ‘बाबु, मेरो बाबु ! तिमी जोगिएर हिँड्नु है । तिमीलाई कसैले केही नगरोस् ।’

balen-jhapa3

ती महिलाले राजनीतिक आक्रोश पनि व्यक्त गर्छिन् । उनले एमालेप्रति लक्षित गर्दै भन्छिन्, ‘यिनीहरूले कस्तो गरे, कति दुःख दिए, हामीले बुझेका छौँ । अब तिमीले केही गर्नुपर्छ बाबु ।’ बालेनले ती आमाका कुरा ध्यानपूर्वक सुन्छन् र हात जोडेर सहमति जनाउँछन् । यो दृश्यले जनता परम्परागत राजनीतिक दलहरूसँग कतिसम्म आजित छन् र उनीहरूले बालेनजस्ता नयाँ अनुहारमा कति ठुलो आशा राखेका छन् भन्ने बुझाउँछ ।
अर्का एक वृद्धले बालेनलाई बाटोको समस्या सुनाउँछन् । धुलोले गर्दा बस्न नसकिएको गुनासो गर्दै उनले भने, ‘हामीले धुलो मात्रै खायौँ बाबु, बाटो बनाइदेऊ ।’ काठमाडौँमा बालेनले गरेका कामहरूको चर्चा झापाका गाउँसम्म पुगिसकेकाले स्थानीय आफ्ना समस्या उनलाई खोजिरहेका थिए । 

चुनाव प्रचारकै क्रममा बालेन एक मन्दिरमा पुग्छन् । त्यहाँ उनलाई हेर्न मानिसहरूको ठुलो भिड थियो । मन्दिरको घन्टी बजाउँदै समर्थकहरूले ‘बालेन शाह जिन्दावाद’का नारा लगाए । मानिसहरूले उनलाई फूलको वर्षा गरे, कतिपयले त उनलाई काँधमा उठाउनसमेत खोजे । 

झापामा सुकुमबासी र जग्गाधनी पुर्जाको ठुलो समस्या छ । केही स्थानीयले बालेनलाई आफ्नो जग्गाको धनीपुर्जा अर्कैले लगिदिएको र आफूहरू सुकुमबासी बन्नुपरेको पीडा सुनाए । उनीहरूले भने, ‘हामीले ४८ सालदेखि भोट हाल्दै आयौँ तर कसैले केही गरेन, अब हाम्रो आशा तिमी मात्रै हौ ।’

balen-jhapa5

धेरै नबोल्ने बालेनले धेरैका कुरा सुने । 

अर्को एक दृश्यमा केही महिला बालेनसँग कुरा गर्दै आफ्ना छोराछोरी बिदेसिनुपरेको बाध्यता सुनाइरहेका थिए । ‘छोराछोरी पढाएर पनि देशमा काम छैन, सबै विदेश जानुपरेको छ । अब देशमै रोजगारी पाउने वातावरण बनाइदिनुपर्‍यो,’ उनीहरूको आग्रह थियो । बालेनले युवाको प्रतिनिधित्व गर्ने भएकाले पनि देशमा केही परिवर्तन हुन्छ कि भन्ने झिनो भए पनि आशा उनीहरूमा थियो । 

एमालेको किल्ला मानिने झापा–५ मा बालेनको यो उपस्थितिले सबैलाई झस्काएको छ । फूलमाला र आशीर्वादले थिचिएका बालेनका लागि यो माया जति ठुलो छ, त्यति नै चुनौती पनि । मतदाताले उनीमाथि विश्वास गरिरहेको देखिएको छ । 

balen-jhapa2balen-jhapa1
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप