अनुभवी र बलिया प्रतिस्पर्धीसँग भिडिरहेकी एमालेकी जेनजी उम्मेदवार
सारांश
- पर्सा-२ मा एमालेले २९ वर्षीया रिमा कुमारी यादवलाई उम्मेदवार बनाएको छ, तर उनको चुनावी अभियान कमजोर देखिन्छ।
- रिमाको उम्मेदवारी जातीय समीकरण र पारिवारिक प्रभावमा आधारित रहेको र उनले चुनावी सभाहरूमा स्पष्ट एजेन्डा प्रस्तुत गर्न सकेकी छैनन्।
- कांग्रेसका अजय चौरासिया, रास्वपाका सुशील कुमार कानु र एमालेकी रिमा यादवबीच प्रतिस्पर्धा हुँदैछ, जसमा मतदाता विकास र सुशासन चाहन्छन्।
वीरगञ्ज । मधेस प्रदेशको आर्थिक राजधानी वीरगञ्ज महानगरपालिकाका अधिकांश वडा र ग्रामीण भेगका नगरपालिकाहरू समेटिएको पर्सा– २ पनि यो निर्वाचनमा चर्चामा छ । यहाँ एमालेले २९ वर्षीया रिमा कुमारी यादवलाई जेनजी उम्मेदवारका रूपमा उठाएको छ । रिमाको चुनावी अभियान र उनको प्रभावका विषयमा रातोपाटीले स्थलगत विश्लेषण गरेको छ ।
एमालेको रणनीति र रिमाको उम्मेदवारी
एमालेले यस पटक नयाँ र युवा अनुहारलाई प्राथमिकता दिएको दाबी गर्दै रिमालाई अघि सारेको हो । उनलाई जिताउन एमालेका केन्द्रीय स्तरका प्रभावशाली नेताहरू नै मैदानमा ओर्लिएका छन् । सोमबार बहुदरामाई नगरपालिकाको डोकैलामा आयोजित चुनावी सभामा रामकुमारी झाँक्री र छिमेकी जिल्ला बारा–४ का उम्मेदवार किसान श्रेष्ठको उपस्थितिमा रिमालाई भोट माग्दै थिए ।
रिमा स्वयंले आफूलाई नयाँ पुस्ताको प्रतिनिधि र परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्दै थिइन् । बीएड अध्ययन गरेकी रिमाको उम्मेदवारीको मुख्य आधार उनको राजनीतिक पृष्ठभूमिभन्दा पनि जातीय समीकरण र पारिवारिक प्रभाव बढी हो । यो क्षेत्रमा यादव समुदायको बाहुल्य रहनु र उनका श्रीमान् स्थानीयस्तरमा एक चतुर वकिलका रूपमा परिचित हुनु नै उनको टिकट प्राप्तिको मुख्य कडी भएको बुझ्नुपर्ने स्थानीय कार्यकर्ताहरूको विश्लेषण छ ।
तर पार्टीले ठुलो भरोसा गरे पनि चुनावी मैदानमा रिमाको व्यक्तिगत उपस्थिति र प्रस्तुति भने अपेक्षाकृत छैन । चुनावी सभाहरूमा उनी आफ्ना एजेन्डा र राजनीतिक भिजनबारे स्पष्ट हुन सकेकी छैनन् । स्थानीयले सोधेका विकास र सुशासन सम्बन्धी प्रश्नहरूको जवाफ रिमा आफैँले दिनुको सट्टा पार्टीका नेता वा उनका श्रीमानले दिने गरेको दृश्यले उनको राजनीतिक परिपक्वतामाथि प्रश्न उठाएको छ ।
एमालेकै कतिपय कार्यकर्ताहरू रिमाको व्यक्तिगत ‘पर्सनालिटी’ अझै विकास हुन नसकेको स्वीकार गर्छन् । सार्वजनिक भाषण र चुनावी अभियानको एकल नेतृत्वमा उनी कमजोर देखिँदा प्रतिस्पर्धीहरूलाई फाइदा पुग्ने देखिन्छ । यसअघि कहिल्यै राजनीतिक अभियानमा नदेखिएका कारण पनि उनी नयाँ परिवेशमा घुलमिल हुन संघर्ष गरिरहेको पार्टीकै नेताहरु बताउँछन् ।
आन्तरिक व्यवस्थापन र सांगठानिक संकट
पर्सा–२ मा एमालेको आन्तरिक व्यवस्थापन पनि चुनौतीपूर्ण देखिएको छ । सुरुमा यो क्षेत्रबाट वीरगञ्जका पूर्व मेयर विजय सरावगीले टिकट पाए पनि उनले अनिच्छा देखाएपछि मात्र रिमाले अवसर पाएको चर्चा छ । एमाले सांगठनिक रूपमा ठिकै मानिए पनि रिमाका सभाहरूमा देखिएको न्यून उपस्थिति र स्थानीय नेताहरूको उत्साहहीन सहभागिताले पार्टीभित्रको असन्तुष्टिलाई संकेत गर्छ । डोकैलाको सभामा देखिएको पातलो उपस्थिति र स्थानीय नेताहरूले केन्द्रीय नेताभन्दा स्थानीय अनुहारकै भर पर्नुपर्ने सुझाव दिनुले एमालेका लागि यो लडाइँ सहज नरहेको स्पष्ट हुन्छ ।
अनुभवी र बलिया प्रतिस्पर्धी
रिमा यादवका सामुन्ने निकै अनुभवी र प्रभावशाली प्रतिस्पर्धीहरू मैदानमा छन् । नेपाली कांग्रेसबाट पुराना नेता अजय चौरासिया उम्मेदवार छन्, जसको यस क्षेत्रमा पुरानो र बलियो पकड छ । कांग्रेसमा गगन थापाको नेतृत्वदायी भूमिकापछि युवा पुस्तामा बढेको आकर्षण र चौरासियाको पूर्व मन्त्रीको छविले उनलाई थप बलियो बनाएको छ । पर्सा कांग्रेसभित्र देखिएको पछिल्लो एकता र यस क्षेत्रलाई कांग्रेसको परम्परागत गढ मानिने हुनाले चौरासियाको पक्षमा सकारात्मक माहोल देखिन्छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुशील कुमार कानुको उम्मेदवारीले समीकरणलाई अझ रोचक बनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को वडाध्यक्ष पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका कानुको स्थानीय स्तरमा राम्रो जनसम्पर्क छ । वडाध्यक्ष हुँदा खानेपानीको समस्या समाधानमा उनले गरेको कामको अहिले पनि चर्चा हुने गर्छ । मधेसमा पछिल्लो समय बढेको ‘घण्टी’को लहरले गर्दा उनले जातिगत मतका साथै विकासप्रेमी युवाहरूको मत पनि उल्लेख्य रूपमा तान्न सक्ने आकलन गरिएको छ ।
तथ्यांक र चुनावी सम्भावना
२०७९ को निर्वाचनको समानुपातिक मत परिणामलाई हेर्दा यहाँ नेपाली कांग्रेस सबैभन्दा बलियो देखिन्छ । कांग्रेसले १८,७६९ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी (जसपा) ले १२,२६९ मत पाएको थियो । एमाले भने ६,५३३ मतका साथ तेस्रो स्थानमा सीमित थियो । यद्यपि, अहिले जसपाका प्रभावशाली नेता प्रदीप यादव र मेयर राजेशमान सिंह एमालेमा प्रवेश गरेकाले एमालेको शक्ति बढेको दाबी गरिएको छ । तर नेताहरूको दल बदलको लाभ उम्मेदवार रिमा यादवले कति पाउँछिन् भन्ने कुरा अझै अन्योलमै छ ।
स्थानीय उद्यमी भरत साहका अनुसार, पर्सा–२ का मतदाताहरू अहिले ठोस विकास र सुशासनको पर्खाइमा छन् । ‘यहाँ एजेन्डा र उम्मेदवारको क्षमता दुवैलाई मसिनो गरी हेरिन्छ । जसले भौतिक विकास र सुशासनमा विश्वास दिलाउन सक्छ, उसैको पल्ला भारी हुन्छ,’ उनी भन्छन् ।
मधेसी, पहाडी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा मतदाता रिझाउन उम्मेदवारको योग्यता र डेलिभरी गर्ने सामथ्र्य नै प्रमुख आधार बन्ने देखिन्छ । रिमा यादवले आफूलाई ‘जेनजी’ उम्मेदवारका रूपमा प्रस्तुत गरे पनि स्थानीय समस्याप्रतिको उनको बुझाइ र राजनीतिक अनुभवको कमीले मतदातालाई पूर्ण रूपमा आश्वस्त पार्न सकेको छैन ।
त्रिपक्षीय भिडन्त
पर्सा–२ को चुनावी मैदान यतिबेला त्रिकोणात्मक भिडन्तको संघारमा छ । अजय चौरासियाको राजनीतिक विरासत र कांग्रेसको संगठन, सुशील कानुको स्थानीय लोकप्रियता र रास्वपाको क्रेज, तथा रिमा यादवका पछाडि रहेको एमालेको सांगठनिक शक्ति र नयाँ नेताहरूको साथबीचको यो प्रतिस्पर्धा निकै रोमाञ्चक हुने देखिन्छ । यदि रिमाले व्यक्तिगत रूपमा आफूलाई बलियो सावित गर्न सकिनन् भने केवल जातीय मत र पार्टीको संगठनका भरमा मात्रै जित हासिल गर्नु उनका लागि फलामको चिउरा चपाउनुसरह हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण