इटहरीमा रास्वपाको सभा : पुरानै ढर्रामा देखिए रवि, बालेनले देखाए सम्भावना
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार सुनसरीको इटहरी १७ पकलीमा कोशी प्रदेशस्तरीय चुनावी सभा गर्यो । ‘हामी आयौंः परिवर्तन उद्घोष सभा’ नाम दिइएको सभामा आउन भने पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई निर्धारित समयभन्दा ३ घण्टा ढिला भयो ।
बिहान साढे ११ बजेदेखि नै सुरु भएको कार्यक्रमस्थलमा रवि र बालेन भने ३ बजेतिर पुगेका थिए ।
रवि र बालेन सभास्थल पुग्नै लाग्दा गायक प्रकाश सपुतले कन्सर्टमा जस्तो केहीबेर रास्वपाका समर्थक तथा कार्यकर्तालाई नचाए । त्यसअघि तेह्रथुम, धनकुटा, इलामदेखि उदयपुरसम्मका उम्मेदवारले गतिलो मन्तव्य दिएनन् । त्यस्ता भाषणहरू सुन्दा सुन्दा वाक्क भएर परिवर्तन गर्न भन्दै दौडिएको रास्वपाको शैली र तरिका उही देख्दा कतिपय दिक्क मानिरहेका थिए । बरु, सभामा सहभागी भएकाहरू रवि र बालेन आउँदासम्म अगाडिको गेटमै उनीहरूलाई स्वागत गर्न भन्दै भिड लागिरहयो । अन्तिममा रवि र बालेन पछाडिपट्टिबाट मञ्चमा उभिएर स्वागत गर्दा अगाडिको अन्तिम गेटमा भेला भएका समर्थकहरू हिस्स परेका थिए । कार्यक्रममा युवा, युवतीदेखि वृद्धवृद्धाहरूको पनि उल्लेख्य उपस्थिति थियो । कतिपय महिलाहरू साना बच्चा च्यापेर पनि रवि र बालेन हेर्न आइपुगेका थिए ।

रवि बालेनले के भने ?
सभामा रास्वपा सभापति लामिछानेले पार्टीप्रति उठेको आलोचनालाई मत्थर पार्ने प्रयास गरे । वरिष्ठ नेता बालेन शाहले भने डेलिभरीको अवधारणा बताउँदै उनले गफमा होइन, काममा केन्द्रित हुनुपर्ने सन्देश दिए ।
यसअघि सुदूरपश्चिमको धनगढीमा आयोजित सभामा 'विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारहरूलाई रूखमा बाँधेर भए पनि काम लगाउनुपर्ने' भन्दै बालेन शाहले दिएको आक्रामक टिप्पणीलाई रवि लामिछानेले बचाउ गरे । बालेनको मन्तव्यलाई कांग्रेस सभापति गगन थापाले 'रूखमा बाँध्ने नभई कानुन सुधार गरेर काम गर्नुपर्ने' कटाक्ष गरेका थिए । निर्माण व्यवसायी महासंघले त बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरेका थिए ।
_MY22ANE1MI.jpg)
रविले भने त्यसलाई रफु भर्ने प्रयास गरे । ‘निर्माण व्यवसायी साथीहरूलाई विज्ञप्ति निकाल्न पर्दैन । अब ठुला–ठुला उपकरण कसरी खरिद गर्ने र रातारात कसरी विकास गर्ने भन्नेतिर लाग्नुस् । देश अब विकासको बाटोमा जान्छ,’ उनले भने, ‘हामीले बाँधेर काम लगाउँछौँ भनेको कानुनले बाँधेर काम लगाउने भनेको हो ।’ लामिछानेले गगन थापाप्रति लक्षित गर्दै व्यंग्य कस्दै भने, ‘२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटो बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तिनलाई ? तपाईंको ज्ञान तपाईंसँगै राख्नुस् ।’
रवि लामिछानेले आफ्नो मन्तव्यको सुरुवात नै अबको राजनीति गफको खेती नभएको दाबीबाट गरे । उनले भने, ‘अब बोल्ने दिनभन्दा काम गर्ने दिन नजिक आउँदै छ । त्यसकारण अब मैले पनि लामो–लामो बोल्न छोडिदिएको छु ।’ उनले पुराना दलका नेताहरूलाई लक्षित गर्दै भने, ‘मिठो बोल्ने अरू नेताहरू जस्तो मृदुभाषी, नरम, चिटिक्क परेको शब्द छान्ने समय हामीसँग छैन । हाम्रो आवाज चर्को छ किनभने हाम्रो राजनीति अवैध क्रसर व्यवसायीको चन्दाबाट चल्दैन ।’
_ZpwvGC1ANY.jpg)
रविले गरेको ४६ सालपछिका सबै भ्रष्टाचारको फाइल खोल्ने बताए । ‘४६ साल पछिका सबै काण्डको छानबिन हुन्छ । प्रतिशोध हुँदैन, हिसाब हुन्छ,’ उनले भने । भ्रष्टाचार विरुद्धको अभियानमा कसैसँग सम्झौता नगर्ने र भ्रष्टाचारीहरूको महलमा डोजर चल्ने उनले बताए ।
सुकुमबासीको घरमा रास्वपाले डोजर चलाउँछ भनेर विपक्षीले हल्ला फिँदाएको भन्दै उनले भने, ‘डोजर त सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झुपडीमा होइन ।’
राजनीतिको आडमा विद्यालय र सरकारी कार्यालयमा हुने राजनीतिप्रति रवि निकै आक्रोशित देखिए । उनले शिक्षकहरूलाई राजनीति छोडेर स्मार्ट क्लासरुम कसरी बनाउने भन्ने योजना ल्याउन आग्रह गरे । ‘तपाईंहरू स्मार्ट क्लासरुम कसरी बनाउने योजना बनाउनुस्, राजनीतिको ठेक्का हामीलाई दिनुस्,’ उनले भने ।
कर्मचारी र ट्रेड युनियनको राजनीतिले देश बर्बाद भएको भन्दै उनले अब कर्मचारीको रक्षा कुनै नेताले होइन, देशको नीतिले गर्ने बताए । भने, ‘नेताले होइन, विधिको शासनले रक्षा गर्छ । हामी त्यही गर्न आएका हौँ ।’
पछिल्लो समय देशभर देखिएको सहकारी समस्यामाथि बोल्दै उनले रास्वपा सरकारमा गएको १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्ने बाचा गरे । उनले भने, ‘आरोप मलाई लगाऊ, तर रास्वपाको सरकारले १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्छ, तयार भएर बस्नुहोला ।’
उनले चुनाव सार्ने षड्यन्त्र नगर्न चेतावनी दिँदै भने, ‘चुनाव सारौँ भन्नेहरूलाई भन्न चाहन्छु–सार्ने भए चार दिन ओर सारौँ, हामीलाई ठिक छ । तर चुनाव गरौँ र जनताको फैसला स्वीकार गरौँ ।’
सोही सभामा बालेन शाहले भने पूर्वी नेपालको सम्भावनालाई नजिकबाट केलाएका छन् । उनले इटहरी र समग्र पूर्वलाई नेपालको आर्थिक इन्जिन बनाउन सकिने तर्क गरे । उनले भने, ‘पूर्वी तराईका ३–४ वटा जिल्लाको फुल पोटेन्सियलमा धान उत्पादन गर्ने हो भने देशभरलाई खान पुग्छ, तर बिडम्बना यहीँ खान पुगेको छैन ।’
उनले पूर्वी पहाडको तरकारी तराईमा नभई सीमापारिको तरकारी खानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रतिबद्धता जनाए । ‘तेह्रथुम, पाँचथरमा उत्पादन भएको तरकारी छोडेर बोर्डर पारिको खानुपर्ने ? यो दुःखको समाधान गर्ने पार्टी रास्वपा बन्छ,’ उनले भने ।
_lQkXt6UMlA.jpg)
विराटनगरको उद्योग र धरानको खानेपानी समस्यालाई पनि उनले प्राथमिकतामा राखे । धरानको खानेपानीको लागि कोसीबाट मेकानिकल लिफ्टिङ गरेर पानी ल्याउने ५–६ अर्बको परियोजनाबारे उनले भने, ‘कुन पार्टी पुग्छ अब सरकारमा ? यो भेगलाई खानेपानी खुवाउने पार्टी रास्वपा बन्न चाहन्छ ।’ उनले तटबन्ध बनाउने र बाढी नियन्त्रण गर्ने बताए ।
उनले पूर्वी नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्याउने योजना पनि सुनाए । उदयपुरको कोस्टल एरियालाई इन्डोनेसियाको बालीजस्तो विकास गर्न सकिने उनको दाबी छ । ‘उदयपुरको कोस्टल एरिया हेर्दा इन्डोनेसियाको बालीजस्तो विकास गर्न सकिन्छ जस्तो लाग्यो, त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ रास्वपा,’ बालेनले भने । विश्वको पहिलो तीर्थस्थल बराहक्षेत्र भएको भन्दै उनले बराहक्षेत्र, मुकुमलुङ, खुवालुङ, पाथीभराजस्ता आस्थाका केन्द्रहरूलाई ७७ वटै जिल्लाका नेपालीको गन्तव्य बनाउने बताए ।
पूर्वी नेपालका खेलाडीहरूको योगदानको चर्चा गर्दै उनले यहाँ फुटबलको विकासका लागि विशेष एकेडेमी र ट्रेनिङ सेन्टर बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालका ६०–७० प्रतिशत फुटबल प्लेयर यहीँ पूर्वबाट निस्कन्छन्, तर तिनलाई ग्रासरुट फुटबल विकास गर्न सकिएको छैन । एउटा फुटबल प्लेयर राम्रो बन्न कम्तीमा १० हजार घण्टा प्राक्टिस चाहिन्छ, त्यो व्यवस्था हामी गर्नेछौँ ।’
लिम्बू संस्कृतिको सिलाम साक्मा लगाएका बालेनले त्यसलाई जीवन जोगाउने प्रतीक भन्दै देशलाई कालबाट जोगाउने र मृत्युको मुखबाट बचाउने संकल्पका साथ रास्वपा अघि बढेको सन्देश दिए ।
_GJeqJP307b.jpg)
_Q4bdoEyu7Q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण