गण्डकीमा निर्वाचन तयारी अन्तिम चरणमा, २१ हजार कर्मचारी फिल्डमा
सारांश
- गण्डकी प्रदेशमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, जसमा २१ हजार कर्मचारी र स्वयंसेवक खटिनेछन्।
- मतदान अधिकृत र सहायक अधिकृतको तालिम सम्पन्न भइसकेको छ भने मौसममा सुधार आएपछि तोकिएकै स्थानमा मतदान हुने सहमति भएको छ।
- निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ, जसमा तीन घेराको सुरक्षा प्रबन्ध मिलाइनेछ।
पोखरा । प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार प्रदेश निर्वाचन कार्यालय, पोखराले सञ्चारकर्मीसँग अन्तरक्रियामा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । गण्डकी प्रदेशमा झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन हुने भएका छन् । तीमध्ये १४ हजार ३५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक हुन् । १८ फागुनभित्र सबै मतदान अधिकृत तथा सहायक अधिकृतसहितको टोली मतदानस्थलमा पुग्ने तयारी छ ।
प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार मतपत्रसहितका सबै निर्वाचन सामग्री प्राप्त भई मतदान केन्द्रअनुसार छुट्याएर वितरणको तयारी अवस्थामा राखिएको छ । प्रदेशका ११ वटै जिल्लामा वडास्तरमा मतदाता शिक्षा कार्यक्रम जारी छ । गत ३ फागुनदेखि सुरु मतदाता शिक्षा कार्यक्रम आइतबार सकिँदैछ ।
यद्यपि, चुनावका लागि मौसम चुनौती बन्ने अनुमान एकातिर छ । प्रदेशका हिमाली क्षेत्रमा हिमपातका कारण मतदान केन्द्र सार्नुपर्ने आकलन गरिएकोमा बिस्तारै मौसममा सुधार आएसँगै बाटो खुलाएर तोकिएकै स्थानमा मतदान गर्ने सहमति भएको ढकालले बताए । उनका अनुसार मतदान अधिकृत र सहायक अधिकृतको तालिम भने सम्पन्न भइसकेको छ ।
हिमालपारिको जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको करिब ४४ सय मिटर उचाइको शाङ्ता गाउँ र मनाङको नारफू गाउँपालिकाको नार र फू गाउँ (करिब ४२ सय मिटर उचाइ) मा हिमपात भएको छ ।
गोरखा, म्याग्दी, मुस्ताङ र मनाङका ३ हजार मिटरभन्दा माथिका मतदान केन्द्रमा खटिने कर्मचारीका निम्ति आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ । विगतमा हिमाली क्षेत्रबाट जाडो छल्न बाहिरिएका मतदाता पनि फर्कन क्रम जारी छ ।
कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निर्वाचनको चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग सहयोगको अपेक्षा गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चुनावमा तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिइन् । मतदानस्थलमा न्यूनतम ८ देखि ३० जनासम्म नेपाल प्रहरी, त्यसको बाहिरी घेरामा सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी घेरामा नेपाली सेना परिचालन हुनेछ ।
गण्डकी प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता छन् । प्रदेशमा १ हजार २९७ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्र निर्धारण गरिएको छ । अस्थायी मतदाता २१ हजार ६९३ छन् भने १७ अस्थायी मतदान केन्द्र कायम छन् । प्रदेशका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । तीमध्ये २९ महिला र २०५ पुरुष छन् । सबैभन्दा बढी कास्कीमा १८ राजनीतिक दल र सबैभन्दा कम मनाङमा ३ दल प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रेसन प्रविधिको बढ्दो लोकप्रियताः के तपाईंलाई आफ्नो ‘पसिनाको स्कोर’ थाहा छ ?
-
सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार
-
महाधिवेशन नसकिँदै चितवन छाड्न थाले रास्वपाका नेता, कार्यकर्ता
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण