‘बालेनको क्रेज र गगनको लहर एउटै बाटोमा हिँड्नुपर्छ'
सारांश
- राजनीतिक विश्लेषकले चितवनको राजनीतिक माहोल, देशको अवस्था र आगामी कार्यदिशाबारे धारणा राखे।
- विश्लेषकका अनुसार जनतामा चरम असन्तुष्टि र परिवर्तनको भोक छ, र नयाँ व्यक्ति र राजनीतिक लहरको उदय भएको छ।
- विश्लेषकले बालेन शाह र गगन थापाको कार्यशैलीको तुलना गर्दै देश बनाउन दुवैको मिलन आवश्यक रहेको बताए।
भरतपुर । चितवन देशको राजनीतिको हटस्पट मानिन्छ । रवि लामिछानेदेखि रेनु दाहालसम्मको उम्मेदवारीले यहाँको चुनावी माहोल गर्माएको छ । चितवन आफैँमा काठमाडौंपछि सबैभन्दा धेरै जिल्लाबाट बसाइँ सरेर आउने जिल्ला समेत हो । यहाँको राजनीतिले देशभरको अवस्था आकलन गर्न सहयोग समेत पुर्याउँछ ।
रातोपाटीको चुनाव केन्द्रित स्थलगत रिपोर्टिङका क्रममा हामीले वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्व प्रमुख एवं राजनीतिक विश्लेषक एलबी क्षेत्रीसँग चितवनको राजनीतिक माहोल, देशको समग्र अवस्था र आगामी कार्यदिशाबारे कुराकानी गरेका छौं ।
तपाईं लामो समयदेखि चितवनमा बस्नुहुन्छ । यहाँ क्याम्पस प्रमुख समेत भएर बस्नुभयो । यहाँ उम्मेदवारहरू र मतदाताको मनोविज्ञानलाई तपाईंले कसरी हेर्नुभएको छ ?
तपाईंहरूले चितवनको माहोल बाहिरबाट हेर्दा एउटा देख्नुहुन्छ, तर भित्र पस्दा अलि फरक छ । अहिले म यहाँ कसले जित्छ र कसले हार्छ भन्ने भविष्यवाणी गर्नतिर लाग्दिनँ । तर यहाँको डेमोग्राफी र मतदाताको प्याटर्न हेर्दा एउटा कुरा स्पष्ट हुन्छ– जनतामा चरम असन्तुष्टि र परिवर्तनको भोक छ ।
यहाँ हेभीवेट भनिएका उम्मेदवारहरू छन् । रवि लामिछाने, रेनु दाहालदेखि कांग्रेस-एमालेका नयाँ अनुहारहरुसम्मका कुरा आएका छन् ।
तर मूल कुरा व्यक्तिको होइन, प्रवृत्तिको हो । २००७ सालदेखि अहिलेसम्म हामीले धेरै प्रयोग गर्यौं । राजतन्त्र फाल्यौं, गणतन्त्र ल्यायौं । तर जनताको जीवनस्तर अपेक्षाकृत रुपमा सुधार हुन सकेन । जनताले अहिले खोजेको कुरा भनेको डेलिभरी हो । मेरो घर अगाडिको बाटो बन्यो कि बनेन ? म बिरामी पर्दा अस्पतालमा सहज उपचार पाएँ कि पाइनँ ? जनताको सरोकार यहाँ छ ।

चितवनका जनता निकै सचेत छन् । यहाँको जनमत स्थिर छैन, यो स्विङ भइरहन्छ । हिजो कांग्रेस र एमाले बलिया थिए । बिचमा माओवादीको लहर आयो । अहिले रास्वपाको लहर आएको छ । यो अस्थिरता होइन, यो जनताले खोजेको उत्तम विकल्पको खोजी हो । त्यसैले चितवनको यो चुनावले देशलाई नै एउटा नयाँ सन्देश दिँदैछ– अब परम्परागत शैलीले चल्दैन ।
तपाईंले जनतामा परिवर्तनको भोक छ भन्नुभयो । अहिले देखिएका नयाँ व्यक्ति र राजनीतिक लहरलाई कसरी हेर्नुभएको छ ?
राजनीतिमा क्रेज र लहरबिच सूक्ष्म भिन्नता हुन्छ । अहिले बालेन शाहको जे देखिएको छ, त्यो क्रेज हो । गगन थापाले कांग्रेसभित्र जे गर्न खोज्दैछन्, त्यो चाहिँ लहर हो ।
बालेनको हकमा के भयो भने जनता वर्षौंदेखि सुशासन र विकासको भोका थिए । हाम्रो धर्मशास्त्रमा एउटा भनाइ छ– 'कि भोक मिठो कि भोजन' । जब मान्छेलाई अत्यधिक भोक लाग्छ, उसलाई जे दिए पनि मिठो लाग्छ ।
बालेनले के गरे ? उनले ठ्याक्कै त्यही जनताको भोकलाई सम्बोधन गरे । उनले फाइभ स्टार होटलको खाना खुवाएका होइनन्, तर भोकाएको जनतालाई दुई-चारवटा मुला र गाजर नै भए पनि दिए । भन्नुको अर्थ, उनले सानै भए पनि एक्सन देखाए । सुधारका केही काम गरे, नियम कानुनको कुरा गरे । उनीमाथि भ्रष्टाचारको आरोप लागेन । उनी जेल जानु परेन । जनतालाई लाग्यो– ओहो ! गर्ने हो भने त हुँदो रहेछ नि त ।' त्यसैले उनको एउटा राष्ट्रिय क्रेज बन्यो ।
रवि लामिछानेको कुरा गर्दा उनी एउटा टेलिभिजन प्रस्तोताबाट राजनीतिमा आए । उनको पनि चितवनमा एउटा जबर्जस्त लहर सिर्जना भयो । तर बालेनको जस्तो स्वतन्त्र क्रेज र रविको पार्टीगत लहरमा केही भिन्नता छ ।
रविमाथि विभिन्न आरोपहरू लागे, उनी विवादमा तानिए, तर पनि जनताले उनलाई बचाइराखेका छन् । किन ? किनकि पुराना दलहरूप्रति जनताको वितृष्णा यति धेरै छ कि उनीहरू रविका कमजोरीलाई पनि नजरअन्दाज गर्न तयार छन् । यो भनेको अनेस्टी प्रिभेल्सको खोजी हो ।
तपाईंले गगन थापाको पनि नाम लिनुभयो, उनको चाहिँ लहर हो कि क्रेज ?
गगन थापाको मूल्यांकन अलि फरक ढंगले गर्नुपर्छ । गगन भनेको कांग्रेस जस्तो पुरानो र ठुलो पार्टीभित्रको एउटा विद्रोही चेत भएको नेता हो । उनले स्वास्थ्य मन्त्री हुँदा बिमाको अवधारणा ल्यायो, जुन नेपालको सन्दर्भमा क्रान्तिकारी कदम थियो । अहिले देशभर जति पनि स्वास्थ्य संरचनाहरू बनेका छन्, त्यसमा उनको ठुलो योगदान छ । अहिले कांग्रेसभित्रको विद्रोहको नेतृत्त्व पनि उनले गरेका छन् ।
तर समस्या के भयो भने गगन एउटा यस्तो पार्टीमा छन् जहाँ इतिहासको भारी छ । शेरबहादुर देउवाको नेतृत्व र पुरानो कार्यशैलीको बोझ उनले पनि बोक्नु परेको छ । बौद्धिक जगतमा गगन थापालाई स्वीकार गरिएको छ । स्कुल–कलेजका विद्यार्थीदेखि बुझ्ने मान्छेहरूले अबको भविष्य नै हो भनेर स्वीकारिसकेका छन् । तर आम जनमानसमा बालेनको जस्तो जादुमय क्रेज देखिएको छैन । यसको कारण चाहिँ एक्सनको प्रत्यक्ष अनुभूति हो । बालेनले डोजर चलाएको देखियो, त्यो इन्स्ट्यान्ट एक्सन थियो । गगनले नीति बनाए, जुन लामो समयपछि नतिजा दिने कुरा हो । जनतालाई तुरुन्तै नतिजा चाहिएको छ ।

त्यसैले मैले भन्ने गरेको छु– बालेनको क्रेज र गगनको लहरमा तुलना गर्नुभन्दा यिनीहरूको मिलन आवश्यक छ । गगनको राजनीतिक सुझबुझ, संगठन र भिजन अनि बालेनको एक्सन ओरिएन्टेड कार्यशैली र जनसमर्थन– यी दुई चिज मिल्ने हो भने देश बन्छ ।
केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा जस्ता पुराना नेताहरूप्रति जनताको यति धेरै आक्रोश किन छ ? इतिहासका कालखण्डमा त उहाँहरुको योगदान छ नि ?
उहाँहरूले व्यवस्था परिवर्तन गर्नुभयो । राजतन्त्र फालियो, गणतन्त्र आयो । तर जनताको जीवनमा के परिवर्तन आयो ? प्रश्न यहाँ छ । गिरिजाप्रसाद कोइराला, केपी ओली वा प्रचण्ड– उहाँहरू कोही पनि आदर्श नेता बन्न सक्नुभएन । किनकि उहाँहरूमा स्वार्थीपन हाबी भयो ।
२०४६ सालको परिवर्तनपछि ३०-३५ वर्षको समय खेर गयो । माओवादीले जनयुद्ध गर्यो, हजारौँ मान्छे मरे । प्रचण्डले ठुला सपना बाँडे, तर सत्तामा पुगेपछि उनी पनि उस्तै भए । केपी ओलीको कुरा गर्नुस्, २०७४ मा उनको कत्रो क्रेज थियो ! नाकाबन्दीको सामना गर्दा उनी राष्ट्रवादी नेताको रूपमा उदाए । जनताले झन्डै दुई तिहाइ मत दिएर पठाए । त्यो भनेको चानचुने कुरा थिएन । तर उनले त्यो जनमतको कदर गर्न सकेनन् । अहंकार, कार्यशैली र भ्रष्टहरूलाई संरक्षण गर्ने बानीले उनको त्यो क्रेज तासको घर जस्तै ढल्यो ।
हाम्रो पौराणिक कथामा एउटा प्रसंग छ– भगवान् विष्णुले जालन्धरलाई मार्न उसको श्रीमती वृन्दाको सतीत्व डगाउनुपर्यो । त्यस्तै हाम्रा नेताहरूले सत्ता टिकाउन वा आफू शक्तिमा रहिरहन जस्तोसुकै अनैतिक सम्झौता पनि गरे । नातावाद, कृपावाद र भ्रष्टाचारलाई संस्थागत गरे ।
विदेशबाट आएको एक रुपैयाँ ऋणमा ६० पैसा खाने र ४० पैसाको मात्र काम गर्ने परिपाटी बस्यो । जनताले यो कुरा राम्रोसँग बुझेका छन् । त्यसैले पुराना नेताहरूको अनुहार देख्दा पनि जनतालाई रिस उठ्ने अवस्था आएको हो । उनीहरूप्रतिको विश्वास सकियो । अब उनीहरूबाट देश बन्दैन भन्ने निष्कर्षमा जनता पुगे ।
अहिले देखिएका नेतृत्वले जनताले चाहेको जस्तो सुधार र परिवर्तन ल्याउन सक्लान् त ?
देशको आवश्यकता भनेको परिवर्तन हो, हामी परिवर्तन चाहन्छौं । अब टालटुले सुधारले हुँदैन । मेरो स्पष्ट धारणा के छ भने देश बनाउन एउटा डेमोक्रेटिक अटोक्र्यासीको आवश्यकता छ । सुन्दा अनौठो लाग्न सक्छ, तर हामीलाई अब ली क्वान युजस्तो नेतृत्व चाहिएको छ ।

तपाईं बाटोमा हिँड्दा देब्रेबाट हिँड्नुहुन्छ । यो नियम हो । कसैले दाहिनेबाट सवारी चलायो भने त्यसलाई दण्डित गर्नुपर्छ । लोकतन्त्रको नाममा छाडापन चलिरहेको छ ।
मलाई लाग्छ 'सिस्टम सुड वर्क, बट पिपल सुड फलो द सिस्टम' (प्रणालीले काम गर्नुपर्छ, तर जनताले प्रणाली मान्नुपर्छ ।’ यहाँ सिस्टमले काम गर्न खोज्दा अवरोध गरिन्छ । बालेनले काठमाडौँमा केही हदसम्म यो अटोक्र्याटिक डेमोक्रेसीको अभ्यास गर्न खोजे । उनले नियम मिच्नेलाई छोडेनन् । देशलाई अहिले चाहिएको त्यही हो ।
तपाईंले चुनावी भविष्यवाणी त गर्दिनँ भन्नुभयो । तर चुनावपछि संसद्मा कुन राजनीतिक दलको अवस्था कस्तो होला अनुमान गर्न सक्नुहुन्छ ?
राजनीतिक समीकरणको कुरा गर्दा मलाई लाग्छ, आगामी दिनमा कांग्रेस र रास्वपा दुई ठुला शक्ति हुनेछन् । एमालेको ओरालो यात्रा सुरु भइसक्यो, माओवादी खुम्चिँदैछ ।
अबको निकास भनेको सुध्रिएको कांग्रेस र नयाँ शक्ति मिलेर जानुपर्छ । 'लेट अस मेक द नेसन' भन्ने साझा नाराका साथ यी दुई शक्ति मिल्ने र सेना तथा प्रहरीले कानुन कार्यान्वयनमा साथ दिने हो भने पाँच वर्षमा देशको मुहार फेरिन्छ ।
तपाईंले कांग्रेस र रास्वपा मिल्नुपर्छ भन्नुभयो । तर संसदीय व्यवस्थामा त पहिलो र दोस्रो शक्ति मिल्ने भन्ने कुरा सामान्यतया हुँदैन होइन ?
हामीले धेरै सिद्धान्तका कुरा गर्यौं । वेस्टमिन्स्टर सिस्टम, प्रतिपक्षको भूमिका आदि इत्यादि । तर हामी असाधारण परिस्थितिमा छौँ । घरमा आगो लागिरहेको बेला को भान्सामा बस्ने, को बैठक कोठामा बस्ने भनेर झगडा गरिँदैन । पहिला आगो निभाउनुपर्छ ।
कांग्रेस र एमाले मिलेर पनि सरकार चलाएकै हुन्, तर खोइ त परिणाम ? उनीहरू मिलेर भागबन्डा मात्र गरे, देश बनाएनन् । मेरो प्रस्ताव के हो भने राष्ट्रिय संकटको यो घडीमा पुराना पूर्वाग्रह त्यागेर नयाँ भिजन भएका शक्तिहरू एक ठाउँमा उभिनुपर्छ । कांग्रेसभित्रको गगन थापाको न्युनेस र रास्वपाको जोस मिल्नुपर्छ । यो सत्ताका लागि होइन, देश निर्माणको लागि हुनुपर्छ ।
अहिले जनताले एक्सक्युज सुन्न चाहँदैनन् । हामीले गर्न खोजेका थियौँ तर दिएनन् भन्ने दिन गए । रविले दुईपटक गृहमन्त्री हुँदा गर्न पाइएन भनेर उम्किन मिल्दैन । काम गरेर देखाउनुपर्छ । जनतालाई परिणाम चाहिएको छ । यदि यी नयाँ र पुरानाभित्रका नयाँ शक्तिहरू मिलेर देश बनाउने संकल्प गरेनन् भने अर्को ठुलो दुर्घटना हुन सक्छ । जनताको धैर्यताको बाँध टुटिसकेको छ ।
उम्मेदवारहरूले घरदैलो अभियान गरिरहेका छन् । अन्तरक्रिया भन्दा अभिवादनमा ध्यान दिने ट्रेन्ड देखिएको छ । यो शैलीले मतदाताको मन बदल्न सक्छ ?
घरदैलो भनेको एउटा कन्भिन्स गर्ने प्रयास मात्र हो । मान्छेलाई म आएँ है भनेर जानकारी दिने माध्यम हो । यसले मतदाताको मन बदल्छ भन्ने मलाई लाग्दैन । मतदाताले मन बनाइसकेका छन् ।
आजको जमानामा मतदाताको हातहातमा मोबाइल छ । उम्मेदवारको विगत, वर्तमान र भविष्यको योजना उनीहरूले सामाजिक सञ्जालबाटै थाहा पाइसकेका छन् । घरदैलोमा आएर हात हल्लाउँदैमा वा माला लगाउँदैमा भोट दिने जमाना गयो ।
त्यसैले यो घरदैलो एउटा औपचारिकता मात्र हो । एक्सन ओरिएन्टेड समाजमा भाषण र आश्वासनले काम गर्दैन । जसले विगतमा काम गरेर देखाएको छ वा जसको योजनामा दम छ, जनताले उसैलाई रोज्छन् । टाइम विल टेल, तर म देख्दैछु– जनताले परिवर्तनको पक्षमा नतिजा दिनेछन् ।
अन्त्यमा, तपाईंको निष्कर्ष के हो ? के अब साँच्चै परिवर्तन सम्भव छ ?
सम्भव मात्र होइन, अपरिहार्य छ, चेन्ज इज इनभिटेबल । पुराना शक्तिहरूले जतिसुकै बल गरे पनि अब उनीहरूको दिन गयो । कांग्रेसभित्र पनि युवाहरूले हस्तक्षेप गर्नुपर्छ र नयाँ पार्टीहरूले पनि परिपक्वता देखाउनुपर्छ ।
हामी सधैँ प्रयोगशाला मात्र बन्नु हुँदैन । नयाँलाई सधैँ स्वागत गर्नुपर्छ तर नयाँले पनि जनताको अपेक्षा अनुसार काम गर्नुपर्छ । बालेन, रवि, गगन यी नामहरू व्यक्ति होइनन्, यी समयका विम्ब हुन् । यिनीहरू असफल हुनु भनेको देश असफल हुनु हो । त्यसैले यिनीहरूले आपसी दम्भ त्यागेर, एक-अर्काको खुट्टा तान्ने प्रवृत्ति छोडेर 'लेट अस मेक द नेसन' भन्दै अघि बढ्नुपर्छ ।
यदि त्यसो भयो भने पाँच वर्षपछि हामीले गर्वका साथ भन्न सक्नेछौँ– हो, हामीले देश बनायौँ । नत्र भने फेरि अर्को पुस्ताले पनि यस्तै अन्तर्वार्ता दिँदै देश बनेन भनेर गुनासो गरिरहनेछ । मलाई विश्वास छ, अँध्यारोपछि उज्यालो नै आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो विवाहको चर्चाबारे के भन्छन् आमिर खान ?
-
बेलायतमा किन टिक्दैनन् प्रधानमन्त्री ?
-
क्रोएसियाको डिफेन्स र अट्याक दुवैको मुख्य हतियार : जोस्को ग्वार्डिओल
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण