मधेसको मत : होलीकै डर, होलीमै भर
सारांश
- मधेसमा होली र निर्वाचन एकै समयमा परेकाले उम्मेदवारहरूलाई चुनौती थपिएको छ।
- होलीको रमाइलो र उत्सवका कारण मतदानमा कमी आउने र खर्च बढ्ने चिन्ता उम्मेदवारहरूको छ।
- युवाहरू होली मनाउन घर फर्किंदा निर्वाचनमा नयाँ मतदाता थपिने र रास्वपालाई फाइदा पुग्ने देखिन्छ।
जनकपुरधाम । अहिले मधेसका खेत-खलिहानदेखि सहरका चिया पसलसम्म दुई कुराको चर्चा छ, रङहरूको पर्व होली र सत्ताको छिनाझपटी फैसला गर्ने प्रतिनिधिसभा निर्वाचन । आगामी बिहीबार हुन लागेको निर्वाचनको सरगर्मी जति बढेको छ, उम्मेदवारहरूको ढुकढुकी पनि त्यति नै तीव्र भएको छ ।
तर यसपटक मधेसको चुनावी परिणामलाई होली पर्वको मनोविज्ञानले पनि असर पार्ने संकेत देखिएको छ । मधेसको राजनीतिमा अहिले होलीको कारण उम्मेदवारलाई थप तनाव भएको देखिन्छ ।
मधेस प्रदेशमा होली केवल एउटा पर्व होइन, यो सामाजिक एकता र कहिलेकाहीँ राजनीतिक शक्ति प्रदर्शनको माध्यम पनि हो । यसपटक निर्वाचन र होलीको साइत झण्डै एकै समयमा जुरेकाले उम्मेदवारहरूका लागि यो चुनौती सावित भएको छ ।

एकातिर मतदातालाई आफ्नो पक्षमा पार्न रङ र अबिरसँगै चुनावी एजेन्डा पुर्याउनुपर्ने चुनौती छ भने अर्कोतिर होलीको रमझमले कतै मतदानको प्रतिशत नै घटाउने त होइन भन्ने चिन्ता पनि छ ।
उम्मेदवारहरूको मनोविज्ञान र सकस
बारा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका श्यामबाबु गुप्ता यतिबेला घरदैलोमा व्यस्त छन् । तर उनको मनमा एउटा संशय छ । मधेसको मुख्य चाड नै होली भएकाले यसले चुनावी माहोललाई असहज बनाएको उनको अनुभव छ ।
‘हाम्रो संस्कारमा होलीको छुट्टै महत्व छ, मानिसहरूलाई उत्सवबाट मतदान केन्द्रसम्म लैजानुपर्ने छ । होलीका कारण मतदान प्रतिशतमा असर नपरे पनि कतिपय अवस्थामा खेलबाड हुने डर छ,’ उनी भन्छन् ।

यस्तै चिन्ता बारा क्षेत्र नम्बर २ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाको पनि छ । उनी निर्वाचनको मिति तय गर्दा प्रशासन र निर्वाचन आयोगले मधेसको सांस्कृतिक संवेदनशीलतालाई नबुझेको गुनासो गर्छन् । उम्मेदवार, मतदाता र सुरक्षाकर्मी सबैलाई होली र चुनाव एकैपटक व्यवस्थापन गर्न हम्मेहम्मे परेको उनको तर्क छ । ‘चाडबाडको बेला मानिसहरू खानपिन र रमाइलोमा मस्त हुन्छन्, यस्तो बेला सुरक्षा व्यवस्था कडा पार्नु र मतदातालाई शान्त राख्नु कम चुनौतीपूर्ण छैन,’ कुशवाहा भन्छन् ।
मंगलबारको रङ र बुधबारको ‘सेलिब्रेसन’
गत स्थानीय तह निर्वाचनमा सर्लाहीको रामनगर गाउँपालिकाको उपाध्यक्ष पदका प्रत्यासी तथा अवकाशप्राप्त प्रहरी नायब निरीक्षक रामविनोद राय मधेसको होलीको चरित्रलाई नजिकबाट नियाल्छन् । उनका अनुसार मधेसमा होलीको रङ दुई-चार दिनसम्मै चल्छ । यसपटक मंगलबार मुख्य होली परेको छ । तर धार्मिक विश्वासका कारण मंगलबार धेरैले मासु–मदिरा र रङ नखेल्ने हुँदा त्यसको वास्तविक उत्सव बुधबार मनाइने रायको विश्लेषण छ ।

‘बुधबार मधेसभरि भोजभतेर र रङको उत्सव हुन्छ, तर बिहीबार त मतदान नै छ,’ राय भन्छन्, ‘बुधबार रातभर उत्सव मनाउने मतदाता बिहीबार बिहानै उठेर लाइन लाग्न आउलान् कि नआउलान् ? उम्मेदवारहरूको मुख्य डर नै यही हो ।’ यही मनोविज्ञानका कारण उम्मेदवारहरूले यसपटक मतदातालाई ‘ब्युँझाउन’ अतिरिक्त मिहिनेत गर्नुपर्ने देखिएको छ ।
‘साम, दाम, दण्ड, भेद’ र होलीको भारी खर्च
मधेसको चुनावमा खर्चको विषय सधैँ चर्चामा रहन्छ । यसपटक होलीले उम्मेदवारहरूको खर्चको ग्राफलाई आकाशमा पुर्याइदिएको छ । रातोपाटीको स्थलगत रिपोर्टिङ टिमसँग नाम नबताउने सर्तमा एक उम्मेदवारले भने, ‘मधेसमा चुनाव जित्न साम, दाम, दण्ड, भेद सबै चाहिन्छ । अझ होलीको समयमा त मतदाताको अपेक्षा झनै बढ्छ । गाउँका समूहहरूलाई होली खर्च, मासु र रक्सीको व्यवस्था नगरिदिए मत अन्तै मोडिने खतरा छ ।’
ती उम्मेदवारका अनुसार अहिले एउटा क्षेत्रमा करोडौँको खर्च भइसकेको छ र होलीको नाममा थप खर्चको दबाब छ । ‘यहाँ कसैले दूधले नुहाएको छैन, सबैले खर्च गरिरहेका छन् । मतदाता तान्न र जोगाउन अहिले होली एउटा ठुलो माध्यम बनेको छ,’ उनी भन्छन् ।
सप्तरी-२ मा जसपाका उमेश यादव र पूर्व मुख्यमन्त्री समेत रहेका स्वाभिमान पार्टीका सतिश सिंह पनि होलीको नयाँ माहोलले चुनौती दिएको बताउँछन् । उनीहरूका अनुसार एक चरणको घरदैलो सकिए पनि होलीले पुरानो समीकरण भत्काएर नयाँ समीकरण बनाइदिने डर छ ।
मतदाता गाउँ फर्किँदा उत्साह
परम्परागत दलहरू होलीको माहोलले त्रसित भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू भने उत्साहित देखिन्छन् । यसको मुख्य कारण हो, होली मनाउन घर फर्किने युवा र विद्यार्थीहरू । काठमाडौँ, हेटौंडा, भारत र वैदेशिक रोजगारीमा रहेका मधेसी युवाहरूको होली मनाउन गाउँ फर्किने लर्को लागेको छ ।

रास्वपाका एक उम्मेदवार भन्छन्, ‘यसपटक होलीले हाम्रा लागि ‘गेम चेन्जर’ को काम गर्दैछ । बाहिरबाट आउने विद्यार्थी र सचेत युवाहरूले गाउँमा नयाँ लहर ल्याएका छन् । उनीहरूले पहिले नै फोन गरेर परिवारलाई घण्टीमा भोट हाल्न भनिसकेका छन् र अहिले आफैँ उपस्थित भएर प्रभाव पार्दैछन् ।’ शिक्षित युवाहरूको घर फिर्तीले परम्परागत दलहरूको ‘पैसा र मदिरा’ को राजनीतिलाई धक्का दिने अपेक्षा गरिएको उनी बताउँछन् ।
पर्सा-२ का प्रलोपाका उम्मेद्वार अमिताभ बच्चन दास पनि यसपटक मतदान प्रतिशत बढ्नेमा आशावादी छन् । बाहिरबाट मानिसहरू गाउँ फर्किने भएकाले नयाँ मतदाताको प्रवेशले पुराना अनुमानहरू फेरबदल हुन सक्ने उनको ठम्याइ छ ।
सुरक्षा चुनौती र साम्प्रदायिक संवेदनशीलता
होली र निर्वाचनको संयोगले स्थानीय सरकार र प्रशासनको निकायलाई पनि तनावमा पारेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल दुवैले यस समयलाई ‘अति संवेदनशील’ मानेका छन् । होलीमा मदिरा सेवनका कारण हुने सानातिना विवादले साम्प्रदायिक वा राजनीतिक हिंसाको रूप लिन सक्ने खतरा छ ।

‘चुनाव कसले जित्छ भन्ने एउटा कुरा हो, तर चुनाव भयरहित हुनु सबैभन्दा महत्वपूर्ण हो,’ मेयर सिंह भन्छन् । धार्मिक र साम्प्रदायिक हिसाबले मधेसका कतिपय ठाउँ संवेदनशील रहेकाले होलीको रङमा राजनीतिक रिसइबी साँध्ने काम नहोस् भनी प्रशासनले विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
मधेसका एक प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘यहाँ सानो झिल्कोले पनि आगो लाग्न सक्ने डर छ । एकदम संवदेनशील अवस्था छ । फेरि यहाँ मदिरा र पैसामा धेरै चलखेल हुन्छ । यही बेला होली परेको हामी गम्भीर नै छौँ,’ उनी भन्छन् ।
पर्व र चुनावी रङ एकैसाथ रहँदा मधेसमा उल्लाख जति बढेको छ, चुनौती पनि केही अवश्य थपिएका छन् । बिहीबार साँझसम्म जब मतपेटिकाहरू बन्द हुनेछन्, तब मात्र थाहा हुनेछ मधेसमा कसको रङ चढेछ र कसको रङ उडेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण