सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

दैलेख–२ का नेकपा उम्मेदवारको मुख्य प्रतिबद्धताः बँदेल आतंक नियन्त्रण

सोमबार, १८ फागुन २०८२, २० : १७
सोमबार, १८ फागुन २०८२

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट दैलेख–२ मा उम्मेदवार रहेका योगेन्द्रबहादुर शाहीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । 

सोमबार उनले २७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । जसमा उनले दैलेखमा अहिले प्रमुख समस्याका रुपमा रहेको बँदेल आतंकलाई एकीकृत ढाँचामा नियन्त्रण गर्न ठोस पहल गर्ने र त्यसका लागि आवश्यक कानुन संसोधन गर्न पहल गर्ने बताएका छन् । 

दैलेखमा पछिल्लो समय किसानको प्रमुख समस्या नै बँदेल आतंक बनेको छ । बँदेल आक्रमणबाट बितेको दुई महिनामा दुई जनाले ज्यान गुमाइसकेका छन् भने केही घाइते भएका छन् । खेतीबारी पूर्ण रूपमा नष्ट गर्दा खाद्य संकट भइरहेको छ । शाहीले उक्त कुरालाई आफ्नो चुनावी प्रतिबद्धतामा समेटेका हुन् । 

दैलेखको विकासका लागि मेरा ४ मूल प्रतिबद्धताहरू भनेर उनले जलजले ग्यास उत्खनन परियोजनालाई तदारुकताका साथ अघि बढाउने पहल गर्ने, दुल्लु क्षेत्र र कर्णाली करिडोर भएर हिल्सा–कैलाश मानसरोवरको एतिहासिक रेशम मार्गलाई ब्युताई यो क्षेत्र र नेपाललाई समृद्धिको दिशामा अग्रसर गराउने दीर्घकालीन योजना अघि बढाउन पहल गर्ने बताएका छन् । 

यस्तै अपर कर्णाली परियोजनालाई तदारुकता दिई बढाउन पहलकदमी लिनेदेखि सिँचाइ आयोजनादेखि ठुला परियोजनाहरू बनाउन पहल गर्नेजस्ता प्रतिबद्धताहरू जाहेर गरेका छन् ।

यस्ता छन् केही प्रतिबद्धता र प्रयास

–भाव्र र मजुवा खानेपानी परियोजनालाई तदारुकताका साथ अघि बढाइ हरेक टोल र घरमा खानेपानी सुविधा प्रदान गर्न पहल गर्नेछु । 
– गिताचौर रावतकोट सिँचाइ परियोजनालाई सञ्चालनमा ल्याई रावतकोट क्षेत्रलाई व्यवसायिक कृषि क्षेत्रका रुपमा विकास गर्न पहल गर्नेछु । 
– राकम, तिलेपाटा, ठाटीकाँध, हाडाकोट, डाँडिमाडी, रावतकोट हुँदै दैलेख जाने प्रशासनिक मार्गलाई कालोपत्रे गर्न पहल गर्नेछु । 
–यस क्षेत्रका काकाकुल बस्तिहरूमा (रोल, राँता, सिगौडी, निमायल, डौसुर, पादुका, धामीगाउँ, दुल्लु, रावतकोट, वडलम्जी, भैरी, खार आदिमा ) लिफ्टिङ्ग  या अन्य बैकल्पिक प्रणालीबाट खानेपानी प्रबन्ध गर्न पहलकदमी लिनेछु । खानी पानी सेवा नपाएका दलित जनजाती र विपन्न बस्तीलाई विशेष प्राथमिकता दिनेछु ।  
–राकम तटबन्धन र गडाज्युुला तटबन्धनलाई परियोजनाका रूपमा अघि बढाउन प्राथमिकता राखी कार्य गर्नेछु । 
–हरेक पालिकामा युवाका लागि क्रमशः फुटसल र सार्वजनिक व्यायमशालाको व्यवस्था गर्न पहल गर्नेछु । उपयुक्त र आवश्यक स्थानहरूमा खेल मैदान निर्माण गर्न पहल गर्नेछु । 
–पालिकासँग समन्वय गरी युवा रोजगार प्रवद्र्धन केन्द्र स्थापना गरी दैलेखी युवाका लागि रोजगारीका अवसर सिर्जना गर्न  पहल गर्नेछु । 
–दैलेख जिल्लाका बाँकी रहेका सबै स्थानमा विद्युत जडान गरी उज्यालो दैलेखको सपना साकार पार्न पहलकदमी लिनेछु ।
–दैलेख अर्गानिक क्षेत्रहरूलाई संरक्षण गरी उच्च मूल्य अर्गानिक कृर्षिको व्यवसायिकरण गर्न पहल कदमी लिनेछु । ग्रामीण सहकारी मार्फत प्याकेजिङ,  ब्रान्डिङ्ग र बजारीकरणमार्फत किसानको आय वृद्धिमा ध्यान दिनेछु । शीतभण्डार निर्माण गरि कृषि उत्पादनलाई प्रोत्साहन गर्न लागी पर्नेछु ।  
–दैलेखको जौचौरको तामा खानी, पिपलकोट, विशाला र घुम्मेखालीको पत्थर खानी, धमकोटको काइनाइट, चामुण्डा बिन्द्रासैनीमा रहेको फलाम, चुन र खरी ढुङ्गाको खानीको सम्भाब्यता अध्ययन गरी सञ्चालनका लागि पहलकदमी लिनेछु ।   
–महावु कुशापानी, भैरवी छहरा, पाल्त, माझखर्क, खुडखुडी, मदान ताल, धमकोट, राँगा जुझे, बाँझकाटिया, लयापातल पिपलकोट, खिड्कीज्युला हुँदै  राकम जाने पर्यापर्यटकीय तथा सांस्कृतिक  पदमार्गको नक्साङ्कन गरी विकास गर्न  पहल गर्नेछु।  
–मालिका तथा वरिवरिको क्षेत्रलाई बीउबीजन उत्पादन क्षेत्रका रुपमा थप विकास गरी विस्तार गर्न पहलकदमी लिनेछु । 
–उच्च आयमूलक हरित कृषिलाई जोड दिइ आबोकादो, जैतुन, अम्लिसो, मोरिङ्गा, पाउलोनिया, किबी, अलैची खेती आदिको विस्तार गरी किसानको आय वृद्धि गर्न ठोस पहल गर्नेछु । 
–दुल्लु क्षेत्र र अन्य भागमा सुन्तला खेतीमा देखा परेको समस्यालाई समाधान गर्न ठोस पहल गरी सुन्तला तथा कागती खेतीलाई पुनःस्थापना गर्न पहल गर्नेछु । 
–यस क्षेत्रका युवा तथा विद्यार्थीलाई लोकसेवा कक्षा सञ्चालन मार्फत प्रर्तिष्पर्धी बनाइ गुणस्तरीय रोजगारका लागि वातावरण बनाउन पहल गर्नेछु । 
–यस क्षेत्रको लेकाली क्षेत्रमा जडीबुटी संरक्षण, जडीबुटी खेती, प्रशोधन, उत्पादन र यसको बजारीकरणलाई विशिष्ट पहलकदमी लिनेछु ।
– राकममा रहेको ट्रमा अस्पताललाई सुबिधासम्पन्न बनाइ सञ्चालनमा ल्याउन पहल गर्नेछु । राकमको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित अस्पताललाई विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याउन पहल गर्नेछु। 
–दुल्लु बैकमा रहेको कृषि क्याम्पसलाई सुचारु गर्न प्रशासनिक दक्षता सहित संरचना विस्तार गर्न पहल गर्ने।  
–दैलेख २ नं क्षेत्रमा रहेका दुल्लु अस्पताल, पालिका अस्पताल र स्वास्थ्य केन्द्रहरूमा थप आवश्यक स्वास्थ्य संरचना, सामग्री, डाक्टर र स्वास्थ्यकर्मीहरूको उचित प्रबन्धका लागि पहल गर्ने । 
–दैलेखमा रहेका ८८ वटा जाति र थरको उद्गम थलोको एकीकृत सङ्ग्राहलय र पृती तपोवन निर्माण गर्न  पहल गर्ने छु । यस क्षेत्रलाई पुरानो रेशम मार्ग धार्मिक सहिष्णुताको प्रतिक क्षेत्रका रूपमा विकास गर्न लागि पहल गर्ने ।
–नाभिस्थान लगायत अन्य पञ्चकोशी क्षेत्रमा गुरुकुल स्थापना गर्न पहल गर्ने ।
–स्थानीय जनसरोकार र विकासका अन्य महत्त्वपूर्ण कार्यहरू गर्न पहल गर्ने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप