'इरान युद्धमा ट्रम्पले इजरायलको आदेश पालना गरिरहेका छन्'
सारांश
- अघोषित युद्ध सामान्य बनेको र अमेरिकाले इरानमाथि आक्रमण गरेको विषयवस्तु छ।
- इजरायलको दबाबमा ट्रम्प प्रशासनले इरानमाथि आक्रमण गरेको र यसको नैतिक तथा कानुनी आधार नभएको कुरा गरिएको छ।
- विश्लेषकहरूले यस युद्धको नतिजा र यसले विश्व अर्थतन्त्रमा पार्ने प्रभावबारे चिन्ता व्यक्त गरेका छन्।
अघोषित युद्धहरू अहिले सामान्य भइसकेका छन् । दुःखद के छ भने डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले आफ्ना जनता वा कांग्रेसको अनुमति बगेर नै ‘पूर्व–सतर्कता युद्ध’ जसलाई अर्को शब्दमा ‘आक्रामक युद्ध’ भनिन्छ, त्यसमा प्रवेश गरेको छ ।
त्यस्तै अभ्यासहरुले विश्वभरका आम मानिस सरकारहरुले प्रयोग गरिरहेको शक्तिको अवैध प्रयोगलाई समान्य रूपमा लिइरहेका छन् वा त्यसमा अभ्यस्त भइरहेका छन् । कुरा रुस–युक्रेन युद्धको होस चाहे इजरायल–प्यालेस्टाइन युद्धको वा भन्नुस अमेरिकाले भेनेजुएलाको वर्तमान राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरेको होस् चाहे शान्ति वार्ताको अनेकौँ चरणका कुराकानीबिच अमेरिका–इजराइलले इरानमाथि एक्कासि गरेको युद्ध नै । यसले समाजको स्वतन्त्र चरित्र, शान्तिप्रतिको चिन्तन र शक्तिको प्रयोगबारेको सोचलाई जरैदेखि हल्लाइदिएको छ ।
राज्यले गर्ने शक्तिको प्रयोग र आम मानिसको शान्तिको चाहनाबिचको विरोधाभासलाई बुझ्नका लागि हामीले शिकागो विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक जोन जोसेफ मेइरसाइमरलाई पछ्याउनुपर्ने हुन्छ । उनका ‘हाउ स्टेट थिंकः द रेसनालिटी अफ फरेन पोलिसी’, ‘द इजराइल लबी एण्ड युएस फरेन पोलिसी’ तथा ‘द स्ट्र्याटेजी अफ ग्रेट पावर पोलिटिक्स’सहित आधा दर्जनभन्दा धेरै पुस्तक प्रकाशित छन् । उनै प्राध्यापक मेइरसाइमरसँग अमेरिका–इरान युद्धका विषयमा अमेरिकाका पूर्वन्यायाधीश एन्ड्रयु पी. नेपोलिटानोले कुराकानी गरेका छन् ।

प्रस्तुत छ उनीहरूबिच भएको कुराकानीको सम्पादित अंशः
गत शनिबार बिहानदेखि अमेरिका–इजरायलद्धारा इरानमाथि गरिएको आक्रमणबारे तपाईंको मस्तिस्कमा कुँदिएको बृहत्तर धारणा के हो ?
म यो युद्धबारे सोच्नासाथ तुरुन्तै यसको बृहत्तर फलकमै पुग्छु । युद्ध सुरु भइसकेपछि तपाईंले आफैलाई सोध्नुपर्ने प्रश्न हो– हाम्रो लक्ष्य के हो ? ती लक्ष्यहरू प्राप्त गर्न हामीले के गर्नुपर्छ ? अर्को शब्दमा भन्दा हाम्रा लागि अर्थात् अमेरिका र इजरायलका लागि ‘विजय’ को के अर्थ हो ? र, इरानीहरूका लागि ‘विजय’ को अर्थ के हो ? उनीहरूको अन्तिम लक्ष्य के हो र उनीहरूले त्यसलाई प्राप्त गर्ने सम्भावना कति छ ? मेरो बुझाइमा, हामीसँग अप्राप्य लक्ष्य मात्रै छन् । कुनै पनि अर्थपूर्ण ढंगले यो युद्ध जित्ने बाटो हामीसँग छैन । इरानीहरू जीवित मात्रै रहे भने पनि उनीहरु विजयी भएको मानिनेछ । र, मलाई लाग्छ उनीहरु अन्तीमसम्म जीवित रहनेछन् । तर, अमेरिकाका लागि त्यो प्रयाप्त होइन, त्यसैले हामी गहिरो समस्यामा छौँ ।
के ट्रम्प प्रशासनले सैन्य रूपमा प्राप्त गर्न सकिने कुनै लक्ष्य स्पष्ट पारेको छ ?
ट्रम्प प्रशासनले अमेरिकाको लक्ष्य के हो भन्ने सुसंगत ढंगले केही पनि भन्न सकेको छैन । राष्ट्रपति ट्रम्पको धारणा अस्थिर छ । उनले कहिले कुन कारणले युद्ध गरेको भन्छन् त कहिले कुन कारणले । तर इमानपूर्वक भन्दा तपाईंको प्रश्न धेरै हदसम्म अप्रासंगिक छ । किनभने तपाईंको प्रश्नले हामीले नै यो प्रक्रिया चलाइरहेका छौँ भन्ने मान्छ । तर, तथ्य के हो भने, यो युद्धमा इजरायल ‘ड्राइभर सिट’ मा छ । यो स्पष्ट कुरा हो ।
टकर कार्लसनले दुई दिन अघि मात्रै राष्ट्रपति ट्रम्पलाई भेटेका थिए र राष्ट्रपतिले उनलाई युद्धमा जानुबाहेक आफूसँग अर्को विकल्प नभएको बताएका थिए । टकरलाई ट्रम्पले भनेको कुरा के हो भने इजरायलले यो सिङ्गो प्रक्रियालाई नै अघि बढाइरहेको छ । र ट्रम्पले इजरायलको आदेश पालना गरिरहेका छन् । त्यसैले हाम्रा लक्ष्यहरू के हुन् भन्नु नै अप्रासंगिक छ । खासमा तपाईंले सोध्नुपर्ने प्रश्न इजरायलका लक्ष्यहरू के हुन् भन्ने हो । र, इजरायलका लक्ष्यहरू एकदमै स्पष्ट छन् ।

नेतन्याहुले अमेरिकी राष्ट्रपतिलाई ‘तपाईं मेरो साथ दिनुस् वा नदिनुस्, म इरानमाथि आक्रमण गर्न जाँदैछु’ भनेको टकर कार्लसनले अस्ति मात्रै भनेका थिए । उता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि कांग्रेसका नेताहरूलाई इजरायलले आक्रमण गर्ने निर्णय गरिसकेको बताएका थिए । यस्तो अवस्थामा अमेरिकासँग जम्मा दुई विकल्प थिए–इजराइललाई सहयोग गर्ने र युद्धलाई नियन्त्रणमा राख्ने प्रयास गर्ने, वा इजरायललाई ‘नो’ भन्ने । तर ‘नो’ भन्ने कुरा कहिल्यै सम्भव थिएन । पछिल्लो ६३ वर्षमा कुनै पनि अमेरिकी राष्ट्रपतिले इजरायललाई ‘नो’ भन्ने आँट गरेका छैनन् । सन् १९६२ मा जोन एफ केनेडीले इजरायलको आणविक कार्यक्रमलाई लिएर ‘नो’ भनेका थिए, तर उनको हत्या भयो र त्यसपछि राष्ट्रपति बनेका लिन्डन जोन्सनले इजरायललाई अनुमति दिएका थिए । अन्तिम भनाई सायद सही हो, होइन र ?
हो, यही सही हो । तर म के पनि भन्न चाहन्छु भने इजरायलले सन् २०२४ मा जो बाइडनलाई दुई पटक इरान विरुद्धको युद्धमा फसाउने प्रयास गरेको थियो । अप्रिलमा दमास्कसमा इरानी दूतावासमा आक्रमण गरेर र अक्टोबरमा तेहरानमै प्यालेस्टिनी नेताको हत्या गरेर । ती दुवै पटक इजरायल र इरानबिच मिसाइल आदानप्रदान भयो । इजरायल बाइडन प्रशासनलाई युद्धमा तान्न चाहन्थ्यो, तर बाइडन प्रशासन त्यो जालमा फसेन । अमेरिकाले इजरायलको रक्षा गर्न मद्दत गर्यौँ, तर इरानमाथि प्रत्यक्ष आक्रमण गरेन । तर अहिले ट्रम्प प्रशासन छ, जो इरानमाथि प्रत्यक्ष आक्रमणमा सम्लग्न भइसकेको छ ।

के यो युद्धको कुनै नैतिक वा कानुनी आधार छ ?
छैन । न यसको कुनै नैतिक आधार छ, न त कानुनी । आन्तरिक कानुन वा अन्तर्राष्ट्रिय कानुन– कुनै पनि हिसाबले यो सही छैन । कसैलाई कुनै देशको नेता मन परेन भन्दैमा त्यहाँ ‘शासन परिवर्तन’ का लागि आक्रमण गर्नु कुनै पनि कानुनले जायज ठहर्याउँदैन । तर राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय कानुन वा अमेरिकी कानुनको कुनै वास्ता छैन । उनी आफूलाई जे उपयुक्त लाग्छ, त्यही गर्छन् र कानुनलाई बेवास्ता गर्छन् ।
सैन्य रूपमा प्राप्त गर्न सकिने लक्ष्यका बारेमा के भन्नुहुन्छ ? हाम्रो गुप्तचर निकाय इरानले सन् २००३ देखि आणविक हतियार बनाइरहेको छ भन्छ । रक्षा सचिव यो शासन परिवर्तनका लागि होइन भन्छन् । राष्ट्रपति इरानी जनता सडकमा निस्कनुहोस्, हामी शासन परिवर्तन गराइदिन्छौँ भन्छन् । विदेशमन्त्री इरानले हामीलाई भविष्यमा हानि पुर्याउन सक्ने हतियार बनाइरहेको छ भन्छन् । यो सबै एक–अर्कामा विरोधाभाषी छैन र ?
संयुक्त राज्य अमेरिकाका लागि इरानबाट कुनै खतरा छैन । इजराइलको मुख्य लक्ष्य इरानमा शासन परिवर्तन हो । मानिस इरानको मिसाइल वा आणविक क्षमता नष्ट गर्ने कुरा गर्छन्, तर शासन परिवर्तन नगरी ती कुरा रोक्न सकिँदैन । यदि तपाईंले अहिले मिसाइल केन्द्र नष्ट गर्नुभयो भने, उनीहरूले फेरि बनाउनेछन् ।
इजरायल के सोच्छ भने शासन परिवर्तन गरियो र इरानमा आफू अनूकुलको शासन स्थापित गरियो भने त्यसले समस्या समाधन हुनेछ । तर के शासन परिवर्तन सम्भव छ ? र, के नयाँ आउने शासक अमेरिकाको मित्र हुनेछ ? मैले त त्यस्तो कुनै सम्भावना देख्दिन । इरानमा जोसुकै सत्तामा आए पनि उनीहरूको अमेरिका र इजराइलप्रति शत्रुतापूर्ण व्यवहार नै हुनेछ ।
युद्धमा होमिनका लागि के इजराइलले ट्रम्पलाई बाध्य पारेकै हो ?
इजराइलको मात्रै होइन, यो ‘इजरायल लबी’कै दबाबको परिणाम हो । ट्रम्पका मुख्य वार्ताकारहरू जारेड कुश्नर र स्टिभ विट्कोफ कट्टर जायोनीस्ट हुन् । उनीहरू इजरायलका अधिवक्ता जस्ता छन् । यसले पनि के बुझिन्छ भने अमेरिका इजराइलको आदेशमा चलिरहेको छ । यदि यो शक्तिशाली लबी नहुँदो हो त हामीले इजराइललाई एउटा सामान्य देशका रूपमा व्यवहार गर्ने थियौँ । तर हामीले उसलाई विशेष र असाधारण स्तरको दर्जा दिएका छौँ ।

के तपाईं यति ठुलो स्तरको सैन्य परिचालनको खर्च अनुमान गर्न सक्नुहुन्छ ?
ठ्याक्कै भन्न सक्दिनँ । तर त्यो खर्च जत्रो भएपनि निकै ठुलो हुनेछ । ट्रम्पले यो युद्ध चार–पाँच हप्ता मात्रै चल्ने भनिरहेका छन्, तर मलाई लाग्छ यो धेरै लामो समयसम्म चल्नेछ । मुख्य कुरा खर्च मात्र होइन, हाम्रो हतियारको भण्डार हो । हामीले युक्रेन युद्धमा धेरै हतियार खर्च गरिसक्यौँ । अब इरानमा हतियार खपत गर्दा चीन विरुद्धको सम्भावित युद्धमा हामीसँग के बाँकी रहला ? अमेरिका, युक्रेन र मध्यपूर्वको युद्धमा फसेर आफ्नो सैन्य शक्ति सिध्याइरहेको छ भन्नेमा चिनियाँहरू पक्कै खुसी होलान् ।
चीन इरानबाट उत्पादन हुने तेलको ठुलो खपतकर्ता हो, के चीनले इरानमा सरकार परिवर्तन भएको हेर्न सक्ला ?
चिनियाँहरूले इरानी शासनलाई जोगाउन हरसम्भव प्रयास गर्नेछन् । इजराइलले अहिले नै आक्रमण गर्नुको कारण के पनि हो भने इरानलाई अहिले नै रोक्न सकिएन भने भविष्यमा उ झनै बलियो हुँदै जाने निश्चित छ । त्यसैले इजराइलले अमेरिकालाई प्रयोग गरेर अहिल्यै आक्रमण गर्न चाहेको हो । तर, इरानले टस–मस गर्ने छैन । शासन परिवर्तन भयो भने पनि नयाँ शासक झन् कट्टर हुन् सक्छन् । वास्तवमा हामीले इरानी नेताको हत्या गरेर इरानलाई आणविक हतियार बनाउनबाट रोक्ने मुख्यकर्तालाई नै हटाइ दियौँ । अब इरानले आणविक हतियार बनाउने सम्भावना झनै बढ्यो ।
ट्रम्प अमेरिकासँग असीमित हतियार छन् भन्छन् । के उनलाई गलत सूचना दिइएको छ ?
हो, जनरल केनले उनलाई हतियारको कमी भएको चेतावनी दिएका थिए । ट्रम्पले जे भनिरहेका छन्, त्यो वास्तविकता भन्दा टाढा छ । इरानीहरूले इजराइल र अमेरिकी आधारहरूमा आक्रमण गरिरहनेछन् र विश्वको तेल मार्ग बन्द गर्ने प्रयास गर्नेछन् । ट्रम्पले इरानमा शाहका छोरालाई ल्याउने सपना देखिरहेका छन्, जो ४५ वर्षदेखि अमेरिकामा बसिरहेका छन् । उनलाई इरानी जनताले कहिल्यै स्वीकार्ने छैनन् भन्ने ट्रम्पलाई हेक्कै छैन । उनी त केवल अमेरिकाको कठपुतली हुन् ।
यसबिच टर्कीको भूमिकालाई कसरी हेर्नुभएको छ ? इजराइली नेताहरू टर्कीलाई इरान भन्दा ठुलो खतरा किन मान्छन् ?
टर्की इरान बाँचेको हेर्न चाहन्छ । किनभने इरान समाप्त भयो भने इजरायलको अर्को निशाना टर्कीमा हुनेछ भन्ने उसलाई थाहा छ । इजराइल मध्यपूर्वमा एक्लो शक्तिशाली देश बन्न चाहन्छ । त्यसैले टर्कीले पनि अब आफ्नो सुरक्षाका लागि आणविक हतियारको कुरा गर्न थालेको छ ।

यो युद्ध कसरी अन्त्य होला ? केही सोच्नुभएको छ ?
यो क्षेत्रीय युद्ध बनिरहेको छ । यो युद्धमा पैदल सेना पठाउनु अमेरिकाका लागि आत्मघाती हुनेछ । यदि इरानलाई आफ्नो अस्तित्व संकटमा छ जस्तो लाग्यो भने उसले विश्वको तेल पूर्वाधार नष्ट गरिदिनेछ, जसले विश्व अर्थतन्त्रलाई बर्बाद पार्नेछ । ट्रम्पले अमेरिकालाई त्यस्तो समस्यामा फसाई दिएका छन्, जसबाट निस्कने सजिलो बाटो नै छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण