आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२६ वर्षपछि अछामको लाल किल्ला भत्काउने भरत स्वाँर

बीपीको हातबाट सदस्यता लिएर रावललाई हराउँदासम्म कस्तो रह्यो राजनीति यात्रा ?
शनिबार, २३ फागुन २०८२, २० : ०५
शनिबार, २३ फागुन २०८२

धनगढी । विगत २६ वर्षदेखि कम्युनिस्टको पकडमा रहेको अछाम क्षेत्र नं. १ लाई धेरैले लाल किल्लाको उपमा दिने गरेका थिए । यसपटकको प्रतिनिधि सभाको निर्वाचन परिणामले त्यो किल्ला भत्किएको छ। यो किल्ला भत्काउने पात्र हुन्– ७० वर्षीय कांग्रेस नेता भरतकुमार स्वाँर ।

शनिबार सार्वजनिक मत परिणाम अनुसार स्वाँरले एमालेका पूर्व उपाध्यक्ष तथा प्रभावशाली नेता भीम रावल हाल नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई ५ सय २६ मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका छन्। स्वाँरले १० हजार ७ सय ५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रावलले १० हजार २ सय ३३ मतमा चित्त बुझाउनु पर्‍यो। यो जितपछि अछाम–१ मा २६ वर्षपछि नेपाली कांग्रेसको सुखद पुनरागमन गरेको छ ।

राष्ट्रिय राजनीतिमा भीम रावल जति चर्चामा हुन्छन्, भरत स्वाँर अछामको माटोमा उत्तिकै भिजेका नेता हुन्। वि.सं. २०१२ साल असार २४ गते अछामको रिडीकोटमा जन्मिएका स्वाँरको जीवनको अधिकांश समय अछामकै पाखा–पखेरामा बितेको छ।

उनको राजनीतिक जग सामान्य छैन। २०३० सालमा एसएलसी उत्तीर्ण गरेपछि क्याम्पस पढ्दापढ्दै नेविसंघको राजनीतिबाट उनको यात्रा सुरु भएको थियो। पञ्चायतको त्यो कालरात्रीमा २०३४ सालमा नेपाली कांग्रेसका महामानव बीपी कोइरालाको हातबाट साधारण सदस्यता लिएर औपचारिक राजनीतिमा होमिएका स्वाँरले लोकतन्त्रका लागि ठुलो सङ्घर्ष गरेका छन् ।

‘मैले बीपी कोइरालाको हातबाट सदस्यता लिएँ, त्यसपछि पञ्चायत विरोधी आन्दोलनमा लाग्दा अछाम र बाजुराको जेलमा धेरै पटक थुनिनुपर्‍यो,’ उनले भने। प्रशासनको दमन र पञ्चायतका पक्षधरहरूको घेराबन्दी तोड्दै उनी निरन्तर अछाममै डटिरहे ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि अछाम–१ मा यिनै दुई पात्र आमनेसामने थिए– भरत स्वाँर र भीम रावल। त्यतिबेला वाम गठबन्धनको लहर थियो। स्वाँरले १८ हजार मत ल्याउँदा पनि पराजय भोग्नुपरेको थियो ।

५ वर्षअघि १८ हजार मत ल्याएर हार्ने स्वाँर, यस पटक १० हजार ७ सय ५९ मत ल्याएरै विजयी भए। अछाममा बसाइँसराइका कारण रित्तिएका गाउँ र घटेको मत खसेको अवस्थालाई यो तथ्याङ्कले उजागर गर्ने गरेको उनले जितपछि रातोपाटीसँग संवाद गर्दै भने । 

‘अछाममा अहिले मान्छे छैनन्, गाउँ रित्ता छन्। जंगली जनावरको आतङ्क छ। तैपनि यहाँ भएका दाजुभाइले मलाई विश्वास गर्नुभयो,’ स्वाँर भन्छन्, ‘भीम रावलजी ठुलो विद्वान हुनुहुन्छ, धेरै पटक मन्त्री हुनुभयो तर जनताले यस पटक मलाई रोजे ।’

स्वाँर २०४९ सालमा अछाम जिविस सभापति हुँदै दुई पटक नेपाली कांग्रेस अछामको जिल्ला सभापति भएर सङ्गठन विस्तारमा लागिरहे। उनी आफूलाई अछामी जनताको सेवक भन्न रुचाउँछन् ।

स्नातक तह (बीए) प्रथम वर्षसम्मको औपचारिक अध्ययन गरेका स्वाँरको राजनीतिक डिग्री भने निकै उच्च छ। ‘वर्षको ३६५ दिनमा ३५० दिन म अछाममै हुन्छु। यहाँका जनताको सुखदुःख, सिटामोल नपाउने अवस्था र शिक्षाको दुर्दशालाई मैले नजिकबाट देखेको छु,’उनले भने।

७० वर्षको उमेरमा संसद्‌मा प्रवेश गरेका उनले यसलाई आफ्नो पहिलो र अन्तिम संसदीय इनिङ्सको रूपमा घोषणा गरेका छन्। ‘यो मेरो पहिलो र अन्तिम पटक हो। म फेरि चुनाव लड्ने छैन। मेरो जीवनको उत्तरार्धका यी ५ वर्ष म विशुद्ध अछाम र अछामी जनताको सेवामा समर्पित गर्नेछु,’ स्वाँरले भने।

नवनिर्वाचित सांसद स्वाँरले आफ्नो कार्यकालका लागि स्पष्ट रोडम्याप कोरेका छन्। उनको पहिलो सपना सेती लोक मार्गलाई पूर्णता दिनु हो। ‘यो सडक बनेमा चीनको ताक्लाकोट हुँदै अछामबाट ४ घण्टामै धनगढी पुगिन्छ। बिहान घरबाट हिँडेर बेलुका काम सकेर घर फर्किने वातावरण बनाउनु छ,’ उनले भने।

यस्तै, वर्षौँदेखि अलपत्र बुढीगंगा जलविद्युत आयोजनालाई अघि बढाउने, ५० शय्याको जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने र खप्तड, रामारोशन तथा बडीमालिका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उनका प्रमुख एजेन्डा छन्।

शिक्षा र स्वास्थ्यको दयनीय अवस्था सुधार्दै रोजगारीका लागि भारत र कालापहाड जानुपर्ने बाध्यता अन्त्य गर्ने सङ्कल्प उनले लिएका छन्। ‘म अछामी दाजुभाइको सेवा गर्नु नै मेरो धर्म हो भन्ने सोच्छु,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप