मधेसी दलले गर्न नसकेको दायित्व रास्वपाले पूरा गरोस् : भण्डारी
सारांश
- जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले रास्वपालाई प्रतिनिधिसभा निर्वाचनको सफलताको शुभकामना दिएका छन्।
- भण्डारीले संघीयता, समानुपातिक समावेशिता र पहिचानमा आधारित अधिकारलाई सुदृढ गर्नुपर्ने बताए।
- उनले जनताको मौन विद्रोहको संकेतलाई बुझ्दै राज्यको सोच र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनता समाजवादी पार्टी, नेपालका नेता शरतसिंह भण्डारीले शुभकामना दिएका छन् ।
मधेस आन्दोलन र मधेसवादी शक्तिहरूको अडानबाट प्राप्त सङ्घीयता, समानुपातिक समावेशिता र पहिचानमा आधारित अधिकार जस्ता ऐतिहासिक उपलब्धिहरूलाई थप सुदृढ र संस्थागत गर्नु अहिलेको महत्त्वपूर्ण दायित्व भएको भण्डारीले बताएका हुन्। उनले यस दायित्वको निर्वाहमा रास्वपाले जिम्मेवार र इमानदार प्रयास गर्ने अपेक्षासमेत व्यक्त गरेका छन्।
उनका अनुसार अहिलेको जनादेश केवल सत्ता परिवर्तन मात्र नभई जनताको मौन विद्रोहको सङ्केत पनि हो। त्यसैले यो जनादेश व्यक्ति परिवर्तनमा सीमित नरही राज्यको सोच, प्रणाली र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने दिशामा उपयोग हुनुपर्नेमा भण्डारीले जोड दिएका छन्।
महोत्तरी–२ बाट पराजित भएका नेता भण्डारीले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण मतदाताप्रति हृदयदेखि आभार प्रकट गरेका छन् । जनताको माया, भरोसा र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको उनले बताए । चुनावी अभियानका क्रममा गाउँ–टोल र बस्ती–बस्ती पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसरलाई उनले महत्त्वपूर्ण अनुभवका रूपमा लिएका छन्।
सामाजिक तथा राजनीतिक चेतनाको विकाससँगै आफू सधैँ जनताकै बिचमा रहेर काम गर्ने प्रयासमा रहेको उल्लेख गर्दै भण्डारीले आफ्नो योगदान र समर्पणको मूल्याङ्कन समय र इतिहासले गर्ने विश्वास व्यक्त गरेका छन् ।
आफू मधेसको माटोमा जन्मिएर यहीँ हुर्किएको बताउँदै उनले मातृभूमिको ऋण कहिल्यै तिर्न नसकिने भए पनि त्यसलाई कम गर्ने प्रयास जीवनभर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मधेसका अधिकार, पहिचान र सम्मानका मुद्दाका लागि निरन्तर सङ्घर्ष गरेको तथा आफ्नो सामर्थ्यअनुसार विकासका अपेक्षाहरू पूरा गर्ने प्रयास गरेको पनि उनले जानकारी दिए।
यद्यपि, अपेक्षाअनुसार सबै उपलब्धि हासिल गर्न नसकिएको स्वीकार गर्दै कतिपय ठाउँमा रणनीतिक तथा कार्यनीतिक कमजोरी भएको हुन सक्ने कुरा भण्डारीले स्वीकार गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
-
पुल बनेपछि आवतजावत सहज
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
-
विराटनगर महानगरले ल्यायो ३ अर्ब ५६ करोड ४७ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण