आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधि सभा निर्वाचन

शिक्षक हुँदै सङ्घीय सांसद बनेका जगत प्रसाद जोशी

२०७९ वैशाखमा आफ्नै वडा घोडाघोडी–१० को वडाध्यक्षमा उम्मेदवारी दिए। यहाँ पनि उनले हार व्यहोर्नुपर्‍याे।
शनिबार, २३ फागुन २०८२, २१ : २१
शनिबार, २३ फागुन २०८२

धनगढी । कैलाली क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट जगत प्रसाद जोशी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनामा उनी पुराना दलका नेतालाई पछि पार्दै निर्वाचित भएका हुन् । 

२०४३ साल साउन २८ गते बझाङको तत्कालीन बाझगाउँ अहिलेको जयपृथ्वी नगरपालिका–२ मा जन्मिएका जगत प्रसाद जोशीको बाल्यकाल पहाडमा बित्यो । बुबा लक्ष्मीराज जोशी शिक्षण पेसामा थिए । आमा जमुना देवी सामान्य गृहिणी थिइन् ।

२०५३ सालमा कैलालीको पहलमानपुर हाल घोडाघोडी नगरपालिका–१० मा उनको परिवार बसाइँ सरेको थियो। प्रारम्भिक शिक्षा बझाङमै लिएका उनले कैलाली आएपछि कान्ति राज्यलक्ष्मी माविबाट एसएलसी उत्तीर्ण गरे। पढाइमा अव्वल जोशीले विज्ञान विषयमा आईएस्सी हुँदै शिक्षाशास्त्रमा स्नातकोत्तर (एम.एड) सम्मको अध्ययन पूरा गरेका छन् ।

जोशीको राजनीतिक जग राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी नेतृत्वको पार्टी हो। वि.सं. २०५६ सालदेखि अनेरास्ववियु छैटौँ बाट विद्यार्थी राजनीति सुरु गरेका उनी विद्यार्थी सङ्गठनको केन्द्रीय पार्षद् हुँदै पार्टीको कैलाली जिल्ला अध्यक्ष र केन्द्रीय पार्षद्सम्म भए। संसदीय राजनीतिमा भने उनलाई सधैँ असफलता मात्र हात लाग्यो ।

२०७० सालमा संविधान सभा सदस्यको उम्मेदवार बने, तर पराजित भए । २०७४ सालमा प्रदेश सभाको समानुपातिक उम्मेदवार बने, त्यहाँ पनि सफलता मिलेन। २०७९ वैशाखमा आफ्नै वडा घोडाघोडी–१० को वडा अध्यक्षमा उम्मेदवारी दिए। यहाँ पनि उनले हार व्यहोर्नुपर्‍याे।

लामो समय शिक्षण पेसा र कम्युनिस्ट राजनीतिमा होमिएका जोशीका लागि यी हारहरूले निराश बनाउन सक्थे, तर उनले हिम्मत हारेनन् । निरन्तरको पराजय र पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति वितृष्णा जाग्दै गर्दा देशमा राष्ट्रिय स्वतन्त्र पार्टी’को लहर चल्न थालेको थियो। जोशीले आफ्नो २३ वर्ष लामो राजनीतिक आबद्धता बदल्ने निधो गरे ।

गत साउन ३ गतेसम्म उनी राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला अध्यक्ष थिए। साउन ३ गते उनले पद र पार्टीबाट राजीनामा दिए। ठिक भोलिपल्ट, साउन ४ गते घोडाघोडी–१० को वडा अधिवेशन चलिरहँदा उनी रास्वपामा प्रवेश गरे ।

रास्वपाले उनको लामो राजनीतिक अनुभव, शैक्षिक योग्यता र समाजमा रहेको स्वच्छ छविको मूल्याङ्कन गर्दै प्रतिनिधि सभाको टिकट थमायो । ‘पैसा थिएन, विचार लिएर जनताको घरदैलोमा पुगेँ’उनले भने ।

ठुला दलका उम्मेदवारहरू तामझामसहित भोट माग्न हिँड्दा जोशीसँग भने प्रचारका लागि पर्याप्त पैसा थिएन । ‘आर्थिक रूपमा म निकै कमजोर थिएँ। मसँग देखावटी तामझाम गर्ने सामर्थ्य थिएन,’उनले भने । 

साउन ६ गतेदेखि नै उनी घरदैलो अभियानमा होमिए। उनले प्रत्येक मतदाताको घरमा पुग्ने प्रयास गरे। वडा चुनावमा हराएका छिमेकीहरूले नै यस पटक उनलाई न्याय गरे। शिक्षण पेसामा रहँदा कमाएको छवि र नयाँ पार्टीको आशाले काम गर्‍यो। उनले जित हात पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप