कांग्रेसबाट विद्रोह, स्वतन्त्र हुँदै रास्वपाबाट संसदीय यात्रामा पुगेका हरिमोहन
सारांश
- बैतडीबाट रास्वपाका हरिमोहन भण्डारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए, उनले २२ हजारभन्दा बढी मतले चुनाव जिते।
- भण्डारीले समाजसेवा र विकासमा केन्द्रित रहने प्रतिबद्धता जनाए, साथै भ्रष्टाचार अन्त्यलाई प्राथमिकता दिने बताए।
- उनले बैतडीको सम्भावना उजागर गर्ने, रोजगारी सिर्जना गर्ने र युवालाई गाउँमै राख्ने योजना बनाएका छन्।
धनगढी । बैतडीबाट ५९ वर्षीय रास्वपका नेता हरिमोहन भण्डारीले २२ हजार १३४ मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। ३ हजार ९४० मतले उनले चुनाव जितेका हुन्। निर्वाचित भएपछि भण्डारीले रातोपाटीसँग कुरा गर्दै आफू बैतडीको माटोको छोरा भएको र अबको राजनीति विशुद्ध समाजसेवा र विकासमा केन्द्रित हुने बताएका छन्।
२०२३ साल भदौ २४ गते बैतडीको पाटनस्थित भण्डारीगाउँमा जन्मिएका हरिमोहनको पारिवारिक पृष्ठभूमि राजनीतिक छ। उनका बुवा स्वर्गीय लक्ष्मण सिंह भण्डारी पञ्चायतकालका प्रधानपञ्च तथा नेपाली कांग्रेसका नेता थिए। उनका एक भाइ नेपाल प्रहरीमा एआईजी छन् भने दुई दिदीबहिनी र दुई छोरी छन्।
काठमाडौंको आरआर क्याम्पसबाट स्नातक गरेका हरिमोहनले १५–१६ वटा देशको भ्रमण गरिसकेका छन्। उनी आफूलाई राजनीतिज्ञभन्दा पनि सामाजिक अभियन्ता र बैतडीको संस्कृति तथा संस्कार बुझेको व्यक्तिका रूपमा चिनाउन रुचाउँछन्।
हरिमोहनको राजनीतिक यात्रा नेपाली कांग्रेसबाट सुरु भएको थियो। उनी तीन पटक कांग्रेसको महासमिति सदस्य भइसकेका थिए। तर, पार्टीले टिकट दिएर पनि खोसेपछि उनले विद्रोह गरेका थिए। २०७४ मा कांग्रेसबाटै र २०७९ को निर्वाचनमा उनले प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए। दुई पटक प्रदेश सभामा उनले हार व्यहोरे। २०७९ मा स्वतन्त्र लड्दा थोरै मतान्तरले पराजित भए पनि उनले ११ हजारभन्दा बढी मत ल्याएका थिए।
पछिल्लो समय देशमा परिवर्तन आवश्यक ठानेर र रवि लामिछाने तथा बालेन शाह जस्ता नयाँ अनुहारहरूको उदयसँगै उनी आफ्नो स्वतन्त्र टिमसहित रास्वपामा प्रवेश गरेका हुन्।
भण्डारीले आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन्।
‘देश खोक्रो भइसक्यो, ऋणमा डुबिसक्यो,’ उनले भने ‘अब भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्छ। मेरो पहिलो प्राथमिकता नै ’जेल भरौँ अभियान’ हुनेछ।’
हरिमोहनले बैतडीमा रहेका सम्भवानालाई उजागर गर्ने बताएका छन्।
सेती र महाकालीजस्ता नदीनाला, खनिज पदार्थ र पर्यटनको प्रचुर सम्भावनालाई उपयोग गर्ने, गाउँगाउँमा फलफूल खेर गइरहेको अवस्था छ। बाँझो जमिनलाई उपयोग गर्दै उत्पादनलाई बजारसँग जोड्ने उनको योजना छ। रोजगारी सिर्जना गरेर बिदेसिने युवालाई गाउँमै राख्ने उनको याेजना छ।
संसदमा गएपछि पुराना दलजस्तै रबर स्ट्याम्प नबन्ने उनले बताएका छन्। यदि आफ्नै पार्टी रास्वपाले पनि बाटो बिरायो वा गलत काम गर्यो भने आफू पदमा टाँसिएर नबस्ने उनको चेतावनी छ।
‘म स्वार्थका लागि राजनीतिमा आएको होइन, यदि गलत ट्रयाकमा हिँड्यो भने २–३ वर्षमै राजीनामा दिएर जनतामा फर्किनेछु,’ उनले भने।
जनतासँग सधैँ नजिक रहने र पटक–पटक बैतडी आएर जनताकै घरमा बस्ने उनले प्रतिबद्धता जनाएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण