सभामुख हराउने उपसभामुख
सारांश
- नेकपा एमालेका नेता देवराज घिमिरेलाई इन्दिरा राना मगरले भारी मतले पराजित गरिन्।
- राना मगरलाई मानव तस्करीको आरोप लागेको थियो, तर जनताले उनलाई समर्थन गरे।
- राना मगरले बाल अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी छिन् र विभिन्न पुरस्कारहरू प्राप्त गरेकी छिन्।
विराटनगर । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका नेता देवराज घिमिरेले झापा २ बाट विजयी बनेका थिए । उनले त्यसबेला २८ हजार ७१६ मत ल्याए ।
पहिलो पटक प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख बनाए । तर, उनी सभामुख पदमा रहँदा उनले त्यो भूमिका निष्पक्ष ढङ्गले पुरा गर्न नसकेको भन्दै आलोचना भयो ।
अर्कातिर त्यही प्रतिनिधिसभामा पहिलो पटक नयाँ पार्टीको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई समानुपातिक सांसद बनाएर पठाएको थियो । रानालाई एमालेसहितको सहयोगमा उपसभामुख पनि बनाइयो । घिमिरे र राना दुवै जना झापाकै थिए ।
तर, परिस्थिति सधैँ एकनास रहेन । सत्ता र शक्तिको बलमा रहेका एमाले र नेपाली कांग्रेसले उपसभामुख रानालाई मानव तस्करीको आरोप लगाए । उनले अमेरिका जानका लागि केही युवाहरूलाई भिसाको समय मिलाइदिन भन्दै अमेरिकी दूतावासमा चिठी लेखेको विषयले संसद् तात्यो ।
संसद्मा उनलाई महाअभियोग लगाउनेसम्मको तयारी भए । तर काँग्रेस र एमालेको भित्री तयारी सफल भएन । अहिले भने ती सबै आरोपको एकमुष्ट जवाफ जनताले नै रानाको पक्षमा हुने गरी दिएका छन् ।
जेनजी विद्रोहपछि संसद् विघटन भएर नयाँ निर्वाचन सम्पन्न हुँदा उनै इन्दिरा राना मगरले तत्कालीन सभामुख देवराज घिमिरेलाई भारी मतान्तरले पराजित गरिन् । शनिबार अबेर सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार मगरले ६० हजार ११० मत पाउँदा घिमिरेले ११ हजार ३६८ मत मात्रै ल्याए । उनीहरूबिचको मतान्तर ४८ हजार ७४२ रहेको छ ।
झापाको अर्जुनधारामा २०२७ सालमा जन्मिएकी रानाको बाल्यकाल साधारण थियो । समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी उनी साहित्यकार पारिजातको मानवअधिकारवादी संस्थामा स्वयंसेवक बनेकी थिइन् । त्यहीबेला इन्दिराले कारागार भ्रमणका क्रममा कैदीबन्दीका सन्तानहरूको अलपत्र अवस्था देखेपछि उनले गैरसरकारी संस्था बन्दी सहायता नेपाल दर्ता गरिन् र जेल सजाय भोगिरहेका महिलाका बालबच्चालाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्रदान गर्ने अभियान थालिन् ।
३ दशकदेखि यो क्षेत्रमा सक्रिय उनले सयौँ बालबालिकाको उद्धार गरेकी छिन् । २२ वर्षअघि दुई कोठा भाडामा लिएर काठमाडौँमा सुरु गरेको यो सेवा अहिले झापा, पाल्पा, काठमाडौँलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालनमा छन् । ती बालबच्चालाई पढाउन उनले दुई वटा प्राथमिक विद्यालयसमेत चलाएकी छन् ।
कोभिड महामारीका बेला उनले आम्दानीको अभावमा भोका परेका सयौँ मानिसहरूलाई खाना वितरण गरिन् । सन् २००५ मा उनलाई ‘अशोका फेलो’ पुरस्कार प्राप्त भयो भने २००९ मा एसिया जनसेवा अवार्ड र सन् २०१४ मा नोबेल विजेता मलाला युसुफजाई तथा अमेरिकी जोन उडसँगै वर्ल्ड चिल्ड्रेन अनररी अवार्ड पाइन् । सन् २०१७ मा बीबीसीले बीबीसी १०० वुमन सूचीमा समेटेर विश्वका प्रेरणादायी महिलामध्ये एक बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण