आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जङ्गलमा किशोरी मृत फेला : बलात्कारपछि हत्या आरोपमा ४ जना पक्राउ

कहाँ पुग्यो अनुसन्धान ?
मङ्गलबार, २६ फागुन २०८२, १७ : १८
मङ्गलबार, २६ फागुन २०८२

सुर्खेत । सुर्खेतमा एक १६ वर्षीया किशोरीलाई बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सबै १८ वर्षमुनिका व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले रातोपाटीलाई बताए ।

त्यस कारण उनीहरूको नाम खुलाइएको छैन । उनका अनुसार घटना फागुन २३ गते बिहानको हो । वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनमा शनिबार बिहान ९ बजेतिर मर्निङवाक गर्न गएकाहरूले किशोरी बेहोस अवस्थामा फेला परेको भन्दै प्रहरीलाई फोन गरेका थिए ।

‘सोधपुछका क्रममा गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीय इनिसा विक भएको पत्ता लाग्यो,’ बुढ्थापाले भने । त्यसपछि उपचारका लागि प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।सोही दिन प्रहरीले घटनास्थल नजिकैबाट १६ वर्षीय एक बालकलाई पक्राउ गरेको थियो ।

पीडित पक्षले फागुन २४ गते दिएको उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए ।

मृतक बालिका वीरेन्द्रनगरको एक निजी स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन् । प्रहरीलाई आफन्तहरूले भने अनुसार, इनिसा २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर उनी पढ्ने विद्यालय र इनिसा बेहोस अवस्थामा भेटिएको स्थान निकै टाढा छ।

स्कुल भन्दा उत्तरतर्फ करिब १० किलोमिटर दुरीमा पर्ने उक्त जङ्गलमा इनिसा रक्ताम्य अवस्थामा भेटिएकी थिइन् । ट्युसन पढ्न भन्दै बिहान ६ बजेतिरै घरबाट निस्किएकी ती किशोरी जङ्गलसम्म पुग्नुका पछाडि ती १६ वर्षीया युवकसँग प्रेम सम्बन्ध भएर हो कि भन्ने आशङ्का प्रहरीले गरेको छ।

यद्यपि त्यो विषयमा थप अनुसन्धान भइरहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए । ‘घर परिवारले ट्युसन पढ्न गएको भनिए पनि पक्राउ परेका १६ वर्षीय किशोरले मर्निङ वाक गर्न गएको भनेका छन्,’ ती अनुसन्धान अधिकृतले भने ।

मर्निङ वाक जाने बहानामा उनीहरुले जबरजस्ती करणी गरी हत्या गरेको आशङ्का प्रहरीले गरेको छ । ‘यद्यपि घटनाबारे अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले यस्तो गम्भीर प्रकृतिको घटनाबारे सबै कुरा अहिले भन्न मिल्दैन,’ ती अनुसन्धान अधिकृतले भने, ‘अनुसन्धान प्रभावित हुन सक्ला, अनुसन्धानपछि सबै थाह भइहाल्छ नै ।’

मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै दोषीहरूलाई कारबाहीको माग गरेका छन् । शवको पोस्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा भए पनि सद्गत भने गरिएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप