शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

इनिसा मृत्यु प्रकरणः के देखियो पोस्टमार्टममा, के भन्छ प्रहरी ?

प्रहरी भन्छ–शरीरका अन्य भागमा चोटपटक छैन, सामूहिक बलात्कारबारे अनुसन्धान हुँदै छ
बिहीबार, २८ फागुन २०८२, १७ : १७
बिहीबार, २८ फागुन २०८२

सारांश

  • सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको पोस्टमार्टम रिपोर्टले यौन सम्बन्धका क्रममा अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि गरेको छ।
  • प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक किशोरलाई पक्राउ गरेको छ, जसले इनिसासँग सहमतिमै यौन सम्बन्ध राखेको दाबी गरेका छन्।
  • घटनाको थप अनुसन्धानका लागि सीआईबीको टोली सुर्खेत पुगेको छ र पोलिग्राफ परीक्षणका लागि विज्ञ टोली बोलाइएको छ।

सुर्खेत । सामूहिक बलात्कारपछि हत्या भएको भनिएकी १६ वर्षीया इनिसा विकको पोस्टमार्टम रिपोट आएको छ । 

भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरेका थिए । जसमा यौन सम्बन्धका लागि जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हुनसक्ने कुरा उल्लेख गरेको छ । 

‘पोस्टमार्टममा डाक्टरले ठ्याक्कै यही हो भनेर दाबी गरेको छैन, त्योचाहिँ भिसेरा परीक्षणपछि यकिन गर्न सक्ने भनेको छ,’ रिपोर्ट अध्ययन गरेका एक अनुसन्धान अधिकृतले रातोपाटीसँग भने, ‘रिपोर्टको व्याख्यामा चाहिँ जेनाइटल पार्टहरूमा चोटपटक लागेको भनिएको छ, त्यो भनेको यौनाङ्ग, भित्र हाइमनदेखि पाठेघरमा पनि चोट लागेको कारणले अत्यधिक रक्तश्राव भएको देखिन्छ ।’ 

सोही कारण इनिसाको मृत्यु भएको हुन सक्ने रिपोर्टमा उल्लेख छ । 

रिपोर्टअनुसार इनिसामाथि अभियुक्त १६ वर्षीय नाबालक किशोरले जबर्जस्ती करणी गरेर यौन सम्बन्ध स्थापित गरेको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ । ती युवाले इनिसा आफ्नो प्रेमिका भएको बयान दिएका छन् भने सहमतिमै यौन सम्बन्ध राखिएको भनेका छन् । उनी शनिबार नै घटनास्थलबाट पक्राउ परेका थिए । 

‘करणीपछि नै इनिसाको जेनाइटल पार्टहरूमा चोटपटक लाग्नेदेखि रगत धेरै बग्दा मृत्यु भएको देखिन्छ,’ रिपोर्टलाई उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले भने । घटनास्थलमा प्रहरीको अनुसन्धानबाट पनि इनिसाको शरीरका अन्य भागहरूमा चोटपटक नलागेको र यौनाङ्गबाट नै बगेको रगतले केही भाग भिजेको देखिएको छ । साथै जमिनमा पनि रगत बगेको छ । 

‘घटनास्थलअलि समथर ठाउँ, नजिकै दायाँपट्टि झोला राख्या छ, केटाले केटीको  मोजा, जुत्ताहरू खोलेर राखेको छ,’ अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत भन्छन्, ‘अनि त्यहाँ ब्लड पनि छ जमिनमा, अनि केटाले बोकेको झोला, अरु सामान छेउमा राख्या छ ।’ 

उनका अनुसार यौन सम्बन्धका बेला जबर्जस्ती गरेपछि अत्यधिक रगत बग्यो, केटी बेहोस भएपछि र रगत देखिसकेपछि केटा आफैमा ‘के गरौँ, कसो गरौं’ भनेर अत्तालिएको देखिन्छ । त्यसपछि उसले इनिसालाई तानेर लगभग साढे दुई मिटरजति पर लगेर समथर ठाउँमा राखेको उनले बताए । उनी थप भन्छन्, ‘तान्दा पात पतिङ्गरहरू लस्किएको देखिन्छ भने केटीलाई अल्टाई पल्टाई पनि गरेको देखिन्छ । त्यसपछि त्यहाँ सुताएर अरूलाई खबर गर्न गएको देखिन्छ ।’ 

प्रहरीका अनुसार इनिसाको यौनाङ्गको रक्तश्रावबाहेक ढाडमा अलि कोतरिएको छ । त्यो तान्दा साल तथा अन्य बोटविरुवाहरुले अलि कोतरेको खालको छ । ‘त्यसबाहेक शरीरमा अरु चोटपटक छैन,’ उनी भन्छन् ।
अहिले यो घटनाबारे सार्वजनिक रुपमा विभिन्न तरिकाले बहस भइरहेका छन् । 

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । 

शनिबार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

अहिले प्रहरीले अनुसन्धानमा कुनै कमी नहोस् भनेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छ भने आएका रिपोर्टमाथि थप वैज्ञानिक तवरणले अनुुसन्धान गरिरहेको छ । थप अनुसन्धानका लागि काठमाडौँबाट सीआईबीको टोली पनि सुर्खेत आएको छ । 

इनिसाका परिवार तथा आफन्तहरूले सामूहिक हत्या भएको भन्दै न्यायको माग गरेका छन् । उनीहरूकै उजुरीका आधारमा प्रहरीले फागुन २४ गते अन्य तीन नाबालकलाई पनि पक्राउ गरेको छ । तर बयानका क्रममा मुख्य अभियुक्त भनिएका १६ वर्षीय किशोरले इनिसा बेहोस भएपछि अस्पताल लैजान मद्दत मागेको भनेका छन् । 

उनीहरूले सही वा झूट बोलेका हुन् भन्ने विषयमा अनुसन्धानका लागि नेपालगन्जबाट पोलिग्राफ गर्ने विज्ञ टोली सुर्खेत आएको छ । ‘उक्त पोलिग्राफले झुटो बोलेको पत्ता लगाउँछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले रातोपाटीसँग भने, ‘सीडीआर एनालिसिसहरू लगायतका विज्ञ टोली बोलाइएको छ ।’ 

उनका अनुसार अनुसन्धानको करिब अन्तिम अवस्थामा प्रहरी पुगेको छ । यद्यपि कुनै पनि अनुसन्धानको पाटो नछुटोस् भनेर थप विज्ञहरूको टोलीको मद्दत मागिएको हो ।

यो पनि पढ्नुहोस् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप