बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘मुन्नाभाई एमबीबीएस’ की चर्चित अभिनेत्री मुमैत किन भइन् गायब ?

शुक्रबार, २९ फागुन २०८२, १४ : ५४
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • अभिनेत्री मुमैत खान, जो 'मुन्नाभाई एमबीबीएस' बाट चर्चित भइन्, लामो समयदेखि फिल्मबाट टाढा छिन्।
  • उनले एक दुर्घटनाका कारण फिल्म उद्योग छोड्नुपरेको र स्वास्थ्य समस्याका कारण काम गर्न नसकेको बताइन्।
  • मुमैतले हाल हैदरावादमा मेकअप र हेयर ट्रेनिङ इन्स्टिच्युट खोलेर व्यवसाय गरिरहेकी छिन्।

मुम्बई । सन् २००३ मा रिलिज सुपर हिट फिल्म ‘मुन्नाभाई एमबीबीएस’ को गीत ‘देख ले’ बाट रातारात चर्चामा छाएकी अभिनेत्री मुमैत खान लामो समयदेखि फिल्मी पर्दाबाट बाहिर छिन् । कुनै समय आइटम डान्स र अभिनयका कारण बलिउड र साउथ फिल्ममा तहल्का मच्चाएकी मुमैत एकाएक ग्ल्यामर दुनियाँबाट टाढा भएकी हुन् ।

उनले हालै सामाजिक सञ्जालमार्फत आफू ग्ल्यामर दुनियाँबाट टाढा हुनुको पीडादायी खुलासा गरेकी छन् । जसमा आफू टाढा हुनुलाई एक दुर्घटना बताएकी छिन् । ‘काँटे’, ‘शक्ति’, ‘हलचल’, ‘लकी’ र ‘राउडी राठौर’ जस्ता धेरै चर्चित फिल्महरूमा काम गरेकी उनी सफलताको शिखरमा रहेकै बेला अचानक हराएकी हुन् ।

मुमैतका अनुसार उनले फिल्म उद्योग स्वेच्छाले छोडेकी थिइनन्, बरु एउटा भयानक दुर्घटनाका कारण उनी थला परेकी थिइन् । उनका अनुसार उनको दिमागको पाँच वटा नसा फुटेका थिए । चिकित्सकहरूले उनलाई कम्तीमा सात वर्षसम्म काम नगर्न र कुनै पनि गह्रौँ सामान नउचाल्न सुझाएका थिए ।

‘मैले इन्डस्ट्री छोडेको थिइनँ, तर भगवानले मेरो काममा ‘फुल स्टप’ लगाइदिनुभयो’, उनले भनिन् । उपचारका क्रममा प्रयोग गरिएका औषधिहरूका कारण मुमैतको तौल निकै बढ्यो । शारीरिक परिवर्तनका कारण उनलाई फिल्ममा काम आउन छाड्यो । ती सात वर्षको कठिन समयमा उनले आर्थिक अभावको पनि सामना गर्नुपर्यो, जतिबेला उनकी आमाले उनको सम्पूर्ण खर्च बेहोरेकी थिइन् ।

लामो समय घरमै आराम गर्ने क्रममा मुमैतले आफ्नो रुचि मेकअप र कपालको सजावटमा रहेको महसुस गरिन् । यही रुचिलाई उनले व्यवसायमा बदल्ने निर्णय गरिन् । अहिले उनले हैदरावादमा आफ्नै ‘मेकअप र हेयर ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालन गरिरहेकी छिन् ।

उनको एकेडेमीले व्यावसायिक कोर्सहरू सञ्चालन गर्नुका साथै विद्यार्थीहरूलाई पढ्नका लागि ऋणको सुविधा समेत उपलब्ध गराउँदै आएको छ । अहिले उमेरले ४० वर्ष पुगेकी मुमैत अविवाहित नै छिन् । उनलाई आफ्नो जीवन र विगतका निर्णयहरूमा कुनै पछुतो छैन ।

भन्छिन्– ‘हरेक मानिसले अरूलाई मूल्याङ्कन गरिरहन्छन् । मलाई कसैलाई कुनै स्पष्टीकरण दिइरहनु आवश्यक छैन । मलाई मेरो वर्तमान काम र जीवन धेरै मन परेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप