अब कविता वाचन गर्न आउने छैनन् सुरेश किरण
सारांश
- प्रसिद्ध कवि तथा पत्रकार सुरेश किरणको निधन भएको छ, जसले नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनमा अपूरणीय क्षति पुर्याएको छ।
- किरणको जीवनशैली, समभाव र हरेक व्यक्तिको सहयात्रीका रूपमा उनको व्यक्तित्व लोकप्रिय थियो।
- उनले नेपालभाषामा कविता रचना गर्नुका साथै पत्रकारिता र लेखनमार्फत व्यङ्ग्यकारको रूपमा पनि पहिचान बनाएका थिए।
प्रायः मानिसलाई असल बनेर बाँच्न कठिन हुन्छ । असल बन्न र असल बनेर देखाउनका लागि कयौँ व्यक्ति जीवनभर प्रयासरत रहन्छन् । सुरेश किरणलाई खराब बन्न गाह्रो भो । जीवनमा कुनै–कुनै व्यक्ति र उनीहरूको कामलाई मूल्याङ्कन गर्ने असल र खराबको मानक नै कमजोर बनिदिँदो रहेछ ।
सुरेश किरण तिनैमध्येका एक थिए ।
व्यक्तित्वका अनेक आयामबिच कोही कस्ता व्यक्ति थिए भन्ने विषय सामान्यतया समाजमा विविध कर्म साधनामा लाग्ने सहकर्मी र दौँतरीहरूले दिने प्रतिक्रिया हुन् ।
नेपालभाषा मंकाःखलःको प्राङ्गणमा उहाँको पार्थिव शरीर थियो । आँखाहरू बोलिरहेका थिए, "सुरेश मृत्युसँग जितेर तिमी फर्केर आऊ ।" उनलाई अलविदा भन्न कसैको मन मानिरहेको थिएन ।
वातावरण अश्रुस्रावयुक्त थियो । सुँक्क... सुँक्क... परिरहेका मनहरू अथाह विह्वलमा थिए । विरह मधुर ध्वनिमा गुञ्जिरह्यो । सुरेश शान्त, धीर, ध्यानस्थ, सांसारिक माया मोह, लोभ र क्षोभ, घृणारहित मूर्तितुल्य स्तब्ध !
राष्ट्रिय भाषा आयोगका बहालवाला सदस्य रहनुभएका उहाँको चिरनिद्रावत् शरीरलाई उहाँ डुल्ने गरेका, हुर्केका गल्लीहरूमा अन्तिम पटक डुलाउँदै बिदाइका लागि लुति अजिमा अवस्थित चितामा सुताइएको थियो ।
उहाँको चिताको धुवाँसँगै बिदाइका अश्रुभावहरू उड्दै-उड्दै हावासँग विलीन भए ।
सायद बिदाइ गरी फर्किरहेको हुलमा प्रत्येकको मनमा गुञ्जिरहेको थियो–
तिमीले छोडेर गयौ या हामीले छोडेर आयौँ
हामी र तिमीबिच फाटो ल्याइदिने
मृत्युसँग आज युद्ध गर्न मन लागेको छ ।
– सुरेश
उनी भाषिक, पहिचान पक्षधरहरू वा साहित्यकारमाझ उनका कामले लोकप्रिय थिए नै । त्योभन्दा पनि लोकप्रिय उनको सरल जीवनशैली, समभाव र हरेक व्यक्तिको सहयात्रीका रूपमा उनको व्यक्तित्व लोकप्रिय थियो ।
पत्रकारिता जगत्मा उनी भाषा र सम्प्रेषणले मात्रै लोकप्रिय बनेका होइनन्, 'विश्वभूमि' हुँदै 'सन्ध्या टाइम्स' र 'नेपालभाषा टाइम्स'मा काम गर्ने सहकर्मी होऊन्, साहित्य क्षेत्रका, व्यङ्ग्य नाट्य विधा मञ्चन गर्दाका कलाकारहरू होऊन्, आन्दोलन र अभियान क्षेत्रका सहयोद्धाहरू होऊन् वा अनुज सहकर्मीहरूका लागि एक अभिभावक, प्रेरणा र सहृदयी होऊन्; उनीहरू सबैमाझ उनको व्यक्तित्वले एउटा छुट्टै छाप छोडेको थियो ।
सबैका सुरेश दाइ । सुरेश दाइ भन्न पाउँदा गर्व महसुस गर्थे सबै । सुरेश दाइ भन्न मात्र पाउनुमा खुसी हुन्थे सबै । सुरेश किरण अर्थात् सुरेश दाइ । तिनै सुरेश दाइ, लोकप्रिय मान्छे आज हामीमाझ छैनन् ।
मनैदेखि ‘छैनन्’ भन्न पनि मन छैन ।
तत्कालीन नेपालभाषामा प्रकाशित हुने साप्ताहिक 'इनाप'का लागि कम्पोजिटरका रूपमा प्रवेश गरेका सुरेश किरणले नेपालभाषाकै दैनिक पत्रिका 'विश्वभूमि' प्रकाशनको नेतृत्व सम्हाल्ने काम गरी आफ्नो पत्रकारिता र लेखनकलाबाट व्यङ्ग्यकार हुन पुगे ।
‘सुकि’ राजनीतिक र सांस्कृतिक व्यङ्ग्य स्तम्भ थियो । यही ‘सुकि’ व्यङ्ग्य स्तम्भमार्फत पाठकहरूमाझ व्यङ्ग्यकारका रूपमा चिनिए । कविता लेख्दै साहित्यिक यात्रा सुरु गरेका सुरेश किरणले ०४६ सालको जनआन्दोलनको सङ्कटकाल र कर्फ्युको समयमा समाचार सङ्कलन गर्ने क्रममा डाक्टरको भेषमा वीर अस्पताल छिरेर सर्वोच्च कमान्डर जननायक गणेशमान सिंहको अन्तर्वार्ता लिने साहस पत्रकारिता जगत्का लागि अविस्मरणीय क्षण रहेको कुरा लेखक, नेवाः आन्दोलनका अगुवा तथा मानवअधिकारवादी नेता मल्ल के. सुन्दर हामीमाझ भनिरहनुहुन्थ्यो ।
०५६ सालमा कवि नवीन चित्रकारको अगुवाइमा 'नेपालभाषा कविता दबू' गठन गरियो । नेपालभाषाको काव्य विश्वसामु चिनाउने उद्देश्य थियो– ‘लिजः नेपालभाषा कविता दबू’को । लिजःमा कविहरू भगतदास श्रेष्ठ, सुदन खुसः, नारद बज्राचार्य, ईश्वरीमैयाँ श्रेष्ठ, वसन्त महर्जनलगायत सुरेश किरण, श्रीराम श्रेष्ठ, पुष्प तुलाधर, रजनीमिला र रीता महर्जन हुनुहुन्थ्यो ।
त्यति नै बेला उहाँसँग रहेर कविता क्षेत्रमा काम गर्ने अवसर जुर्यो । हामी संस्थागत मात्रै नभई सामाजिक, सांस्कृतिक र नेपालमण्डल सभ्यतामाथि अतिक्रमणकारी राज्यका नीति र कर्महरूको आलोचनात्मक गफ र त्यसको क्रमभङ्गतालाई साहित्यिक उद्बोधको आवश्यकताका रूपमा चिन्तन कर्म गर्थ्यौं ।
आधुनिक कवितामा सिद्धहस्त कविका रूपमा स्थापित उहाँका कविताहरूमा बौद्धिक व्यङ्ग्य प्रचुर मात्रामा पाइन्छ । झट्ट हेर्दा गम्भीर प्रकृतिका सुरेश किरणका अनुहारमा मुस्कानका किरणहरूसँगै ठट्टाका रमाइला बाछिटाहरू प्रसारित हुन्थे र त्यसको प्रस्फुटनमा हामी बौद्धिक गहनताको रसास्वादन गर्थ्यौं ।
मूलतः नेपालभाषामा कविता रचना गर्ने सुरेश किरण आफैँ नेपालीमा कविता अनुवाद गर्नुहुन्थ्यो । मातृभाषाको विकास र राज्यले मातृभाषालाई दिनुपर्ने स्थानबारे जनपैरवी गर्दै पत्रकारिता र साहित्यलाई आन्दोलनको पर्याय बनाएका कवि सुरेश किरण आफू प्रतिभाशाली र पृथक् धारका कविता लेख्ने कवि भए पनि नेपालभाषामा विद्यमान सीमित चर्चा र ख्यातिबारे आफ्नो धारणा यसरी राख्नुहुन्थ्यो, ‘आफ्नो मातृभाषामा खुलेर मनको कुरा जसरी पोख्न पाइन्छ, त्यो अरू भाषाबाट सम्भव नहुन सक्छ । मातृभाषाबाट धेरै थोक भन्न सकिन्छ, त्यो पनि सटीक अर्थमा ।’ (फागुन २६, २०८०, कान्तिपुर)
यस समयका चर्चित कवि अभय श्रेष्ठ दोहोर्याई–दोहोर्याई भन्नुहुन्छ, "सुरेश किरण हाम्रो समयका सम्भवतः सबैभन्दा प्रतिभाशाली कवि थिए । कवितामा समसामयिकतालाई उच्च शिल्पसहित अद्भुत व्यङ्ग्यात्मक पुट दिने प्रवृत्तिमा उनको स्तरका कवि सायदै भेटिएलान् ।"
सुरेश किरणका कविताले समयसँगै हुर्केको समाज र मानिसका अवस्था एवं परिस्थितिलाई केलाउँदै सरल भाषामा तीक्ष्ण व्यङ्ग्ययुक्त गम्भीर अभिव्यक्ति पस्कन्थे–
भुइँचालो आउनेबित्तिकै जो भुग्लुक्कै ढल्यो,
त्यो मेरो देशको सरकार हो ।
भुइँ जब गुटुटुटु हल्लिन थाल्यो
जो सबभन्दा चाँडो खाटमुनि लुक्न गयो,
त्यो मेरो देशको सरकार हो ।
खुट्टा लुगलुग काम्न थालेपछि
सबभन्दा पहिला जो बेतोड कुद्यो
त्यो मेरो देशको सरकार हो ।
भुइँचालो रोकिएपछि
दायाँबायाँ हेर्दा आफू एक्लै ।
मानिसहरू सोध्दै थिए
खोइ सरकार ?
खै, कहाँ छ ?
सायद विदेशबाट झिकाइएको
सुँघ्ने कुकुरले
भग्नावशेषभित्र
जसको लास आजसम्म खोजिरह्यो
त्यो मेरो देशको सरकार हो ।
(यो मेरो सरकार हो, ने.सं. ११३५)
समाजका यावत् बेमेल, विषमता, पाखण्डभित्र हराएका मानिसका प्रवृत्तिलाई निख्खर काव्यिक स्वादमा पस्किने प्रतिभा विछट्ट छ । परिवर्तित समाजमा मानिसका अनेक विसङ्गतिहरूबीच मानिसलाई मानिस होइन, सिर्फ मानिसले लगाएको खोल र विविध स्थितिमा मानिसलाई ढाकिदिएका अनेक सजावटमाथि व्यङ्ग्यात्मक तरिकाले प्रहार गरेका कविताका हरफहरू–
एक देशलाई आज मानिसभन्दा जनता चाहिएको छ,
एक पितालाई आज एक मानिसभन्दा एउटा छोरा चाहिएको छ,
एक नेतालाई आज एक मानिसभन्दा एक मतदाता चाहिएको छ, मानिस होइन ।
(यो मानिसहरूको बजार, जहाँ मानिसभन्दा मानिसलाई छोप्ने खोल महँगो छ)
गत मङ्सिरमा समालोचक डा. ज्योति तुलाधरले प्रकाशित कृति ‘आधुनिक काव्य र विद्रोहया आवाजः एक विश्लेषण’मा सुरेश किरणको ‘थौं घण्टाघरं जिके ई न्यनाच्वन’ (आज घण्टाघरले मसँग समय सोधिरहेछ) पुस्तकमाथि विवेचनात्मक विश्लेषण गर्दै भन्नुभएको छ, ‘यस कवितासङ्ग्रहमा कवि सुरेश किरणले उत्तरआधुनिक काव्यिक प्रवाह अँगालेर नेपालभाषा आधुनिक कवितामा नौलो बौद्धिक चेतनशीलता र यथार्थवादी गाम्भीर्यपूर्ण पृथक् आयामको सुरुवात गरेका छन् ।’
कवि अभय श्रेष्ठ भन्नुहुन्छ, ‘पत्रकार, व्यङ्ग्यकार र नेपालभाषा तथा पहिचान आन्दोलन अभियन्ताका रूपमा धेरैले चिने पनि उनको सबैभन्दा उँचो व्यक्तित्व कवितामै थियो ।’ पत्रकारितालाई पेसाका रूपमा अपनाएका कवि सुरेश किरणले नेपालमण्डल सभ्यताको विषयमा अध्ययन-अनुसन्धान गरी थुप्रै उच्चस्तरीय लेखहरू प्रकाशित गर्नुभए पनि उहाँलाई कवि भनेको मन पर्थ्यो । र, नेपालभाषाको कविता विधामा महिला कविहरूको अभाव बेजोड रहेको महसुस हुन्थ्यो उहाँलाई ।
छिटपुट लेख्नेहरूलाई आँधीमय समयका अघिल्तिर उभ्याएर बेजोड कविका रूपमा उभिएको देख्न मन थियो उहाँलाई । इतिहासका पानामा त्यस्तो अवसर उहाँले पाउनुभयो कि भएन, थाहा छैन । तर, उहाँ नेपालभाषाका कविहरूलाई उभ्याउन अनवरत लागिरहनुभयो ।
०७९ सालमा नेपालभाषा एकेडेमीको आयोजनामा नेपालभाषा काव्य विधामा रुचि राख्ने तर कलम नचलेका महिलाहरूलाई प्रशिक्षित गर्ने काममा उहाँले हात बढाउनुभयो । र, तिनै प्रशिक्षित महिलाहरू सम्मिलित संस्था 'कविताया लाय्कू'ले चाहेको समयमा उहाँले आफ्नो अत्यधिक व्यस्तताका बाबजुद समय निकाल्नुभयो । मानार्थ सदस्यका रूपमा उहाँले नवोदित कविहरूलाई कविता लेख्न र विविध कार्यक्रममा वाचन गर्न अवसरहरू निकालेर डबली दिइराख्नुभयो ।
करिब एक महिनाअगाडि हाम्रो संवादमा दाइका ‘नयाँ कविताहरू कति भए ? अब एउटा सङ्ग्रह निकाल्नुपर्छ ।’ भनेँ मैले । त्यति मात्रै होइन, सामान्य भलाकुसारीकै क्रममा मैले उहाँको स्वास्थ्यबारे पनि चासो राखेँ ।
‘दाइ, तौल अलिक बढेजस्तो छ है, स्वास्थ्यमा कुनै समस्या देखिएको त छैन नि ?’ भनेँ मैले । उहाँले ‘हालसम्म त्यस्तो केही समस्या छैन । व्यस्तताका कारण अलिक हिँडडुल कम भएको छ’ भन्नुहुन्थ्यो ।
साँझतिर फोन गर्दा प्रायः व्यस्त हुने भएकाले सोध्नुपर्ने र जान्नुपर्ने कुराहरू मैले उहाँको म्यासेन्जरमा छोडिदिन्थेँ । धेरैजसो उहाँले राति ११ बजेतिर जवाफ लेखी पठाउनुहुन्थ्यो । त्यसपछि उहाँको नित्य कर्म, पढ्ने र लेख्ने हुन्थ्यो । त्यसैले उहाँ प्रायः २ बजे मात्रै सुत्ने गर्नुहुन्थ्यो ।
मातृभाषा, पहिचानका अविश्राम, प्रतिबद्ध र अथक योद्धाको असामयिक अवसान भएको छ । सुरेश किरणको यो महाप्रस्थानले मात्र सुरेशलाई लगेन, नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनलाई समेत पूर्ति गर्न नसकिने भँगालो छोडेर गएको छ ।
सामान्य शब्दमा भन्दा यो क्षति अपूरणीय छ । तर, खोइ किन हो मनले यो शब्दमा चित्त बुझाइरहेको छैन । उनको अवसान शब्दहरूमा व्यक्त गर्न नसकिने स्तरको छ ।
उनको आलोचनात्मक चेतसहितका कविता र त्यसको उचाइ, तीक्ष्ण व्यङ्ग्य नेपालभाषामा मात्र सीमित थिएन । त्यसैले यो अवसान नेपाली साहित्यकै लागि ठुलो क्षति हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण