शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विवादितलाई उपहार

प्रधानमन्त्रीलाई सधैँ विवादमा रमाउने पात्र किन यति 'प्यारो' ?

सोमबार, ०२ चैत २०८२, १५ : ४४
सोमबार, ०२ चैत २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आर्दश श्रेष्ठ विभिन्न विवादमा मुछिएका छन्, जसमा श्रीमती र अन्य नातेदारको नियुक्ति प्रमुख छ।
  • आदर्शले सर्वोच्च अदालतमा रहँदा पेसी व्यवस्थापनमा चलखेल गरेको आरोप लागेको छ, भने उनले प्रधानमन्त्री कार्कीको कार्यकालमा महत्वपूर्ण नियुक्तिहरू दिलाए।
  • विभिन्न नियुक्ति र कार्यशैलीका कारण आदर्श विवादमा तानिएका छन्, जसमा जेनजीका प्रतिनिधिहरूको विरोध र प्रधानमन्त्री कार्कीको बचाउ पनि समावेश छ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ सर्वोच्च अदालतको आईटी शाखाको कर्मचारी भएदेखि नै विवादमा छन्। 

प्रधानमन्त्रीको स्वकीय सचिवसम्म जिम्मेवारी सम्हाल्दा भने आदर्श विवादको शिखरमा रहे । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहदेखि प्रधानमन्त्री कार्कीसम्म नजिकको सम्बन्ध बनाएका आदर्श सर्वोच्चमै रहँदा पेसी व्यवस्थापनको विषयलाई लिएर विवादमा पर्थे । 

भदौ २३ र २४ को जेनजी आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने चर्चासँगै आदर्श अघिपछि देखिए । प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि आदर्श पहिलो रोजाइ बन्न पुगे । प्रधानन्यायाधीश कार्कीको सचिवालयमा रहेर काम गरेका उनै आदर्शलाई स्वकीय सचिवको जिम्मेवारी दिइयो । 

आदर्शले स्वकीय सचिवकै बलमा श्रीमती संगीता श्रेष्ठलाई असोज २ गते सहसचिवस्तरको स्वकीयका रूपमा नियुक्त गरेको कुरा बाहिर आएपछि पुनः विवादित बने । जेनजीका प्रतिनिधिहरूले उक्त नियुक्तिको विषयलाई लिएर विरोध जनाए । तर, प्रधानमन्त्री कार्कीले आदर्शको बचाउ गरिरहिन् । विवादमा मुछिएका आदर्शलाई हटाउनुको साटो नातेदारलाई नियुक्ति दिलाएको भन्दै विरोध गर्नेहरूलाई सचिवालयबाट हटाइन् । 

सर्वोच्च अदालतको सूचना प्रविधि (आईटी) महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटरमा करारमा कार्यरत सिन्धुलीका आदर्श प्रधानमन्त्री कार्कीका सधैँ प्रिय पात्र बने । प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालको अन्तिम समयमा उनको बचाउ गर्दै उनी इमानदार मात्र भनिनन्, राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नै बनाइन् । आदर्शलाई प्राकृतिक संरक्षण कोषको अध्यक्षमा पाँच वर्षको कार्यकालका लागि नियुक्त गरेसँगै अहिले यो विषय विवादमा आएको छ । जेनजीका प्रतिनिधिहरूले उक्त निर्णयलाई लिएर विरोध जनाएका छन् । तर, कार्की आफ्नो उक्त निर्णयबाट पछि नहट्ने अडानमा छिन् । 

आदर्शका विवाद श्रृङ्खला

२०६१ सालदेखि सर्वोच्च अदालतको उक्त पदमा कार्यरत उनले प्रधानन्यायाधीशको निकट भएर काम गरे । गोलाप्रथा सुरु हुनुअघि प्रधानन्यायाधीश आफैले पेसी तोक्ने काम गर्दथे । उक्त समयमा आदर्श प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारबाट हुने पेसी तोक्ने काममा सक्रिय रहँदै आए । पूर्वप्रधानन्यायाधीशहरू रामकुमार प्रसाद साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको सचिवालयमा नायब सुब्बाको जिम्मेवारीमा थिए । आदर्श तीन पूर्वप्रधानन्यायाधीशको कार्यकालमा सर्वोच्च अदालतको पेसी व्यवस्थापनमा रहेर काम गरेका सर्वोच्चका एक कर्मचारी बताउँछन् ।

ती कर्मचारीका अनुसार अदालतमा ११ बजे मात्रै पेसी सार्वजनिक हुन्थ्यो, तर आदर्शले पेसी सार्वजनिकअघि आफूनिकटलाई कुन न्यायाधीशको इजलासमा पेसी परेको थियो जानकारी दिन्थे । 'पेसीको जानकारी दिएलगत्तै मुद्दाका पक्ष र विपक्षहरू पेसी सार्वजनिक हुनुअघि मुद्दा हटाउन आउँथे,' ती कर्मचारी भन्छन्, 'लामो समय पक्ष र विपक्षीहरूले मुद्दा हटाउने श्रृङ्खला पछिल्लो समय सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागु भएपछि कम भयो ।'

प्रधानन्यायाधीश कार्कीको पालासम्म पेसी व्यवस्थापनमा चलखेल गर्दै आएका आदर्श गोपाल पराजुली प्रधानन्यायाधीश नियुक्त भएपछि भने निजी सचिवालयबाट हटाइए । र नायब सुब्बास्तरको कम्प्युटर अपरेटरमै सारिए । त्यसयता सर्वोच्चको आईटी महाशाखामै काम गर्दै आएका आदर्शले कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि भने छलाङ मारे, बालुवाटार प्रवेश गरे । आदर्श सर्वोच्चकै न्यायाधीश तिलप्रसाद श्रेष्ठका बहिनीज्वाइँका भाइसमेत हुन् । 

आदर्शले श्रीमती, सालीसहित नातेदारलाई प्रधानमन्त्री कार्यालयमा नियुक्ति दिलाएको घटनालाई प्रधानमन्त्री कार्कीले सामान्यीकरण मात्रै गरिनन्, प्रश्न उठाउने टोलीलाई बर्खास्तसमेत गरेकी थिइन् । आदर्शलाई कार्कीले प्रधानन्यायधीश हुँदादेखि नै विश्वास गर्दै आएकी थिइन् । आदर्शले श्रीमती संगीता र साली सहितको टोलीलाई नियुक्ति दिलाएको विरोध गर्नेहरू प्रधानमन्त्री कार्यालयमा रहेका जेनजी प्रतिनिधिहरूका रूपमा नियुक्ति पाएका आकृति घिमिरे, प्रदीप ज्ञवाली, जेम्स कार्कीलगायत ११ जनालाई कार्कीले जागिरबाट निकालेकी थिइन् । 

समाज कल्याण परिषद्मा विवादित मनोज भट्टलाई पुनर्नियुक्ति दिलाउने चलखेलदेखि लुम्बिनी विकास कोषमा दिपक श्रेष्ठलाई सदस्य–सचिव बनाएर आदर्शले प्रधानमन्त्री कार्कीलाई विवादित र बदनाम गराए । समाज कल्याण परिषद्का भट्टलाई आदर्शकै जोडबलमा पुनर्नियुक्ति दिइँदा विवाद चुलिएको थियो । भट्ट कांग्रेसबाट राष्ट्रियसभा सदस्य भइसकेकी तारादेवीका छोरा हुन् । पहिलो कार्यकालमा राम्रो कार्यसम्पादन नगरी विवादित भएका भट्टलाई दोहर्‍याएर नियुक्त गर्न लागेको भन्दै विरोध भइरहेको छ । 

अघिल्लो कार्यकालमा भट्टविरुद्ध उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उजुरी परेको थियो । त्यसपछि त्यसबारे छानबिन गर्न सरकारले विशेष अदालतका पूर्व अध्यक्ष बाबुराम रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

त्यस्तै आदर्शकै जोडबलमा लुम्बिनी विकास कोषमा दिपक श्रेष्ठ, डा. श्रेष्ठ शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठ, नेपाल वायु सेवा निगमको कायममुकायम महाप्रबन्धकमा अमृतमान श्रेष्ठलाई नियुक्त गरिएको विषयमा जेनजीले विरोध जनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निराजन पौडेल
निराजन पौडेल
लेखकबाट थप