बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नयाँ मन्त्रिमण्डल

परराष्ट्रमन्त्रीको चर्चामा यी अनुहार, शिशिरको सम्भावना बलियो

बुधबार, ०४ चैत २०८२, १४ : ०९
बुधबार, ०४ चैत २०८२

सारांश

  • नयाँ सरकार गठनको तयारी चलिरहँदा मन्त्रालय बाँडफाँटबारे छलफल भइरहेको छ।
  • परराष्ट्र मन्त्रीको सम्भावित सूचीमा शिशिर खनाल, डा. तारा जोशी र कमलदेव सुवेदीको नाम चर्चामा छ।
  • उम्मेदवारहरूमध्ये खनाल, जोशी र सुवेदीको राजनीतिक अनुभव र अन्तर्राष्ट्रिय सम्बन्धको पृष्ठभूमिलाई ध्यान दिइएको छ।

काठमाडौँ । नयाँ सरकार गठनको गृहकार्य भइरहँदा मन्त्रालय बाँडफाँटबारे छलफल समेत तीव्र छ । गृह, अर्थ, परराष्ट्र लगायतका मन्त्रालयहरु कसले पाउने भन्ने रस्साकस्सीबिच अहिले सम्भावित उम्मेदवारबारे छलफल भइरहेको छ । 

यसमध्ये एउटा महत्त्वपूर्ण मन्त्रालयको रूपमा रहेको परराष्ट्र मन्त्रीको रोस्टरमा तीन जनाको नाम चढेको छ । शिशिर खनाल, डा.तारा जोशी र कमलदेव सुवेदीलाई अहिले सम्भावित मन्त्रीको सूचीमा राखिएको स्रोतले जनाएको छ । 

खनाल काठमाडौँ ६ बाट निर्वाचित सांसद हुन् । २०७९ को निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित उनी यसअघि छोटो समय शिक्षामन्त्री समेत बनेका थिए । 

पार्टीको विदेश विभाग र पर्यटन विभागका प्रमुख रहेका खनाल केन्द्रीय सचिवालय सदस्य समेत हुन् । पार्टी र संसदमा समेत अनुभव भएकोले परराष्ट्रमन्त्रीमा उनको सम्भावना बढी रहेको बताइन्छ । 

अर्का सम्भावित व्यक्तिको रूपमा डा.तारा जोशीलाई हेरिएको छ । डडेलधुराबाट निर्वाचित सांसद जोशीलाई अन्तर्राष्ट्रिय सम्बन्धको विज्ञ मानिन्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका उनी दोस्रो सम्भावित व्यक्तिको रूपमा रहेको स्रोतको भनाइ छ । शिशिर खनाल अन्यत्र व्यवस्थापन भएको अवस्थामा उनको सम्भावना देखिन्छ । 

उता, कमल सुवेदी दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । क्यानडा सरकारको पूर्ण छात्रवृत्तिमा सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयमा अध्ययन गरेका उनी सार्वजनिक प्रशासन र नीति निर्माणको क्षेत्रमा एक अन्तर्राष्ट्रिय विज्ञ हुन् । तीन दर्जनभन्दा धेरै देशमा भ्रमण गरेको र अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो भएकोले आधारमा उनले परराष्ट्र मन्त्रीको दाबी गरिरहेको स्रोतको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप