‘आर्थिक र राजनीतिक वर्चस्वका लागि इजरायलले स्थायी युद्धको बाटो रोज्यो’
सारांश
- इजरायली सेनामा सेवा गर्न अस्वीकार गरेका भाषाविद् इदान लान्डाउले इजरायलको राजनीतिक अवस्थाबारे चर्चा गरे।
- लान्डाउका अनुसार, इजरायलको अन्तिम लक्ष्य 'स्थायी युद्ध' हो र यसले समाजमा निराशाजनक असर पारेको छ।
- उनले इजरायलमा शान्तिको सम्भावना नदेखेको र अमेरिकाको संरक्षण कायमै रहेसम्म अवस्था परिवर्तन नहुने बताए।
इदान लान्डाउ तेल अभिभ विश्वविद्यालयका भाषाविज्ञानका प्राध्यापक हुन्। उनी इजरायली सेनामा सेवा गर्न अस्वीकार गरेकै कारण पटक-पटक जेल परेका छन्।
वामपन्थी अभियन्ता समेत रहेका लान्डाउसँग सी. जे. पोलिक्रोन्युले गरेको यो अन्तर्वार्तामा इजरायलको वर्तमान राजनीतिक अवस्था, इरानसँगको युद्ध र इजरायली समाजको बदलिँदो मानसिकताका बारेमा चर्चा गरिएको छ।
- अक्टोबर ७ को हमलापछि नेतान्याहू सरकारले गाजामा बीभत्स अभियान चलायो, वेस्ट बैंकमा बस्ती विस्तार गर्यो, हिजबुल्लाह र हुतीहरूसँग भिड्यो र अन्ततः इरानसँगको युद्धमा अमेरिकालाई पनि तान्न सफल भयो। पश्चिम एसियामा आतंक सिर्जना गर्नुमा इजरायलको अन्तिम लक्ष्य के हो ? यसले इजरायली समाज र जनमानसमा कस्तो प्रभाव पारेको छ ?
मलाई लाग्छ ‘स्थायी युद्ध’ नै यसको सबैभन्दा उपयुक्त व्याख्या हो। यसको कुनै ‘अन्तिम लक्ष्य’ छैन। बढ्दो आर्थिक, भावनात्मक र राजनीतिक लागतका बाबजुद स्थायी युद्धको अवस्थाले नै इजरायली दक्षिणपन्थी शक्तिलाई सत्तामा टिकाइराख्छ। यो सत्ता मानिसहरूको चिन्ता, अत्यधिक शंका र विनाशको डरमा बाँचेको छ। इजरायली जनतालाई धेरै कुरामा गुमराहमा राखिएको छ; जस्तै जेनेभाको परमाणु वार्ता वा लेबनानी सरकारका प्रस्तावहरूबारे उनीहरूलाई थाहै छैन। मिडियाले छिमेकी देशहरूलाई अपराधीका रूपमा मात्र चित्रण गर्छ।
एउटा कुरा भने निश्चित छ, वेस्ट बैंकमा बस्ती विस्तार गर्ने योजना कहिल्यै रोकिएको छैन। अक्टोबर ७ पछि यो योजनाले झन् तीव्रता पाएको छ। इजरायली समाजमा यसको असर निकै निराशाजनक छ। राजनीतिक बहस ‘अस्तित्वको खतरा’ वा ‘अनिवार्य सैन्य बल’ जस्ता खोक्रा नारामा सीमित भएको छ। ‘शान्ति’ भन्ने शब्द अहिले त्यहाँ निषेधजस्तै भएको छ।
- के बेन्जामिन नेतान्याहू मात्रै यो स्थायी युद्धको समस्या हुन् ? इजरायलका विपक्षी दलहरूले पनि त गाजाको आक्रमण र इरानसँगको युद्धलाई समर्थन गरिरहेका छन् नि ?
नेतान्याहू इजरायली समाजका सबै ‘कालो आवेग’ लाई एकीकृत गर्ने एक सिपालु पात्र मात्र हुन्। उनले यो सबै आफैँले सुरु गरेका होइनन्। सन् १९७० र ८० कै दशकदेखि नै होलोकस्ट (यहूदी नरसंहार) लाई हरेक सैन्य कदमको औचित्य पुष्टि गर्ने अस्त्र बनाइएको थियो। प्यालेस्टिनीहरूलाई अपमान गर्ने र बस्ती विस्तार गर्ने सोच नेतान्याहूभन्दा अघिदेखि नै थियो। अहिलेको डरलाग्दो कुरा भनेको विपक्षीहरूको लाचारी हो। विगतका युद्धहरूमा संसद् र सडकमा बलियो विरोध हुन्थ्यो, तर अहिले त्यो शून्य छ। स्थायी युद्धले विपक्षीहरूलाई पनि मौन बस्न बाध्य पारेको छ।
- इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानुनको खुल्ला उल्लंघन गरिरहेको छ। के इजरायललाई आफू विश्वभर एक्लिँदै गएको र अछूत राज्य बन्न लागेकोमा कुनै चिन्ता छैन?
जबसम्म अमेरिकाले संरक्षण गर्छ, इजरायललाई कुनै चिन्ता हुँदैन। ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का न्यायाधीशहरूमाथि नै प्रतिबन्ध लगायो। धेरैजसो इजरायलीहरूलाई लाग्छ कि नियमहरू उनीहरूका लागि होइनन्। इजरायलको न्याय प्रणाली 'स्वतन्त्र र मजबुत' भएको दाबी गरिन्छ, तर गाजा नरसंहार सुरु भएदेखि भएका सयौँ जघन्य अपराध र यातनाका घटनाहरूमा कसैलाई सजाय दिइएको छैन। यो सबै एउटा ठुलो आवरण मात्र हो।
- इजरायली समाजमा युद्ध र हिंसाविरुद्ध बोल्ने साहसी आवाजहरू पनि छन्। के नेतान्याहू सरकारले यी युद्धविरोधी प्रदर्शनलाई राष्ट्रिय सुरक्षाका लागि खतरा मान्छ?
सरकारले मात्र होइन, समाजमा पनि असहिष्णुता बढेको छ। यदि तपाईंले सडकमा उभिएर युद्धको विरोध गर्नुभयो भने, कुनै पनि सर्वसाधारण पैदल यात्रीले तपाईंलाई कुटपिट गर्न सक्छ। यो एउटा पूर्ण रूपमा फासिवादी वातावरण हो। मानिसहरू आफ्नो ‘मानसिक शान्ति’ खलबलिने डरले कुनै पनि फरक मत सुन्न चाहँदैनन्। धेरै पत्रकारहरू पनि अहिले यही धारमा छन्।
- इजरायलले गाजाको घटनाबारे समाचारमा सेन्सरसिप लगाएको थियो। के इरानसँगको युद्धमा पनि त्यस्तै भइरहेको छ?
इरानमा इजरायली सेनाको सिधा नियन्त्रण नभएकाले त्यहाँ सूचनामा फिल्टर र भ्रामक सन्देश प्रवाह गरिन्छ। नागरिक हताहतीलाई मानव ढालको पुरानो बहानामा लुकाइन्छ। गाजा युद्धले नागरिक हताहतीप्रति उदासीन रहने एउटा नयाँ र डरलाग्दो मानक स्थापित गरिदिएको छ। इजरायली मिडियाले इरानी नागरिकको दुःख देखाउँदैन, बरु हाम्रा पाइलट र साइबर लडाकुहरूको वीरताको कथा मात्र सुनाउँछ। युद्ध अपराध दुवै पक्षबाट भइरहेका छन्, तर यहाँ त्यसको कुनै वस्तुनिष्ठ रिपोर्टिङ छैन।
- के इजरायलमा शान्तिको कुनै सम्भावना देख्नुहुन्छ?
अन्ततः युद्धको अन्त्य त हुन्छ नै। तर अहिलेको इजरायलले शान्तिको फल पाउला जस्तो मलाई लाग्दैन। शान्तिका लागि यो एउटा बिल्कुलै फरक स्वरूपको राष्ट्र बन्नुपर्छ, जहाँ यहूदी र अरबहरू समान अधिकारका साथ सँगै बस्न सकून्। वर्तमान शासन व्यवस्थामा यो सम्भव छैन। जबसम्म अमेरिका र युरोपले इजरायललाई उसका अनैतिक कदमहरूको परिणाम भोग्नबाट जोगाइरहन्छन्, तबसम्म इजरायलको यो बाटो परिवर्तन हुने देखिँदैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण