जेनजी आन्दोलनका क्रममा लुम्बिनीका कारागारबाट फरार अधिकांश कैदीबन्दी फर्किए
सारांश
- लुम्बिनी प्रदेशका कारागार र बाल सुधार गृहबाट भागेका ५०० भन्दा बढी कैदीबन्दी अझै बेपत्ता छन्।
- जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये धेरै सम्पर्कमा आए पनि केही अझै फरार छन्।
- प्रहरीले फरार कैदीबन्दीको खोजी कार्य जारी राखेको छ र उनीहरूलाई पक्राउ गर्न विभिन्न प्रयास गरिरहेको छ।
बुटवल । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट फरार रहेका कैदीबन्दीमध्ये अधिकांश पुनः फर्किसके पनि पाँच सयभन्दा बढी बेपत्ता अवस्थामै छन् ।
विभिन्न मुद्दामा कैद सजाय काट्दाकाट्दै भागेका ती कैदीहरूका कारण समाजमा अन्य आपराधिक घटना हुन सक्ने भन्दै जानकारहरू चिन्ता व्यक्त गर्दछन् ।
लुम्बिनीका नवलपरासी, कपिलवस्तु, तुलसीपुर, बाँकेको कारागार तथा बाल सुधार गृह गरी एक हजार ५६९ जना कैदीबन्दी जेनजी आन्दोलनका क्रममा फरार भएका थिए । तीमध्ये एक हजार २८ जना सम्पर्कमा आएका छन् भने अझै ५४१ जना फरार रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी एसएसपी शारदा प्रसाद चौधरीले रातोपाटीलाई बताए ।
लुम्बिनी प्रदेशका ६ वटा कारागार तथा सुधार गृहमा गरी जम्मा एक हजार ४९४ पुरुष तथा बालक र ७५ जना महिला कैदीबन्दी फरार भएका थिए । तीमध्ये ३० जना महिला र ५११ जना पुरुष तथा बालक पक्राउ पर्न बाँकी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा फरार भएकामध्ये धेरैजसो आफैँ सम्पर्कमा आएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार फरार भई कारागारमा आफैँ उपस्थित हुनेमा ५९९ जना छन् । फरार अवस्थामै सुरक्षाकर्मीले पक्राउ गरेर ल्याएकाको संख्या ३९५ छ । यस्तै, अन्य कारागारमा उपस्थित हुनेको संख्या ३३ छ भने एक जनाको मृत्यु भएको छ ।
कुन कारागारका कति फर्किए ?
लुम्बिनी प्रदेशभित्रका कारागारमध्ये नवलपरासी कारागारबाट सबैभन्दा धेरै ५४६ जना कैदीबन्दी फरार भएका थिए ।
४७१ जना पुरुष र ७५ जना महिला कैदीबन्दी फरार भएकोमा अहिलेसम्म ३६८ जना कारागारमै फर्किसकेका छन् भने १७८ जना फरार अवस्थामै छन् । उक्त कारागारबाट फरार भएकामध्ये ८८ जनालाई सुरक्षाकर्मीले पक्राउ गरी फिर्ता ल्याएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भदौ २४ गने बिहान कपिलवस्तु कारागार तथा अदालत समेत तोडफोड गर्दै ४३० जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये सुरक्षाकर्मीले १२६ जनालाई पक्राउ गरेको छ भने अन्य १९० जना आफैँ कारागारमा उपस्थित भएका छन् । यो कारागारबाट भागेका ११४ जना अझै फेला परेका छैनन् ।
तुलसीपुर कारागारबाट २५३ जना कैदीबन्दी भागेकोमा १८५ जना कारागारमा आइसकेका छन् । अझै ६८ जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । यो कारागारबाट भागेकामध्ये एक जनाको नेपालगन्जमा मृत्यु भएको थियो ।
यस्तै कारागार कार्यालय नौवस्ता, बाँकेबाट १४७ जना भागेका थिए, जसमा हालसम्म जम्मा ९२ जना कारागारमा फर्किसकेका छन् । यहाँबाट भागेका ९५ जना अझै फरार नै रहेको प्रहरीले जनाएको छ ।
बाँकेमै रहेको नौवस्ता बाल सुधार गृहबाट ७८ जना भागेकोमा ४३ जना पक्राउ परिसकेका छन् भने ३५ जना फरार नै छन् ।
यस्तै जयन्द्र बाल सुधार गृह बाँकेबाट ११५ जना फरार रहेकोमा ६४ जना पक्राउ परिसकेका छन् भने ५१ जना फरार अवस्थामै छन् ।
जेनजी आन्दोलन भागेकामध्ये धेरैजसो कारागारमै फर्किसकेपछि प्रहरीले फरार बाँकी कैदीबन्दीलाई नियन्त्रणमा लिन विभिन्न ढङ्गबाट प्रयास भइरहेको जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं एसएसपी शारदा प्रसाद चौधरीले कारागारबाट भागेकाहरूको घर तथा उनीहरू बस्न सक्ने सम्भावित ठाउँमा निगरानी गरिरहेको बताए ।
फरार रहेका कैदीबन्दीको विवरण देशभरका प्रहरी कार्यालयमा रहेको भन्दै उनले सोही आधारमा खोजी कार्य भइरहेको प्रस्ट पारे । फरार रहेका बन्दीहरूलाई कानुन अनुसार हुने दण्डमा कुनै सम्झौता नगरिने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण