कुनैबेला प्रदेश चाहिँदैन भनेर मतदान नगर्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्दैछन् : डिल्लीराम सुवेदी
सारांश
- सांसद डिल्लीराम सुवेदीले प्रदेश नचाहिने व्यक्ति प्रधानमन्त्री बन्न लागेको भन्दै आलोचना गरे।
- बालेन्द्र शाहले भने प्रदेश आवश्यक रहेको र यसलाई अझै बलियो बनाउनुपर्ने बताए।
- सुवेदीले सुशासन र नेपो-बेबी विरुद्धको आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।
पोखरा । गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले प्रदेश चाहिँदैन भनेर मतदान नगर्ने र मतपत्र फालेर हिँडेकै व्यक्ति प्रधानमन्त्री बन्न लागेको भन्दै आलोचना गरेका छन् । गण्डकी प्रदेश सभामा सम्बोधन गर्दै उनले केही समयअघि प्रदेश नै नचाहिने भनेर हिँडेपनि चुनावको बेला प्रदेश बलियो बनाउनुपर्छ भनेको भन्दै वक्तव्य दिएको विषयलाई समयको पाठशालाले सिकाएको प्रतिक्रिया दिए । केही दिनपछि देशको प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाह (बालेन)ले प्रदेश संरचना अनावश्यक रहेको तर्क गर्दै आएका थिए ।
तर, प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि आयोजित पहिलो सभालाई जनकपुरबाट सम्बोधन गर्दै बालेनले प्रदेश आवश्यक रहेको र अझै बलियो बनाएर कार्यान्वयन गर्नुपर्ने बताएका थिए । सुवेदीले नयाँ रकारपछि वर्षौँदेखि थन्किएर बसेको प्रदेश अधिकारका विषय सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् ।
‘अघिल्लो प्रदेश सभाको निर्वाचनमा प्रदेश चाहिँदैन भनेर मतदान नगर्ने र मतपत्र फालेर हिँड्ने व्यक्तित्व यो देशको प्रधानमन्त्री बन्दै हुनुहुन्छ । आशा यो मानेमा छ कि, उहाँले समयको पाठशालामा गुज्रिएर प्रदेश बलियो बनाउनुपर्छ भन्नुभएको छ,’ उनले भने, ‘वर्षौँदेखि थन्किएर बसेको प्रदेशको अधिकारका विषयहरू अब सम्बोधन हुनेछन् भन्ने आशा गरौँ ।’ तर, सुशासन र नेपो बेबीका विरुद्ध उठेको आन्दोलनपछि बनेको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुनु दुखद भएको सुवेदीको टिप्पणी छ ।
‘सुशासन र नेपो–बेबीका विरुद्ध उठिरहेको यो आन्दोलन, गौरी बहादुर कार्कीको आयोगको प्रतिवेदन जस्ताको तस्तै तत्काल सार्वजनिक गरेर त्यसउपर कारबाही होस्,’ भन्छन्, ‘भदौ २३ गते २२ जना निहत्था युवाहरूले ज्यान गुमाउनु पर्यो । २४ गते अरू ५४ जना नागरिकले ज्यान गुमाएका छन् । ती दशौँ हजार कैदीहरू जो जेल छोडेर भागेका छन्, तिनीहरूको इतिहासको हिसाब–किताब नेपाली जनताले जान्न चाहन्छन् । गोली ठोक्ने को हो ? सिंहदरबारमा आगो झोस्ने को हो ?’
उनको सम्बोधन जस्ताको त्यस्तै:
माननीय सभामुख महोदय,
हामी हिउँदे सदनमा छौँ । विधेयकहरू माथिको छलफल हुने नै छ । र यो बिचमा राष्ट्रिय राजनीतिमा थुप्रै उथलपुथलहरू भएका छन् । एउटा विशिष्ट परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेर मुलुक नयाँ बाटोमा हिँड्ने तरखरको सम्मुखमा छौँ । निश्चय नै यो क्षणमा त्यसको वरिपरि विमर्श, छलफल र त्यसले हामीलाई पार्ने प्रभावका विषयमा चर्चा हुनु वाञ्छनीय नै छ, स्वाभाविक नै छ ।
भदौ २३ र २४ गते भएको जेनजी विद्रोहको वरिपरि रहेर एकचोटि हामीले हेर्यौँ भने, सम्झौँ त, कल्पना गरौँ त ती दिनहरू, त्यो क्षणहरू, त्यो त्रासको समय । त्यसपछि लगत्तै ६ महिनाकै बिचमा यसरी शान्त र सौहार्दपूर्ण ढङ्गबाट नयाँ निर्वाचन हुनेछ र एउटा उच्चतम लोकतान्त्रिक प्रक्रिया अनुसार नयाँ बाटोमा मुलुक अगाडि बढ्नेछ र सत्ता र शक्ति हस्तान्तरण हुनेछ भन्ने कुरा संसारबाट हेरिरहेका धेरै देशहरूलाई नलागिरहेको पनि हुन सक्थ्यो । हामीमध्ये कतिपयलाई पनि थुप्रै प्रश्नहरू उठेका हुन सक्थे । तर अनेकन् प्रश्नहरूका बिचमा पनि नेपाली संस्कार र संस्कृति नेपालको लोकतान्त्रिक आन्दोलनको विजयका रूपमा हामीले यसलाई हेर्नुपर्छ ।
प्रतिनिधिसभाका सदस्यहरूले शपथ लिएर नयाँ बाटो अगाडि बढ्दै छन् । म यो ठाउँबाट शुभकामना व्यक्त गर्न चाहन्छु नयाँ प्रतिनिधिसभालाई । प्रतिनिधिसभाको कार्यकाल नेपालमा कहिल्यै पनि निर्बाध ढङ्गले ५ वर्ष चल्न सकेको छैन । २०४७ सालको प्रजातन्त्र प्राप्ति पछिको अवस्थामा पनि ५ वर्ष चल्न सकेन । २०६३ सालमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले जनताका प्रतिनिधिद्वारा निर्वाचित हुने शासन व्यवस्था नेपाललाई चाहिएको छ भन्दै सङ्घर्ष सुरु गरेको दिनदेखि आजसम्म आइपुग्दा प्रतिनिधिसभा ५ वर्ष चल्न सकेको छैन । यो संसद्लाई म पूरा ५ वर्ष चल्ने र स्थायी सरकार बनाएर मुलुकमा नयाँ बाटो हिँड्ने शुभकामना दिन चाहन्छु ।
पुरातन र नूतन बिचको सङ्घर्ष, नयाँ र पुराना बिचको लडाइँ यो सङ्घर्ष हो । पुरानाहरू सबै खराब, हामी नयाँहरूले राम्रो गर्छौँ भन्ने जुन भाष्यका साथ यो राजनीतिक डिस्कोर्स बनेको छ, यसले सिर्जनात्मक शक्ति प्राप्त गर्न सकोस् भन्न चाहन्छु । समय सबैभन्दा ठुलो पाठशाला हो । मलाई आशा र प्रश्नहरू दुवै छन् । आशा यस मानेमा छ कि, योभन्दा अघिल्लो प्रदेश सभाको निर्वाचनमा प्रदेश चाहिँदैन भनेर मतदान नगर्ने र मतपत्र फालेर हिँड्ने व्यक्तित्व यो देशको प्रधानमन्त्री बन्दै हुनुहुन्छ । आशा यो मानेमा छ कि, उहाँले समयको पाठशालामा गुज्रिएर प्रदेश बलियो बनाउनुपर्छ भन्नुभएको छ । वर्षौँदेखि थन्किएर बसेको प्रदेशको अधिकारका विषयहरू अब सम्बोधन हुनेछन् भन्ने आशा गरौँ ।
सुशासन र नेपो–बेबीका विरुद्ध उठिरहेको यो आन्दोलन, गौरी बहादुर कार्कीको आयोगको प्रतिवेदन जस्ताको तस्तै तत्काल सार्वजनिक गरेर त्यसउपर कारबाही होस् । भदौ २३ गते २२ जना निहत्था युवाहरूले ज्यान गुमाउनु पर्यो, २४ गते अरू ५४ जना नागरिकले ज्यान गुमाएका छन् । ती दशौँ हजार कैदीहरू जो जेल छोडेर भागेका छन्, तिनीहरूको इतिहासको हिसाब–किताब नेपाली जनताले जान्न चाहन्छन् । गोली ठोक्ने को हो ? सिंहदरबारमा आगो झोस्ने को हो ?
सामाजिक सञ्जालको र एल्गोरिदमका कथाहरू व्यापक छन् । एल्गोरिदमले दुःखी मानिसलाई अझ दुःखी संसार देखाउँछ । रिसाएको मानिसलाई अझ रिस उठ्ने सामग्री देखाउँछ । निराशलाई अझ निराश बनाउँछ । मानिसले सत्य के हो खोज्न छाड्छ, उसले जे मन पर्छ त्यसैलाई सत्य ठान्न थाल्छ । यो चुनौतीको बिचमा हामी छौँ ।
हामीले राम्रो कर्म गरेका छौँ भन्ने दम्भ हामीसँग धेरै भयो । अब हामी सबैले नमस्कार, धन्यवाद, माफ गर्नुहोला भन्नुपर्यो । मलाई विश्वास छ भगवानरुपी जनता जनार्दनले बुझ्नेछन् । समय आएपछि जनता आफै सडकमा बोल्नेछन् ।
अन्त्यमा, लेखक वसन्त बस्नेतको एउटा कविताको हरफ सापट लिन चाहन्छु:
अस्ति जो आक्रोश ओकल्थे, अब नागरिक कर्तव्य र सद्भावको खाँचो देख्न थालेका छन् । रातारात बदल्छौँ भन्नेले, परिवर्तन रातारात हुँदैन भन्न थालेका छन् । यति ज्ञान हामी सबैमा भयो भने अगाडिका दिन सुखद हुन सक्छन् । धन्यवाद, नमस्कार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण