काठमाडौँ महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली सुरु
सारांश
- काठमाडौँ महानगरपालिकाले महामारीजन्य रोग नियन्त्रणका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरेको छ।
- स्वास्थ्यकर्मीहरूलाई तालिम दिई समुदायमै रोग पहिचान, तथ्याङ्क सङ्कलन र जोखिम मूल्याङ्कन गर्ने सीप प्रदान गरियो।
- नयाँ प्रणालीले असामान्य स्वास्थ्य घटना देखिएमा तत्काल जानकारी दिन र रोग नियन्त्रणमा सहयोग पुर्याउनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महामारीजन्य रोग नियन्त्रणको लागि समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरेको छ । महानगरले समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गर्नको लागि स्वास्थ्यकर्मीहरूलाई दुई दिने तालिम दिएको हो ।
महानगरको स्वास्थ्य विभागले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा सबै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जनाएको छ । महानगरको स्वास्थ्य सेवा विभाग अन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखाका रोग निगरानी फोकल पर्सन कौशलचन्द्र सुवेदीले समुदायमै रोगको प्रारम्भिक पहिचान, निगरानी र नियन्त्रणका लागि यो प्रणाली महत्त्वपूर्ण हुने बताए ।
तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई रोग पहिचान, तथ्याङ्क सङ्कलन, जोखिम मूल्याङ्कन तथा सोहीअनुसार प्रतिकार्य गर्ने सीप प्रदान गरिएको उनले जानकारी दिए । नेपालमा रोग निगरानी प्रणालीको महत्त्व उच्च भएपनि पछिल्ला वर्षहरूमा यसको अभ्यास समुदायस्तरसम्म प्रभावकारी रूपमा विस्तार हुन नसकेको उनको भनाई छ । विशेषगरी कोभिड–१९ महामारीका क्रममा कमजोर निगरानी प्रणालीका कारण ठुलो जनधनको क्षति व्यहोर्नुपरेको उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ असारमा ५२ वटा प्रमुख सङ्क्रामक रोगलाई प्राथमिकतामा राख्दै नियन्त्रण रणनीति अघि बढाएको उनले जानकारी दिए । साथै, ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गर्दै समुदायस्तरमै रोग नियन्त्रण प्रणाली कार्यान्वयन गर्ने मार्गनिर्देशन दिएको उनको भनाई छ । सोही कार्यक्रमअनुसार तालिम आयोजना गरेको उनले जानकारी दिए । अब समुदायमा कुनै असामान्य स्वास्थ्य घटना देखिएमा तत्काल जानकारी दिन सकिने व्यवस्था गरिएको छ । एकैपटक धेरै मानिस बिरामी पर्नु, नौलो रोग देखिनु, पशुपंक्षीको अस्वाभाविक मृत्यु हुनु वा ज्वरो, झाडापखाला, श्वासप्रश्वासजस्ता लक्षण व्यापक रूपमा देखिएमा नागरिकले नजिकको स्वास्थ्य संस्था वा ‘हेलो स्वास्थ्य’ हटलाइन १११५ मा खबर गर्न सक्नेछन् ।
महानगरको स्वास्थ्य विभागका प्रकाश परियारले काठमाडौँमा ठुला अस्पतालको पहुँच हुँदाहुँदै पनि समुदायस्तरसम्म स्वास्थ्य सेवा पुग्न नसकेको बताए । हालको स्वास्थ्य प्रणाली उपचारमुखी भएकोले अब रोकथाममुखी रणनीतिमा जानुपर्ने आवश्यकता रहेको उनले औँल्याए । उनकाअनुसार समुदायमै रोग निगरानी प्रणाली सञ्चालन गरिएपछि रोग फैलिन नदिन र समयमै नियन्त्रण गर्न सहज हुनेछ । यसले महानगरको समग्र स्वास्थ्य प्रणाली सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । उनले सबै वडामा तथा समुदायमा रोग निगरानी प्रणालीका बारेमा जानकारी गराउने पनि उल्लेख गरे ।
समुदायमा आधारित रोग निगरानी प्रणालीमा लागू भएपनि डिजिटल प्लेटफर्ममार्फत रोगसम्बन्धी सूचना सङ्कलन, विश्लेषण र वर्गीकरण गरिनेछ । जोखिमको आधारमा न्यून, मध्यम र उच्च तहमा विभाजन गरी द्रुत प्रतिकार्य टोली परिचालन गरिने व्यवस्था गरिएको छ । साथै, एआई प्रविधिको प्रयोगबाट अनलाइन माध्यमहरूमा प्रकाशित सङ्क्रामक रोगसम्बन्धी सूचनाहरूको निगरानी गरी प्रारम्भिक चेतावनीसमेत प्राप्त गर्न सकिनेछ । यस प्रणालीको पूर्ण कार्यान्वयनपछि सङ्क्रामक रोगहरूको शीघ्र पहिचान, नियन्त्रण र सम्भावित महामारी न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण