हर्मुजमा रोकिएको मलले धेरै देशमा भोकमरी सिर्जना गर्दैछ
सारांश
- हर्मुजको गल्छीमा इरानले अवरोध सिर्जना गर्दा मल आपूर्तिमा समस्या आएको छ, जसले विश्वको खाद्य आपूर्ति प्रणालीलाई असर पार्ने देखिन्छ।
- उत्तरी गोलार्द्धका किसानहरूले नाइट्रोजन हाल्ने समयमा मलको अभाव हुँदा मकैको सट्टा भटमास खेती गर्ने योजना बनाएका छन्।
- खाद्य सुरक्षामा हर्मुजको अवरोध, युक्रेन युद्ध र अन्य समस्याका कारण भोकमरीको जोखिम बढेको छ, जसले राजनीतिक अस्थिरता निम्त्याउन सक्छ।
‘स्ट्रेट अफ हर्मुज’को साँघुरो गल्छी केवल २१ माइल चौडा छ । संसारको २५ प्रतिशत व्यापारिक तेल यही गल्छीको बाटो हुँदै निस्कन्छ । अहिले सबैको ध्यान त्यहीँ छ । हर्मुजको गल्छीबाट केवल तेलमात्रै आउँदैन, मलका लागि आवश्यक पदार्थ पनि आउँछ । जसको सम्बन्ध संसारको खाद्य आपूर्ति प्रणालीको आधा हिस्सासँग छ ।
इरानले आफ्नो मुलुकमा अमेरिका–इजरायलले आक्रमण गरेको बदलामा अहिले हर्मुजको गल्छीमा अवरोध सिर्जना गरेको छ । फलतः मलको आपूर्ति पनि रोकिएको छ । अहिलेको चार हप्ता पृथ्वीको उत्तरी गोलार्द्धका किसानहरूले आफ्नो अन्न बालीमा ‘नाइट्रोजन’ हाल्ने समय हो ।
संसारभर बिक्री वितरण हुने मलमा खाडी क्षेत्रबाट मात्रै ४९ प्रतिशत युरिया र ३० प्रतिशत एमोनिया आउँछ । त्यही मल प्रयोग गरेर किसानहरू खेतीको नाइट्रोजन चक्र सशक्त बनाएर उच्च उत्पादन सम्भव बनाउँछन् । आपूर्ति चक्र रोकिनासाथ संसारभर माटोको रसायन तथा खेतीको निर्णयमा असर पर्छ । असर तत्काल सकिँदैन । आउँदो केही महिनासम्म रहन्छ ।
आउने सिजनमा मकैको खेती घटाउने अनुमान आउन थालिसकेका छन । किसानहरू मकैको साटो भटमास उत्पादन बढाउन खोज्दैछन् । भटमासलाई थप नाइट्रोजनको आवश्यकता पर्दैन । यसरी बाली लगाउने निर्णयमा हुने परिवर्तनले बिउ माटोमा पुग्नु अगावै केही बालीको उत्पादन घटाउने पक्का गर्छ ।
समस्या हर्मुजमा मात्रै छैन । यही सूचीमा युक्रेन पनि थपिन्छ । इरानमा आक्रमण सुरु हुनु अघिनै विश्वको खाद्य प्रणाली दबाबमा थियो । अहिले पनि युक्रेन र रुसले विश्वमै गहुँको व्यापारमा एक चौथाइ हिस्सा ओगट्छन् । मध्यपूर्व तथा पूर्वी अफ्रिकाका ४० करोड मानिस गत ३ वर्ष देखि नै आपूर्तिमा देखिएको समस्या झेलिरहेका थिए । अहिले हर्मुज बन्द हुँदा यस अघि ठिकठाक चलिरहेको प्रणाली रोकिएको होइन, बरु विविध समस्याका कारण जेनतेन चलिरहेको प्रणाली पनि भत्काइदिएको हो ।
कृषिमा क्षतिको पात्रो हप्ताको हिसाबले चल्छ । अबको ३ देखि ४ हप्तामा अमेरिका, युरोप तथा मध्यपूर्वका विभिन्न भागमा लगाइएको हिउँदे गहुँका लागि नाइट्रोजन हाल्नुपर्ने समय हुन्छ ।
त्यसैगरी खाद्य सुरक्षाको पात्रो भने महिनाको हिसाबले चल्छ । आयातमा निर्भर धेरै मुलुकले सानोतिनो अवरोधबाट जोगिनका लागि अन्न भन्डारण गरेका हुन्छन्, तर त्यस्तो अन्नको भन्डारले पूरै सिजनभरको अवरोध थेग्न सक्ने हुँदैन । ‘हर्न अफ अफ्रिका’का मुलुकहरू अहिले नै भोकमरीको अवस्थामा पुग्न थालेका छन् । युद्ध र अवरोध बढ्दै जाँदा यो समस्या अझै थपिँदै जान्छ ।
भूराजनीतिको पात्रो भने वर्षको आधारमा चल्छ । खाद्यान्नको मूल्यमा ३० देखि ४० प्रतिशत वा त्योभन्दा बढीको मूल्यवृद्धिको सम्बन्ध कमजोर राज्यहरूमा ६ देखि १८ महिनाभित्र राजनीतिक अस्थिरतामा जोडिएको पाइएको छ ।
यस्तो बेला ट्रम्प प्रशासनले के गर्ने हो भन्ने प्रश्न छ । मेरो विचारमा ट्रम्प प्रशासनले जसरी भए पनि हर्मुजबाट आवतजावतको सुनिश्चितता हुने गरी युद्धविराम गर्नुपर्छ । मल र खाद्यान्न बोकेका जहाजहरू वारपार गर्न मिल्ने कुरा पूर्वशर्त नै बनाइनुपर्छ ।
अमेरिकाको अन्तर्राष्ट्रिय विकास वित्त निगमले छुट्ट्याएको २० अर्ब डलरले जहाज आवतजावतमा देखा पर्ने युद्धको असर सम्बोधन गर्छ, तर त्यसले जताततै धराप थापिएको हुनसक्ने जलमार्गबाट गुज्रनुपर्ने जहाजहरूले झेल्नुपर्ने पर्यावरणीय तथा प्रदूषणजन्य दायित्व भने सम्बोधन गर्दैन । खाडी क्षेत्रको पर्यावरणीय जोखिमलाई समेट्ने खालको ‘टेरोरिजम रिस्क इन्स्युरेन्स’ बेगर बीमा क्षेत्र पनि अप्ठ्यारोमा पर्छ । अब बजार खुल्नु अघि नै यो समस्या समाधान हुन आवश्यक छ ।
अमेरिकी संसदले यहीबेला रणनीतिक मल भन्डारहरूको अनुमति दिनेबारे सोच्नुपर्छ । युरिया र एमोनिया ‘क्रिटिकल मिनिरल’को संघीय सूचीमा छैनन् । तिनीहरूका लागि कुनै रणनीतिक भन्डारण छैन । कुनै आपतकालीन प्राधिकारले पनि त्यसलाई समेटेको छैन । अब संसदले त्यसको पनि समाधान गर्नुपर्छ ।
विश्व खाद्य कार्यक्रमले दिने आपतकलीन सहयोग परिचालनमा पनि ढिलाइ हुनु हुँदैन । खाद्य तथा मल आपूर्ति अवरोधलाई झेल्न नसक्ने मुलुकहरूमा मूल्यवृद्धिको असर पुग्नु अगावै विश्व खाद्य कार्यक्रमको सहयोग पुग्नुपर्छ । अहिले त्यस्ता कार्यक्रमहरू लागु गराउन आवश्यक पर्ने पूर्वाधारहरू भत्किएर भद्रगोल भएको अवस्था छ । ९० दिनको समयमा अमेरिकी सहायता नियोग तथा त्यसका साझेदार गैरसरकारी संस्थाहरू पुनःसंगठित गर्न पनि सम्भव छैन । अहिले विश्व खाद्य कार्यक्रम, द्विपक्षीय सम्झौता तथा निजी क्षेत्रका बन्दोबस्तीका सामानमात्रै विकल्पको रूपमा छन् । तिनीहरूले अहिले काम नथाल्दा आगामी दिनमा कस्तो असर पर्छ भन्ने थाहा पाउनुपर्छ । त्यसो हुँदामात्रै उनीहरू परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल आफ्नो काम सुरु गर्न सक्छन् ।
अझै दुई हप्तासम्म यदि स्ट्रेट अफ हर्मुजबाट मल पार हुन सकेन भने हामीसँग बहसको समय नै बाँकी रहँदैन । हामीले विभिन्न मुलुकमा सहायता पठाउन थाल्नुपर्ने हुन्छ । यदि चार हप्तासम्म पनि यस्तै अवस्था रहे त्यसबेला चल्ने अस्थिरता व्यवस्थापन गर्न लाग्नुपर्ने हुनेछ । अब हामीले कूटनीतिको नभएर कृषिको पात्रोको आधारमा काम गर्ने बेला आइसकेको छ ।
(क्रिस क्रेब्स/फाइनासियल टाइम्सबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण