शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

यातायात व्यवसायीको चेतावनी : तत्काल भाडा समायोजन नगरिए आफैँ बढाउँछौँ

बुधबार, ११ चैत २०८२, १५ : ४४
बुधबार, ११ चैत २०८२

सारांश

  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारलाई अल्टिमेटम दिएको छ।
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मारमा परेका व्यवसायीले भाडा समायोजन नगरे सेवा बन्द गर्ने चेतावनी दिए।
  • महासङ्घले विभागको सिफारिस अनुसार भाडा 'स्वघोषणा' गर्ने वा सेवा बन्द गर्ने चेतावनी दिएको छ।

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिका कारण व्यवसायीहरू मारमा परेको भन्दै महासङ्घले यथाशीघ्र भाडा समायोजन नगरे आफैँ (स्वघोषणा) भाडा तोक्ने वा सेवा बन्द गर्ने चेतावनी दिएको हो ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेटेर ध्यानाकर्षणसमेत गराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले जानकारी दिए । 

साथै महासङ्घले भाडा समायोजन गर्न विज्ञप्तिसमेत जारी गरेको छ । महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगमले गत चैत २ गते रातिदेखि लागू हुने गरी डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गरेपछि यातायात व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको छ ।’

यसअघि २०८२ चैत २ गते नै महासङ्घले भाडा समायोजनका लागि सरकारसँग माग गरेको थियो । सोही मागका आधारमा यातायात व्यवस्था विभागले चैत ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भाडा वृद्धिको सिफारिस गरिसकेको विज्ञप्तिमा उल्लेख छ । विभागले २०६५ सालदेखि लागू गरिएको १३ वटा सूचकको वैज्ञानिक भाडा समायोजन विधि अनुसार सार्वजनिक यात्रीवाहक सवारीमा ११.३३ प्रतिशत, तराईको मालवाहक सवारीमा ८.८१ प्रतिशत र पहाडको मालवाहक सवारीमा १४.२९ प्रतिशत भाडा बढाउन सिफारिस गरेको छ ।

‘विभागले सिफारिस गरे पनि मन्त्रालयका मन्त्री, सचिव र सहसचिवलाई पटक–पटक भेटेर ध्यानाकर्षण गराउँदा समेत हालसम्म कुनै सुनुवाइ भएको छैन,’ महासङ्घले भनेको छ, ‘दैनिक रूपमा व्यवसायीले लाखौँ रुपैयाँ घाटा खाएर सेवा दिइरहेका छन्, यो अवस्था धेरै दिन टिक्न सक्दैन ।’

महासङ्घले सरकारले तत्काल निर्णय नलिए बाध्य भएर विभागकै सिफारिस बमोजिमको भाडा ‘स्वघोषणा’ गरी लिने वा सेवा नै बन्द गर्ने चेतावनी दिएको छ । वैज्ञानिक विधि अनुसार २०७२ सालदेखि भाडा समायोजन नभएको गुनासो गर्दै व्यवसायीहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

655306691_1477476700739819_7792926690090966574_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप