के हाे बालेनले शपथ लिँदा लगाएकाे ‘सिलाम साक्मा’ ?
काठमाडौँ । सिंहदरबास्थित सङ्घीय संसद् भवन परिसरमा आज नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदका सहयोगीको बाक्लो उपस्थिति थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शपथका लागि संसद् भवन पुगेका कतिपय दलका सांसद एकापसमा चिनजान गर्दै थिए । कोही सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थिए भने कोही सांसद निर्वाचित भएकामा बधाई लिँदै थिए ।
सङ्घीय संसद् सचिवालयले अपराह्न २ः०० बजेका लागि शपथ समारोहको आयोजना गरेको थियो । समारोहमा सहभागी हुन सांसदहरु आ–आफ्ना वेशभूषामा सजिएर संसद् भवन पुगेका थिए । शपथ समारोहको समय नजिकिँदै गर्दा भवन परिसरमा रहेका सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य सहयोगीको ध्यान भवनको दक्षिणतर्फको प्रवेशद्वारतर्फ केन्द्रित थियो ।
अपराह्न करिब १ बजेर ५५ मिनेट जाँदा दक्षिणतर्फको प्रवेशद्वारबाट प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार बा.प्र ०१ ०३३ च ७८८१ नम्बरको निजी गाडी संसद् भवनको मूल प्रवेशद्वार अघि रोकियो । गाडीबाट ओर्लेर संसद् भवनको मूल प्रवेशद्वारतर्फ प्रस्थान गर्ने क्रममा उनी सञ्चारकर्मीको घेरामा परे ।
सञ्चारकर्मीको घेरामुक्त गरेर नेता शाहलाई भवनको बहुउद्देश्यीय हलमा जाने ढोकातर्फ ल्याउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । सुरक्षाकर्मीको सहयोगमा शपथ हलतर्फ जाने क्रममा उपस्थित महानुभावले ‘बालेन सरकार’ भन्दै अभिवादन टक्र्याउँदा नेता शाह मुस्काउँदै भित्र प्रवेश गरे ।
कालो कोटमा किराँती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ पहिरिएर नेता शाह शपथ समारोहस्थल प्रवेश गरे । किराँती भाषामा ‘सि’ को अर्थ मृत्यु र ‘लाम’ अर्थ बाटो भन्ने हुन्छ । सिलाम साक्मा लगाउँदा मृत्युको बाटो छेकिन्छ भन्ने विश्वास गरिन्छ । यसले शुभ सङ्केतको अर्थ पनि जनाउँछ भने यसलाई खासगरी रक्षा कवचका रुपमा लिइन्छ । समारोह स्थलमा उनी बैठक कक्षको पहिलो लहरमा बसे । रास्वपाबाट प्रधानमन्त्रीका रुपमा प्रस्तावित उनको दायाँतर्फ सभापति रवि लामिछाने र बायाँतर्फ उपसभापतिद्वय डिपी अर्याल र डा स्वर्णिम वाग्ले रहेका थिए ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शपथ समारोहमा सहभागी नवनिर्वाचित सांसदहरुलाई स्वागत गरे । बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उपस्थित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ समारोह सकिएलगत्तै वरिष्ठ नेता शाह संसद् भवनबाट आफैँ गाडी चलाएर बाहिरिए ।
झापा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीमा प्रस्तावित गरेको छ । रास्वपाले नेता शाहलाई संसदीय दलका रुपमा चयन गर्ने तयारी गरेको छ । त्यसका लागि आजै अपराह्न बैठक आह्वान गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा १८२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित शाह युवापुस्ताबिच लोकप्रिय रहेका छन् । पेसाले ‘स्ट्रक्टचरल इन्जिनियर’ शाह चर्चित ‘-यापर’का रुपमा पनि परिचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण