बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रेमिकालाई स्कुलबाट ल्याउन किशोरले चोरे बस

सोमबार, १६ चैत २०८२, ११ : ०१
सोमबार, १६ चैत २०८२

सारांश

  • जर्मनीमा एक १५ वर्षीय किशोरले स्कुलबाट प्रेमिकालाई लिन बस चोरेर १३० किलोमिटर यात्रा गरे।
  • सीसीटीभीमा घटना कैद भए पनि सुरुमा कर्मचारीले बस चालकले लगेको ठानेका थिए, पछि चोरी भएको पत्ता लाग्यो।
  • प्रहरीले जीपीएसको सहायताले किशोरलाई कार्लस्रुहेमा फेला पार्यो, जहाँ उनी प्रेमिकालाई स्कुलबाट फर्काउँदै थिए।

बर्लिन । जर्मनीको वियस्बाडेनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । एक जना १५ वर्षीय किशोरले आफ्नी प्रेमिकालाई स्कुलबाट ल्याउन बस चोरेको अनि झन्डै ८० माइल (१३‍० किलोमिटर)को यात्रा गरेको थाहा भएको छ ।

 घटना गत शुक्रबार बिहान करिब ६ बजेको हो । ती किशोर बस डिपोमा पसेर मास्टर साँचो प्रयोग गरी एउटा बस लिएर निस्किएका थिए । घटनाको दृश्य सीसीटीभीमा कैद भए पनि कर्मचारीहरूले सुरुमा त्यो बस कुनै चालकले लगेको ठाने । उनीहरूले ढिलै मात्र बस चोरी भएको भेउ पाए ।

दिउँसो बस हराएको पुष्टि भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । बसमा जडान गरिएको जीपीएसको सहायताले प्रहरीहरूले उक्त बस कार्लस्रुहेमा फेला पारे । यो ठाउँ वियस्बाडेनबाट करिब १३० किलोमिटर टाढा पर्छ । कार्लस्रुहेमा गस्तीमा रहेको प्रहरीले बस रोकेर जाँच गर्दा चालकको सिटमा किशोरलाई देखेर अचम्मित भए । आफ्नी १४ वर्षीया प्रेमिकालाई स्कुल बसमा चढाएर पुनः घर फर्किने तयारी गरिरहेका थिए ।

ती किशोरले साँचो कसरी प्राप्त गरे र यति सहज रूपमा बस कसरी चलाए भन्नेबारे अझै स्पष्ट भएको छैन । यस घटनामा चोरी र बिना लाइसेन्स सवारी चलाएकोलगायत मुद्दामा अनुसन्धान भइरहेको छ । सौभाग्यवश, घटनामा कुनै मानवीय क्षति भएन । बसमा समेत कुनै क्षति नपुग्ने गरी सुरक्षित अवस्थामा फिर्ता गरिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप