निर्माण व्यवसायी महासङ्घको १३ औँ अधिवेशन : आङ दोर्जी लामाको प्यानल घोषणा
सारांश
- एफक्यानको २६औँ साधारणसभा तथा १३औँ अधिवेशनका लागि आङ दोर्जी लामाको नेतृत्वमा प्यानल घोषणा गरियो।
- लामाले सार्वजनिक खरिद ऐन संशोधनको विषयमा चिन्ता व्यक्त गर्दै राजनीतिक अस्थिरताका कारण माग पूरा नभएको बताए।
- महासङ्घको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ, जसमा लामा समूहले खरिद ऐन सुधार र व्यवसायीको हितलाई प्राथमिकता दिएको छ।
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) को २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (ए.डी.) लामाको नेतृत्वमा प्यानल घोषणा गरिएको छ। काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रमका बिच लामा समूहले आफ्नो उम्मेदवारी सार्वजनिक गरेको हो।
यस समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एशोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले चुनावी प्रतिस्पर्धा गर्ने तय भएको छ। उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लामाले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न लागेको विषयमा चर्चा गरे।
उनले सरकारको योजनाअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै विगत तीन वर्षदेखि खरिद ऐन संशोधनका लागि संसद्को ध्यानाकर्षण गराए पनि राजनीतिक अस्थिरताका कारण त्यो सफल हुन नसकेको उल्लेख गरे। नयाँ सरकारले ३० दिनभित्र ऐन संशोधन गर्ने वाचा गरेको सुनेको बताउँदै उनले पटक-पटक संसद् विघटन हुँदा व्यवसायीका माग ओझेलमा परेको गुनासो गरे।
लामाले निर्माण व्यवसायीहरूलाई कुनै पनि लोभमा नपरी इमानदारिताका साथ आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरे। साना तथा ठुला सबै निर्माण व्यवसायीले अब काम गर्ने कि नगर्ने भन्ने दोधारमा बस्नुभन्दा पनि व्यावसायिक मर्यादाभित्र रहेर जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए।
मंगलबारदेखि सुरु हुने महासङ्घको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ, जसमा लामा समूहले खरिद ऐनको सुधार र व्यवसायीको हितलाई मुख्य एजेन्डा बनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण