नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
सारांश
- नयाँ सरकार गठन भएको एक साताभित्रै गृह प्रशासनले आठ जना हाई प्रोफाइल व्यक्तिलाई पक्राउ गरेको छ।
- गृहमन्त्री सुदन गुरुङले पदभार सम्हालेको सात दिनभित्र पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र सांसदहरू पक्राउ परेका छन्।
- सरकारको यो कदमलाई सुशासन कायम गर्ने अभियानको रूपमा हेरिएको छ।
काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको एक साताभित्रै गृह प्रशासनले आक्रामक कदम चालेको छ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले कार्यभार सम्हालेको सात दिनभित्रै पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र सांसदसहित आठ जना प्रभावशाली व्यक्तिहरू पक्राउ परेका छन् ।
गत चैत १३ गते गृहमन्त्रीको शपथ लिएका गुरुङले पदभार सम्हालेको २४ घण्टा नबित्दै ठुला राजनीतिक व्यक्तित्वहरूमाथि कारबाही अघि बढाएका हुन् ।
गृहमन्त्रीले शपथ लिएको भोलिपल्टै अर्थात् चैत १४ गते जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए । सोही दिन बलात्कार सम्बन्धी कसुरमा नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पनि पक्राउ परेका छन् ।
पक्राउ पर्ने क्रम यतिमा मात्रै रोकिएन । चैत १५ गते सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ परे । सोही दिन बालश्रम शोषणको आरोपमा नेकपा एमालेकी नेतृ तथा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई पनि प्रहरीले नियन्त्रणमा लियो ।
आन्दोलनमा अनावश्यक बल प्रयोगको आदेश दिएको अभियोगमा चैत १७ गते काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका थिए । यद्यपि, उनलाई प्रहरीले सोही दिन हाजिर जमानीमा रिहा गरेको छ ।
यस्तै, सरकारको निशानामा व्यवसायीहरू पनि परेका छन् । चैत १९ गते सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्ट पक्राउ परे भने चैत २० गते शुक्रबार शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् ।
सुदन गुरुङले गृह मन्त्रालयको कमान्ड सम्हालेपछि एकपछि अर्को गर्दै शक्तिशाली व्यक्तिहरू पक्राउ पर्नुलाई नयाँ सरकारको सुशासन अभियानको रूपमा टिप्पणी गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण