रमाइलोका सयौँ पीडितको हातमा जग्गा विवरण, तर बचत फिर्ता भएन
सारांश
- मोरङको रमाइलो बजारमा सुन पसलको आवरणमा ठगी गर्ने अधिकारी परिवारको जग्गा विवरण फेला परे पनि पीडितहरूले आफ्नो बचत फिर्ता पाउन सकेका छैनन्।
- प्रहरीले पर्याप्त प्रमाण नभएको भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको छ भने गाउँपालिकाको न्यायिक समितिले पनि यस विषयमा ठोस निकास दिन सकेको छैन।
- बैंकभन्दा बढी ब्याजको प्रलोभनमा परी करोडौँ रकम गुमाएका सयौँ पीडितहरू अहिले कानुनी अन्योल र आर्थिक अभावका कारण बिचल्लीमा परेका छन्।
विराटनगर । मोरङको कानेपोखरी–६, रमाइलो बजारमा रहेको शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलबाट ठगिएका २५० भन्दा बढी सर्वसाधारणको हातमा अहिले एउटा महत्त्वपूर्ण दस्तावेज छ– परिवारको नाममा रहेको ९ कित्ता जग्गाको पूर्ण विवरण । तर, सम्पत्तिको स्रोत र विवरण फेला पर्दा पनि आफ्नो रगत–पसिनाको कमाइ कसरी फिर्ता लिने भन्नेमा पीडितहरू अझै अन्योलमा छन् ।
पीडितहरूसँग कानेपोखरी–६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतको रोहबरमा बाटुलादेवी अधिकारीले गरिदिएको लिखित कागज पनि छ, जसमा आफ्नो नामको सम्पत्तिबाट ऋण तिर्ने प्रतिबद्धता जनाइएको छ । तर, न त जग्गा बिक्री गरेर पैसा फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ, न त राज्यका निकायले नै उनीहरूलाई ठोस सहयोग गरेका छन् ।
आफ्नो लाखौं रुपैयाँ डुबेपछि न्यायका लागि भौँतारिएका पीडितहरू मंगलबार इलाका प्रहरी कार्यालय पथरी पुगेका थिए । तर, प्रहरीले ‘पर्याप्त प्रमाण नपुग्ने’ भन्दै ठगीको उजुरी दर्ता गर्न अस्वीकार गरिदियो । पीडित विष्णु गिरीका अनुसार प्रहरीले उजुरी लिन नमानेपछि उनीहरू थप निराश बनेका छन् । यता इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी तुलसीराम अर्याल भने कानुनी प्रमाणको अभाव देखाउँदै पन्छिरहेका छन् ।
प्रहरीले मात्र होइन, कानेपोखरी गाउँपालिकाको न्यायिक समितिले पनि यस विषयमा कुनै स्पष्ट जवाफ दिन सकेको छैन । महिनौँअघि निवेदन दिए पनि न्यायिक समितिले न त समाधानको बाटो देखाएको छ, न त क्षेत्राधिकारको विषयमा पीडितलाई स्पष्ट नै पारेको छ ।
न्यायिक समितिका संयोजकसमेत रहेका पालिकाका उपाध्यक्ष भोला अधिकारीले आफूहरूले छलफल गरे पनि समाधान दिन नसकेको बताए ।
पीडितहरूले फेला पारेको विवरणअनुसार बाटुलादेवी अधिकारीको नाममा बयरवन र इटहरीलगायत ठाउँमा ९ वटा कित्तामा जग्गा छ । वडा कार्यालयको रोहबरमा भएको सहमतिअनुसार ती जग्गाबाट बचत फिर्ता हुनुपर्ने हो । तर, पीडितहरूबिच नै कसरी र कसले यो प्रक्रियाको नेतृत्व गर्ने भन्नेमा एकमत हुन सकेको छैन । यही विवाद र कानुनी अन्योलको फाइदा उठाउँदै फरार सञ्चालक मनोज अधिकारी र उनको परिवार पन्छिने कोसिस गरिरहेका छन् ।
यो ठगीको श्रृङ्खला करिब २० वर्ष अगाडिदेखि सुरु भएको थियो । अधिकारी परिवारले सुन पसलको आवरणमा अवैध रुपमा सर्वसाधारणबाट बचत संकलन गर्दै आएका थिए । बैंकभन्दा बढी ब्याज दिने प्रलोभनमा परेर मजदुर, वृद्धवृद्धा र वैदेशिक रोजगारीमा रहेका परिवारले आफ्नो जीवनभरको कमाइ त्यहाँ बुझाएका थिए ।
यो ठगी प्रकरण कतिसम्म दर्दनाक छ भन्ने उदाहरण ८३ वर्षीय चक्रबहादुर गुरुङ हुन् । आफ्नो ९ लाख रुपैयाँ फिर्ता पाउने आशमा दिनहुँ बन्द सटर कुरेर बस्ने गुरुङले अन्ततः न्याय नपाई प्राण त्यागे । उनीजस्ता धेरै पीडितहरू अहिले डिप्रेशन र आर्थिक अभावको चपेटामा छन् ।
सञ्चालक मनोज अधिकारी आक्कल झुक्कल देखिन्छन् तर, समाधान दिँदैनन् । उनका बुबा होमनाथ अधिकारी अमेरिकामा छन् । पीडितहरूको दाबी छ कि उनीहरूले सर्वसाधारणको करोडौँ रकम अमेरिका पुर्याएका छन् । हाल घरमा रहेकी बाटुलादेवी र बुहारी स्मिता अधिकारीले आलटाल गरिरहेका छन् । राज्यका निकायहरू प्रहरी, अदालत र पालिका एकअर्कालाई देखाएर पन्छिँदा रमाइलो बजारका सयौँ परिवारको बिचल्ली भएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण