एआईको जमानामा मान्छेको काम के हो ?
सारांश
- एआईको विकासले मानिसको काम खोस्ने र जीवन अर्थहीन हुने डर तीनवटा भ्रमपूर्ण चिन्तनमा आधारित छ।
- मानिसले कामलाई केवल संघर्ष वा जीविकोपार्जनको माध्यमका रूपमा मात्र नहेरी आत्म-बोध र सक्रिय संलग्नताको रूपमा लिनुपर्छ।
- एआई प्रविधिले मानिसलाई फुर्सदको विवेकपूर्ण प्रयोग गर्दै थप रचनात्मक र सामाजिक कार्यमा लाग्ने अवसर प्रदान गर्न सक्छ।
एआईको जमानामा आज पनि हातमुख जोर्नकै लागि सङ्घर्ष गरिरहेका मानिसलाई त्यसबाट मुक्त हुनेबाहेक अर्को चिन्ता छैन
के तपाईंलाई मेसिनले सबै कुरा राम्रोसँग गर्न सक्ने भएपछि आफूले के गर्ने होला भन्ने चिन्ता छ ? अचेल एआईले मान्छेको कामलाई विस्थापन गर्ने चर्चा जताततै सुन्न पाइन्छ । लन्डनका मेयर सादिक खानले भर्खरै भनेजस्तै एआईले ‘आम बेरोजगारीको नयाँ युग’ ल्याउने खालका चेतावनीहरू नियमित रूपमा पढ्न र सुन्न पाइन्छ ।
यस्ता चर्चाअनुसार एआईको सम्भावित जोखिमको प्रभाव केवल वित्तीय क्षेत्रमा मात्रै पर्नेवाला छैन । हामीले गर्ने काममा पनि पर्ने निश्चित छ । हामीले गर्ने काममा हाम्रो जीवनको लक्ष्य अन्तर्निहित हुन्छ । जीवनको अर्थ लुकेको हुन्छ ।
सन् २०२४ मा गरिएको एउटा अनुसन्धानअनुसार सर्वेक्षणमा सहभागी ९३ प्रतिशत व्यक्तिहरू एआईको विकास हुँदै जाँदा आउन सक्ने जीवनको अर्थहीनताबारे चिन्तित रहेको पाइएको थियो ।
स्वाभाविक रूपमा उनीहरूका चिन्ता बुझ्न सकिने खालकै हुन् । तर आफू फाल्तु वा उपयोगहीन हुने मनगढन्ते विनाशकारी परिकल्पना बोक्न भने अपरिहार्य छैन । एआईले हाम्रो जीवन नै बेकामे बनाउँछ भन्ने विचार तीनवटा भ्रमपूर्ण चिन्तन (फ्यालेसी) मा आधारित छ ।
हाम्रो बुझाइमा रहेको पहिलो फ्यालेसी ‘विनर–टेक्स–अल’ हो । अर्थात् जसले जित्छ, ऊ नै बादशाह हो भने जस्तै । यो विचारअनुसार मान्छेको गतिविधि अर्थपूर्ण हुनका लागि हामी त्यसमा उत्कृष्ट हुनुपर्छ । सन् २०१६ मा गुगलको ‘डिपमाइन्ड’ सँग प्रसिद्ध ‘गो’ खेलाडी ली से–दोलको चर्चित खेल भएको थियो । खेलमा उनले हारे । हारेलगत्तै उनले चिनियाँ रणनीतिक खेल ‘गो’ खेलेर एआईलाई हराउन नसकिने भन्दै सन्न्यासको घोषणा गरे ।
अर्थपूर्ण हुनका लागि ‘बाँच्नका लागि सङ्घर्ष’ हुनुपर्छ । यसलाई हामी ‘सर्भाइभलिस्ट फ्यालेसी’ भन्न सक्छौँ ।
उनले छोडेको १० वर्षपछि अहिले पनि ‘गो’ ज्यादै लोकप्रिय खेलका रूपमा कायमै छ । हामीले कुनै पनि गतिविधिबाट सन्तुष्टि पाउनका लागि त्यसमा सबैलाई हराउनैपर्छ भन्ने हुँदैन । म कैयौँ पटक म्याराथन दौडमा सामेल भएको छु । तर म जित्छु भन्ने मलाई कहिल्यै लागेन । अझ मेसिनभन्दा छिटो हुने त सोच्ने कुरै भएन ।
मलाई आफूले राम्रो कसरी गर्न सक्छु भन्नेमै चासो थियो । मलाई सामूहिक भावना र रमाइलोमा धेरै रुचि थियो ।
दोस्रो फ्यालेसी हो– अर्थपूर्ण हुनका लागि ‘बाँच्नका लागि सङ्घर्ष’ हुनुपर्छ । यसलाई हामी ‘सर्भाइभलिस्ट फ्यालेसी’ भन्न सक्छौँ । निराशावादीहरूका अनुसार ‘आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’ अर्थात् एजीआईले हाम्रा सबै आवश्यकता पूरा गरेको अवस्थामा हामी त बच्चाजस्तो अवस्थामा हुनेछौँ । अस्तित्वका लागि हामीले केही काम गर्नुपर्दैन ।
तर वास्तविकता ठ्याक्कै त्यस्तो छैन । प्रायःजसो आधुनिक कामहरूलाई सङ्घर्षकै भाषामा व्याख्या गर्न सकिँदैन । यो पक्कै पनि राम्रो कुरा हो । आज पनि हातमुख जोर्नकै लागि सङ्घर्ष गरिरहेका मानिसलाई त्यसबाट मुक्त हुनेबाहेक अर्को चिन्ता छैन । तर उनीहरूका आवश्यकताको सुनिश्चितता गरेको खण्डमा उनीहरू आफ्नो चिन्ताबाट बाहिर निस्किन सक्छन् ।
अमेरिकी मनोवैज्ञानिक अब्राहम मास्लोले भनेजस्तै आवश्यकताको स्तरबाट माथि उठ्छन् । त्यसको अर्थ शारीरिक एवं सुरक्षा आवश्यकता पूरा हुनासाथ हामी आत्मीयता, आत्मसम्मान तथा आफूभित्रको अन्तर्निहित क्षमता र प्रतिभाको बोध एवं आत्मसातीकरण (सेल्फ–एक्चुअलाइजेसन) तर्फ लाग्छौँ ।
तेस्रो हो ‘प्रेजेन्टिस्ट फ्यालेसी’ अर्थात् अहिले हामीले जेलाई काम भन्छौँ त्यही नै अर्थपूर्ण मानवीय क्रियाकलापको सबैभन्दा राम्रो मापदण्ड हो भन्ने बुझाइ । हामीलाई अहिले गर्दै गरेको जस्तै काम गर्न पाइएन भने आफू युभल नोआ हरारीले भने जस्तै ‘उपयोगहीन वर्ग’ अर्थात् ‘युजलेस क्लास’ बनिन्छ भन्ने डर छ ।
अहिलेको हाम्रो समय बिताउने तरिका मात्रै उत्तम हो भन्ने सोच्नबाट हामी जोगिनुपर्छ । केही मानिसहरूले आफ्नो जागिरमा जीवनको अर्थ खोज्दै गर्दा धेरै मानिसहरूले त्यस्तै जागिर छोड्न इच्छुक छन् भन्ने पनि याद राख्नुपर्छ ।
तर हामीले अहिले जेलाई काम भन्दैछौँ, धेरैजसो त्यस्ता कामको इतिहास पनि केही दशकभन्दा पुरानो छैन । सोच्नुस् त अहिले हामी जसरी कतै बसेर ‘इमेल’ गर्नुलाई नै अर्थपूर्ण काम भन्दैछौँ, हाम्रा पुर्खाहरूले यसलाई अर्थपूर्ण काम ठान्थे र ? अब यस्तै इमेल गर्ने वा कम्प्युटर वा मोबाइल चलाउने काम एआईले खाइदिएकोमा भविष्यमा शोक मानिन्छ होला त ?
अहिलेको हाम्रो समय बिताउने तरिका मात्रै उत्तम हो भन्ने सोच्नबाट हामी जोगिनुपर्छ । केही मानिसहरूले आफ्नो जागिरमा जीवनको अर्थ खोज्दै गर्दा धेरै मानिसहरूले त्यस्तै जागिर छोड्न इच्छुक छन् भन्ने पनि याद राख्नुपर्छ । धेरै धनी देशहरूमा के पाइएको छ भने जागिर छोड्ने उमेरमा पुगेका प्रौढ व्यक्तिहरू अन्य उमेर समूहको तुलनामा ज्यादा खुसी हुने गरेको पाइएको छ ।
परिवर्तनले स्वाभाविक रूपमा अन्योल र बेचैनी पैदा गर्छ । हो, आजकै अवस्थाको आर्थिक तथा सामाजिक प्रणालीमा काम नपाउँदा, काम नगर्दा वा भनौँ फाल्तु हुनुपर्दा वित्तीय एवं मनोवैज्ञानिक पीडा धेरै भोग्नुपर्ने हुन्छ ।
तर यहाँनिर हामीले बिर्सनै नहुने कुरा के छ भने विद्यमान प्रणालीहरूलाई सबैले अर्थपूर्ण जीवन बाँच्न सक्ने बनाउने क्षमता पनि एआईसँग छ । आजको तुलनामा उन्नत लोककल्याणका साधनहरू उपलब्ध हुन सम्भव छ । उदाहरणका लागि ‘युनिभर्सल बेसिक इन्कम’ अर्थात् ‘विश्वव्यापी आधारभूत आय’ मार्फत अझै राम्रो जीवन बनाउन आवश्यक छ । भलै त्यति मात्रै पक्कै पनि पर्याप्त हुँदैन ।
अर्थपूर्ण जीवनको आधार तय गर्न सार्वजनिक नीतिका विविध क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । जीवनको अर्थ र उद्देश्य हरेक व्यक्तिका लागि निजी मामला भए तापनि त्यसलाई हासिल गर्ने अवस्था भने संरचनात्मक विषय हो ।
श्रमबाट स्वतन्त्रतालाई हामीले केवल निष्क्रिय उपभोक्ता बन्नबाट स्वतन्त्र भएको अर्थमा मात्रै बुझ्नुहुँदैन । अन्यथा काम नगरी बस्नुपर्ने अवस्थाले हामीलाई मानसिक थकान, अल्छी एवं दिक्दारीमा पुर्याउँछ । जीवनसँगको सक्रिय संलग्नताले अर्थ दिने हो । केही मानिसका लागि त्यस्तो अर्थ जीवनभन्दा पर पनि हुन सक्छ । नीतिले त्यसलाई सघाउनुपर्छ ।
सन् १९३२ मा दार्शनिक बर्ट्रान्ड रसेलले ‘इन द प्रेज अफ आइडलनेस’ शीर्षकको निबन्ध लेखेका थिए । जसमा उनले ‘फुर्सदको विवेकपूर्ण प्रयोग सभ्यता र शिक्षाको परिणाम हो’ भनेका छन् । अब हामीले प्रौढ नागरिकहरूलाई नयाँ सीप सिक्न तथा जीवनभर रुचि कायम राख्ने खालको शिक्षामा पहुँच विस्तार गर्नुपर्छ ।
सक्रिय संलग्नता समुदायबाट पनि आउँछ । त्यस्तो संलग्नतालाई उन्नत सहरी बन्दोबस्तीबाट सघाउन सकिन्छ । शासनको सहभागितामूलक स्वरूपबाट अझ व्यापक बनाउन सकिन्छ । त्यसो गर्दा धेरै मानिसहरू आफ्नो छिमेकको भविष्यमा संलग्न हुन सक्छन् ।
मान्छेबाहेकका अन्य जीवनहरूसँग जोडिएर पनि हामी धेरै हासिल गर्न सक्छौँ । त्यसका लागि प्रकृतिसँगको पहुँच र सामीप्यता थप सशक्त बनाउन सकिन्छ ।
हामी यत्तिकै सन्तुष्ट वा शान्त रहन पक्कै पनि सक्दैनौँ । कमसल तरिकाले डिजाइन गरिएका एआईले हाम्रो निर्भरता बढाउन सक्छन् । साथै हाम्रो आपसी सम्बन्धलाई कमजोर बनाउन सक्छन् । तर त्यससँगै हामी आफ्नो समय कसरी बिताउँछौँ, आफ्नो समाजलाई कसरी व्यवस्थित गर्न सक्छौँ भन्नेबारे पुनर्विचार गर्ने अवसर पनि प्रदान गर्छन् ।
त्यसो हुँदा हामी यसको अधिकतम हिस्सा हाम्रा लागि महत्त्वपूर्ण कुराहरूमा खर्च गर्न सक्छौँ ।
(लेखक क्याम्ब्रिज विश्वविद्यालयको इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड ह्युमानिटीका निर्देशक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण