स्पेनका लागि नेपाली राजदूत नेपालले राजीनामा दिएसँगै फिर्ता बोलाइएका ११ जना नै पदमुक्त
सारांश
- स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले राजीनामा दिएसँगै सरकारले फिर्ता बोलाएका सबै ११ जना राजदूत पदमुक्त भएका छन् ।
- फिर्ता बोलाइएका राजदूतहरूले मन्त्रालयमा हाजिर गर्दै आएकोमा आलोचना भएपछि उनीहरूले राजीनामा दिएका हुन् ।
काठमाडौँ । स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले राजीनामा दिएसँगै सरकारले फिर्ता बोलाएका सबै (११) देशका राजदूत पदमुक्त भएका छन् ।
नेपालले दिएको राजीनामा आज स्वीकृत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । फिर्ता भएका केही राजदूतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सर्वोच्च अदालतले कामकाज गर्न दिन भनी अन्तरिम आदेश दिएको थियो । त्यसपछि सरकारले उनीहरूलाई कामकाजका लागि मन्त्रालयमा तानेको थियो । हाजिर गरेर नै उनीहरू तलब सुविधा लिइरहेका थिए ।
सरकारले फिर्ता बोलाएका राजदूतहरू मन्त्रालयमा हाजिर गर्दै तलब सुविधा लिन थालेका थिए । तर आलोचना हुन थालेपछि विस्तारै उनीहरू सबैले राजीनामा दिएका हुन् । ११ जनामध्ये १० जनाले यसअघि नै विभिन्न समयमा राजीनामा दिइसकेका थिए । बाँकी रहेका एक जनाले आज राजीनामा दिएका हुन् ।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । कात्तिक २० गतेसम्म नेपाल आइपुग्नेगरी सरकारले उनीहरूलाई फिर्ता बोलाएको थियो । त्यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको थियो ।
तर त्यसको भोलिपल्ट अर्थात १७ गते परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएर राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्न फिर्ता बोलाएको थियो । फिर्ता भइसकेका राजदूतको ठाउँमा परराष्ट्र मन्त्रालयकै कर्मचारी कार्यवाहक भएर काम गरिरहेका छन् ।
अमेरिकाको नेपाली कार्यवाहक राजदूतको जिम्मेवारी परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले सम्हालेका छन् भने चीनको कार्यवाहकमा सहसचिव रोशन खनालले काम गरिरहेकी छन् ।
त्यस्तै, जर्मनीको कार्यवाहकमा उपनियोग प्रमुख सागर फुयाल, जापानको कार्यवाहकमा उपनियोग प्रमुख हरिहरकान्त पौडेल, मलेसियाको कार्यवाहकमा उपनियोग प्रमुख मुदिता बज्राचार्य, कतारको कार्यवाहकमा उपनियोग प्रमुख कुमार राई, युकेको कार्यवाहकमा उपनियोग प्रमुख विपिन घिमिरे, साउदीको कार्यवाहकमा उपनियोग प्रमुख सिर्जना अधिकारी, स्पेनको कार्यवाहकमा उपनियोग प्रमुख रहेका अधिकृत पूरक अधिकारी, इजरायलको कार्यवाहकमा उपनियोग प्रमुख अधिकृत कुमारबहादुर श्रेष्ठ, रुसको कार्यवाहकमा सहचारी कसम पोखरेल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
केही दिनअघि अरू ६ जना राजदूतलाई सरकारले फिर्ता बोलाएको छ । उनीहरूलाई परराष्ट्र मन्त्रालयले एक महिनाभित्र नेपाल फर्किन निर्देशनात्मक पत्र पठाइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबाहादुर क्षत्रीले बताए । राजदूत फिर्ता हुने भएपछि त्यस ठाउँमा रहेका परराष्ट्र मन्त्रालयका वरिष्ठ कर्मचारी स्वतः कार्यवाहक हुने गर्छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण